विपद्मा व्यवसाय निरन्तरताप्रति सरोकारवालाको चासो
- Netizen Nepal
- शनिबार, २९ असार, २०८१- ०८:३६:००/ Saturday 07-13-24
काठमाडौं । बहुविपद्को जोखिममा रहेको नेपालमा हरेक वर्ष विपदबाट हुने क्षतिको बारेमा चर्चा हुने गर्छ । यतिखेर मनसुनजन्य विपद्को बारेमा सारा देशको ध्यान तानिएको छ । मनसुन भित्रिएको एक महिनाको अवधिमा बाढि पहिरोका कारण एक सय ३ जनको ज्यान गएको छ भने व्यक्तिका घर र विकास संरचनामा ठूलो नोक्सानी भएको छ । त्यसैले अहिले बाढिपहिरोजन्य बहस बाक्लिनु स्वभाविक पनि हो । यस किसिमका सम्भाव्य जोखिमको मात्रालाई न्यूनीकरण गरी सुरक्षित समाज र धनजनको क्षति न्यूनीकरणका उपायहरुको बारेमा पनि बहस र छलफल भए पनि हरेक वर्ष यसबाट हुने क्षति पनि बढिरहेको छ ।
यस किसिमका विपद्ले निम्त्याउने जोखिमलाई न्यूनीकरण गरी हरेक क्षेत्रका कार्यहरुलाई सुचारु ढङ्गले संचालन गर्ने अवस्थाको सुनिश्चितता गर्न हरेक क्षेत्रहरुबाट पहल हुनुपर्ने आवाजहरु आइरहेका छन् । यसै सन्दर्भमा गत विहिवार व्यवसाय निरन्तरताका लागि अपेक्षित कार्य ( Anticipatory Action for Business Continuity) सम्बन्धीको छलफल ललितपुरको यलमाया केन्द्रमा सम्पन्न भएको छ । ब्याम्बो (बाँस) श्रृंखला नाम दिएर संचालन गरिएको यो छलफलमा गैरसरकारी क्षेत्र, नीजि क्षेत्र, सरकारी क्षेत्र, संचार क्षेत्र, विपद् विज्ञ, अनुसन्धानकर्ता लगायत क्षेत्रका सहभागीहरुले आ–आफ्नो धारणा राखेका थिए । बहुक्षेत्रमा व्यक्तिहरुको सहभागितामा गरिएको यो छलफलले निकै महत्वपूर्ण सवालहरु उजागर गरेको थियो ।
सहभागिहरुले व्यवसाय निरन्तरताका लागि अपेक्षित कार्य नेपालको लागि नयाँ विषय भए पनि निकै आवश्यक रहेको र यसलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि बहुक्षेत्रको साझेदारी आवश्यक रहेको कुरामा जोड दिए ।
यो छलफल श्रृंखलाका पहलकर्ता तथा एनडिआरसीका कार्यकारी निर्देशक श्यामसुन्दर ज्ञवालीले Anticipatory Action for Business Continuity छलफलको उदेश्य र व्यवसाय निरन्तरताका लागि अपेक्षित कार्यको महत्वको बारेमा संक्षिप्त प्रस्तुती राखेपछि उक्त विषयवस्तुको बारेमा व्यापक छलफल गरिएको थियो ।
उद्योग मन्त्रालयका उप–सचिव लिलाधर अधिकारीले विपद्को समयमा व्यसायको निरन्तर ( Anticipatory Action for Business Continuity) संचालनका लागि नीतिगत र संरचनागत स्पष्टता जरुरी रहेको र यसका लागि मन्त्रालय सबैसंग हातेमालो गर्न तयार रहेको बताउनुभयो । उहाँले यो छलफलको सान्दार्भिकता झन् बढेर गएकाले यसलाई निरन्तरता दिन पनि आग्रह गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीले व्यवसाय निरन्तरताका लागि अपेक्षित कार्यको आवश्यकता र महत्वलाई बुझाउँन यस किसिमका छलफललाई अझ ब्यापक बनाउँन आवश्यक रहेको धारणा राख्नुभयो ।
छलफलमा डिपिनेट नेपालका अध्यक्ष डा. राजु थापाले यो विषय निकै महत्वपूर्ण रहेको तर कुनै एक क्षेत्रको प्रयासले मात्र गर्न नसक्ने भएकाले सरोकारवाला सबैबीच हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो ।
