• मंगलबार, ६ कार्तिक, २०८१
  • १०:२५:१६

प्रथम नागरिकको सम्मानमा सङ्ग्रहालय

  • Netizen Nepal
  • बुधबार, २६ असार, २०८१- १०:२१:००/ Wednesday 07-10-24

काठमाडौं । मोरङको बेलबारी नगरपालिकाका प्रथम नागरिकको सम्मानमा नगरपालिकाले नगरको वडा नं. १० स्थित माटीगाउँमा धिमाल जीवित सङ्ग्रहालय र घरबास (होमस्टे) निर्माण गर्ने भएको छ । 

मोरङ र झापाको तराई क्षेत्रमा मात्र बसोबास गर्दै आएका धिमाल जातिलाई पूर्वका बेलबारीसहित पथरीशनिश्चरे र दमक नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका छन् । धिमाल समुदायको रीतिरिवाज, परम्परा, वेशभूषा, खानपान र संस्कृति देख्न सकिने गरी धिमाल जीवित सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । बेलबारी–१० को माटीगाउँ धिमाल समुदायको राजधानी मानिन्छ । ११६ घरधुरी एउटै बस्तीमा रहेको धिमाल गाउँ अन्यत्र कतै पनि नरहेको माटीगाउँ टोल विकास समितिका अध्यक्ष जोगेन्द्र धिमालले बताउनुभयो । 

उहाँका अनुसार माटीगाउँका १० घर घरबासका लागि छनोट भएका छन् । घरबास धिमाल जीवित सङ्ग्रहालय र सामुदायिक भवन निर्माणका लागि बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा २० लाख रुपियाँ विनियोजन गरेको थियो । सो रकमले विस्तृत परियोजना प्रतिवेदन निर्माण र देशका प्रमुख जातीय होमस्टेको स्थलगत अध्ययन भ्रमण भएको जोगेन्द्रले बताउनुभयो । 

कुनै समय झापा र मोरङका भूमिपति धिमालहरू अहिले भूमिहीन बनेका छन् । धिमाल संस्कृति र परम्परालाई एउटै आँगनमा हेर्न मिल्ने गरी धिमाल सङ्ग्रहालय निर्माण गरिने जोगिन्द्र धिमालले बताउनुभयो । बेलबारी–१०, माटीगाउँको राजाज्वाला धिमाल महाराजथानले चर्चेको नौ कट्ठा जग्गामा सङ्ग्रहालय र सामुदायिक भवन निर्माण हुने छ । बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले देशमै पहिलो पटक धिमाल जातिको जीवित सङ्ग्रहालय निर्माण गर्न लागिएको बताउनुभयो । आर्थिक वर्ष २०८१/८२ मा पनि यो कार्यक्रमका लागि बजेट सुनिश्चित गरिएको नगरप्रमुख राईले बताउनुभयो । गोरखापत्र दैनिकबाट