नेपाल टेलिभिजन र नेपाल टेलिकमबीच सहकार्य गर्ने सम्झौता
- नेटिजन संवाददाता
- बुधबार, ३० श्रावण, २०८१- ०९:४३:००/ Wednesday 08-14-24
काठमाडौँ । नेपाल टेलिभिजन र नेपाल टेलिकमबीच व्यापारिक सहकार्य गर्ने सम्झौता भएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित समारोहमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
हस्ताक्षरपछि टेलिकमका प्रबन्ध निर्देशक अर्यालले नेपाल टेलिभिजन र नेपाल टेलिकमबीच विगतदेखि निरन्तर सहकार्य हुँदै आएको र यो सहकार्यले दुवै संस्थाको व्यापार प्रवर्द्धनमा परिपुरक बन्ने बताउनुभयो ।
दुई सरकारी संस्थाबीचको सहकार्य भौतिक पूर्वाधारको उपयोगदेखि जनस्तरमा सूचना प्रवाह गर्न महत्वपूर्ण रहेको बताउँदै उहाँले आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले दुवै सरकारी संस्थाबीचको सहकार्यले दुबै संस्थाको विकास र विस्तारमा सहयोग पुगेको वताउनुभयो । कार्यकारी अध्यक्ष शाहले नेपाल टेलिकमसँग आवश्यक सहयोग र सहकार्यको लागि नेपाल टेलिभिजन सँधै प्रतिवद्द रहेको बताउनुभयो ।
हस्ताक्षर समारोहमा नेपाल टेलिभिजनका महाप्रबन्धक पूलमान बल तामाङ, व्यापार महाशाखा प्रमुख राजकुमार थापा र अशोक घिमिरे साथै नेपाल टेलिकमको व्यापार महाशाखाका पदाधिकारीको उपस्थिति थियो ।
नेपाल टेलिकम र नेपाल टेलिभिजनवीच एकबर्षको लागि व्यापार सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।