• मंगलबार, १ असोज, २०८१
  • १२:४६:४२

तीज मनाउने चलनको पौराणिक कथन

काठमाडौं। तीज हिन्दू नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान् शिवको पूजा आराधना गरिनुका साथै नाचगान मनोरञ्जन गर्ने गरिन्छ । यस वर्षको तीज भदौ २१ गते परेको छ ।

नेपाली हिन्दू महिलाद्वारा स्वतन्त्र र आनन्दमयरुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि उत्तिकै हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरुपले नेपालभर मनाइन्छ भने भारतका कुनैकुनै प्रान्तमा पनि मनाइन्छ ।

भनिन्छ, आरद्ध्ये शक्ति भगवान शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिले व्रतराखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरुले यो पर्व मनाउदै आएका छन् ।

यो चाडमा माइतीको बाबु आमा, दाजुभाइले छोरी÷चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठामीठा परिकार बनाएर खुवाउने तथा मनका भावना एवम् सुख दुःख साटासाट गरी एउटै ठाउँमा खानेबस्ने चलन छ । यस दिन विशेष महत्वका साथ दरखाने गरिन्छ । यही दरखाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँअनुसार विभिन्न मीठामीठा परिकार साथै खीर, ढकने, सेलरोटी, मौसम अनुसारको फलफूल लगायतका खाना, खाने गरिन्छ ।

आधुनिकता सँगसँगै पछिल्लो समय भने यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । माछा मासु, मिठाइलगायतका परिकारको प्रयोग बढ्दो छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई व्रतबस्नुपर्ने भएकाले दर खाने दिन राति अबेरसम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो ।

खासगरी यसमा स्त्रीहरुले पतिका निम्ति निराहार रहेर भगवान् शिव तथा आद्य शक्ति पार्वतीसँग प्राथना गर्दछन् । यो दिन महिला बिहान चाँडै उठी नुहाइधुवाइ गरेर दिनभरि जल, अन्न ग्रहण नगरी व्रतबस्ने गर्दछन् । बेलुकीपख गाउँघर र छिमेकका महिला भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान् शिवको आराधना गर्ने प्रचलन रहेको छ ।

निर्जला व्रतभनिए पनि आजभोलि महिला मध्याह्नमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने गर्दछन् । कतिपय महिला नजिक रहेको शिव मन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन् ।

आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिला विवाहपश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रुपमा तीज पर्वको गहन महत्व रहेको छ ।

तीजमा महिलालाई मीठामीठा भोजनका परिकारहरु खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलालाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिला आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रतबसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता नारी सुयोग्य वरको आशा राखी व्रत बस्छन् ।

व्रतको समयमा महिलाले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रतअन्य व्रतभन्दा फरक ढङ्गले लिइन्छ ।

तीजको पौराणिक चर्चा

हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बसिन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् ।

साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्री मत रहेको  छ ।

हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गर्छ । तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि तीजसम्बन्धी गीत प्रसारणलाई प्राथमिकता दिने गरेका छन् । तीजसँगै समग्र माहोल नै पर्वमय बन्न पुगेको छ ।