• आइतबार, २३ भदौ, २०८१
  • ०७:१०:५४

कोभिड-१९ः विश्वमा कोरोनाभाइरसका नयाँ 'फ्लर्ट' भेरिअन्टहरूको बिगबिगी

  • Netizen Nepal
  • शुक्रबार, २८ असार, २०८१- ०४:५४:००/ Friday 07-12-24

अहिले विश्वमा कोरोनाभाइरसका नयाँ भेरिअन्टहरूको एउटा समूह सबैभन्दा बढी फैलिएको पाइएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ। कोभिड-१९ महामारी फैलिएपछि उत्पन्न भएका भेरिअन्टमध्ये यी नयाँ हुन्।

एफएलआईआरटी (FLiRT) अर्थात् 'फ्लर्ट' उपनाम दिइएको उक्त समूहका भाइरसबारे थाहा पाउनुपर्ने महत्त्वपूर्ण कुरा यहाँ प्रस्तुत गरिएको छ।

'फ्लर्ट' के हो?

यो नाम औपचारिक होइन। सम्बन्धित भेरिअन्टहरूको आनुवंशिक सङ्केत (जेनेटिक कोड) मा हुने उत्परिवर्तन (म्यूटेशन) का नामका आधारमा उक्त समूहलाई FLiRT (फ्लर्ट) भनिएको हो। कोरोनाभाइरसको मुख्य भेरिअन्ट जेएन.१ (JN.1) बाट उक्त समूहमा पर्ने भेरिअन्टहरू उत्पन्न भएका हुन्। कोभिड गराउने कोरोनाभाइरसको ओमिक्रोन स्ट्रेनमा म्यूटेशन भएपछि जेएन.१ भेरिअन्ट बनेको थियो।

'फ्लर्ट' कोरोनाभाइरसको सतहमा हुने काँडेदार 'स्पाइक प्रोटीन'मा मुख्यतः तीनवटा उत्परिवर्तन भएको र त्यसबाट तिनले मानिसको शरीरमा उत्पन्न हुने रोगप्रतिरोधात्मक तत्त्व 'एन्टिबडी'लाई छल्न सक्ने जोन्स हप्किन्स यूनिभर्सिटीले जनाएको छ।

यूकेको स्वास्थ्य सुरक्षा निकायले नयाँ भेरिअन्टहरू कति गम्भीर र सङ्क्रामक छन् भनेर जान्न "थप तथ्याङ्क" आवश्यक भएको जनाएको छ। तर यूकेमा फैलिएका अरू भेरिअन्ट र फ्लर्ट भेरिअन्टका कारण हुने कोभिडको गम्भीरतामा फरक भएको प्रमाण अहिले उपलब्ध नभएको उसले जनाएको छ। बीबीसी