• बुधबार, १७ बैशाख, २०८२
  • ०३:१२:०७

बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

काठमाडौँ  चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुई वटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक आज त्रिशूलीले बगाएको छ ।

नेपाल–भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास कार्य जारी रहँदा पनि बस र हराइरहेका यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि आज भारतबाट मगाइएको दुईवटा चुम्बकको सहयोगमा खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएर बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी, प्रहरी उपरीक्षक जनक पुरीले एउटा १९ किलोको चुम्बक हराएकाले अहिले बस र चुम्बक दुवैको खोजी जारी रहेको जानकारी दिनुभयो ।

उहाँले अलि तल चुम्बकको सङ्केत मिलेको तर भेटिनसकेको जानकारी दिनुभयो । त्यहाँ १४ र १९ किलोको दुईवटा चुम्बक बसको खोजीका लागि प्रयोग गरिएको थियो ।

गत आइतबारदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल ९नेसनल डिजास्टर रेस्पोन्स फोर्स० बाट आएका १२ जनाको प्राविधिक टोलीले संयुक्त रुपमा बस र यात्रुको खोजी गरिरहेको छ ।

गएको असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नंको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

उक्त बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । २४ यात्रुको विभिन्न क्षेत्रबाट शव निकालिएको छ । अझै दुई बससँगै ३८ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन ।