• मंगलबार, १ असोज, २०८१
  • १२:४६:४९

जेठ २८ पछिको विपद्मा २ सय १० जनाको मृत्यु

काठमाडौँ  । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आज दिउँसोसम्म २ सय १० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २९ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३८ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २ सय १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढी पहिराका कारण काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ४२ जना, मधेस प्रदेशमा १२ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ६८ जना र सुदूरपश्चिम प्रदेशमा ३६ जना गरी जम्मा २ सय ७२ जना घाइते भएका छन् ।

बाढीपहिरोमा परेका काठमाडौँ उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा एक सय एक जना गरी जम्मा २ सय १५ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेस प्रदेशमा एक जना, बागमती प्रदेशमा ४३ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ५२ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।”

बाढीको कारण आज दिउँसोसम्म जम्मा ४ सय ८ घर डुबानमा परेका छन् । ३ सय ६५ वटा घर, एक सय २६ वटा गोठ, ५३ वटा पुल, ७ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जाएको छ । बाढीपहिरोबाट ९ सय ७२ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ६ हजार ४९ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।