नेटिजन मिडियाका प्रबन्ध निर्देशक तथा संचारकर्मी ओमप्रकाश घिमिरेले विपद्लाई आम नागरिकले महत्व दिने विषयका रुपमा स्थापित गर्न विगतमा मिडियाले धेरै ठूलो भूमिका खेलेको तर पछिलल्लो समयमा विपद् बहसमा मिडिया संलग्नता घटेकाके प्रसंग जोड्दै विपद्को क्षेत्रमा काम गर्ने संस्था तथा निकायलाई नागरिक संलग्नतालाई प्रभावकारी बनाउन मिडियासंगको साझेदारीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा डिपिनेटका अध्यक्ष डा. राजु थापा, अक्सफाम नेपालका राष्ट्रिय निर्देशक तृप्ति राई, डिसिएका दिनेश गुरुंग, चौधरी फाउण्डेसनका मेरिना रन्जित, महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवाली, नेपाल उद्योग वाणिज्य महासंघका भक्त हमाल लगायतले पनि आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा आफ्नो धारणा राखेका अधिकांश व्यक्तिले विपद् र निजि क्षेत्रको प्रसंगलाई विशेष जोड दिएका थिए । उनिहरुले विपदका बेला नीजि क्षेत्र अघि बढेर काम गर्ने तर त्यसको योगदानको आधिकारीक पहिचान र कदर हुन नसकेकाले नीजि क्षेत्रलाई उत्साहित बनाउँन नसकिएको धारणा राखेको थिए । उनिहरुले विपद्को समयमा निजि क्षेत्रले भागेको क्ष्ाित र अप्ठ्यारोप्रति राज्यले ध्यान नदिएको भन्दै गुनासो राखेका थिए ।
विज्ञ तथा सारोकारवालाहरुले Anticipatory Action for Business Continuity का लागि आवश्यक पर्ने भरपर्दो र आधिकारिक सूचना प्राप्तिको सुनिश्चितता पहिलो शर्त भएको तर यसका लागि सरकारी निकायवीच नै समन्वयको कमी रहेको धारणा राखेका थिए ।
छलफलमा सहभागि अधिकांश व्यक्तिले व्यवसाय निरन्तरताका लागि अपेक्षित कार्य अत्यन्त आवश्यक भएको र यसको सहयोगबाट विपदजन्य जोखिम न्यूनीकरण गर्न सकिने बताएका थिए । उनिहरुले यसलाई प्रभावकारी बनाउन आधारभूत तयारीमा ढिलाई भएको प्रति सरकारी निकायसंग गुनासो गरेका थिए । उनीहरुले व्यवसाय निरन्तरताका लागि अपेक्षित कार्यको संरचना र प्रणाली विकास गर्न चाहिने आधारभूत सूचनाहरु लिने एकद्धार प्रणाली निर्माण सम्बन्धमा बहस र छलफल हुनु पर्नेमा जोड दिएका थिए । सहभागिहरुले यो विषयलाई सोलोडोलोमा भन्दा पनि क्षेत्रगत रुपमा विशिष्ट ढंगले छलफल गरी नीतिगत र कार्यक्रमगत तयारी गर्नु पर्ने बताएका थिए ।
कार्यक्रमको सजिकरण सुमन शाक्यले गर्नुभएको थियो । छलफल कार्यक्रमको समापन गर्दै डा. मोना श्रेष्ठले छलफलमा उठान भएका सवाल तथा सुझावलाई अभिलेख गरिने र आगामी दिनको छलफलका लागि साझा ज्ञानको रुपमा प्रयोग गरिने बताउनुभयो ।
Anticipatory Action for Business Continuity: An Urgent Initiative for Nepal नामक उक्त छलफल नेट कन्सोर्टियमले आयोजना गरेको थियो, जसमा National Disaster Risk Reduction Centre (NDRC), Enterprise for Management, Economic Reform and Gender Equality (EMERGE), and Tangent Wave तीनवटा सस्था आवद्ध छन् ।