• शुक्रबार, २ कार्तिक, २०८१
  • १०:४६:१४

नौमती जोगाउँदै सुङनामका मगर

काठमाडौं । तेह्रथुमको लालीगुराँस नगरपालिका–७, सुङनामका मगर समुदायले पन्चैबाजा बजाउने कला सिक्दै छन् । जातीय संस्कार र कर्मकाण्डमा पन्चैबाजा बजाउनेको अभाव हुँदै गएपछि मगर समुदाय आफैँले सो कला सिकेका हुन् । 

स्थानीय वीरबहादुर मगरका अनुसार नौमती बाजा बजाउने कला लोप हुँदै गएका कारण विवाह, व्रतबन्धलगायतका कार्य गर्दा बाजाको धुन सुनिन छाडिएको छ । बाजा नहुँदा संस्कार, संस्कृति र पर्व त्यति रमाइलो पनि नहुने अवस्था छ । त्यसैले नौमती बाजासम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

उहाँका अनुसार अहिले १०-१२ जनाले बाजा बजाउन सिकिरहेका छन् । नौमतीमा २ दमाहा, २ ट्याम्को, २ सनाई, १ झ्याली र २ नरसिङ्गा पर्दछन् । यसैलाई मिलाएर १०-११ जनाको समूहले बजाउने बाजा अहिले फाट्टफुट्ट मात्रामा देखिन्छ । बाजा बजाउने बुढापाकाको अनुभवमा पहिला विवाह बास बस्ने गरी हुने र बाजासमेत बजाउने काम हुने गथ्र्यो । अहिले एकै दिन मात्र विवाह हुने चलन आएको छ । 

पहिला जस्तो गरी रमाइलो गर्ने र बाजा बजाउने चलन अन्त्य हुन पुगेको छ । गाउँकैले सिप सिकेपछि विवाहलगायतका शुभकार्यमा टाढा टाढाबाट बाजा बजाउने ल्याउनुपर्ने बाध्यताको अन्त्य हुने स्थानीय रणबहादुर मगर बताउनुहुन्छ । फेदाप गाउँपालिका–२, ओयाक्जुङका देउमान नेपालीले बाजा बजाउनेलाई जातीयताको आधारमा गरिने व्यवहार र बाजा बजाएर मात्रै जीविकोपार्जन गर्न समस्या हुन थालेको साथै नयाँ पुस्ताले बाजा बजाउने काम गर्न नखोजेपछि लोप हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “युवा विदेश पलायन भए, बुढापाका सकिँदै गए ।

कसले धान्ने त परम्परा ?”नौमती र पन्चै बाजाको तालमा छम छम नाचिने बाजा अहिलेका विभिन्न गीत-सङ्गीतले विस्थापित गरिरहेको देउमानको भनाइ छ । उहाँले बाजा बजाउन जान्नेहरू फाट्टफुट्ट पाइए पनि बाजा बनाउन जान्ने त शून्य जस्तै भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । गोरखापत्रबाट।