• मंगलबार, १ असोज, २०८१
  • १२:३५:१८

कलाको अभिलेखिकरण सम्बन्धीको सेमिनार सम्पन्न

कलाको संरक्षणका लागि अभिलेखीकरणमा जोड दिन आग्रह 

ललितपुर । संस्कृति र सम्पदाको क्षेत्रमा कार्यरत सम्पदा संस्था र अक्षेश्वर बौद्ध कला महाविद्यालयको संयुक्त आयोजनामा एक दिने कलाको संरक्षण तथा अभिलेखीकरण सम्बन्धीको  कार्यशाला गोष्ठी ललितपुरको  अक्षेश्वर बौद्ध कला महाविद्यालयमा सम्पन्न भएको छ। व्यक्तिका घर, समुदाय तथा विभिन्न स्थानमा रहेका विद्यमान कलाको अभिलेखीकरण गर्नुपर्ने आवश्यकताको बारेमा केन्द्रित उक्त कार्यक्रममा कलाको संरक्षण र अभिलेखीकरणको विधि बारे जानकारी गराइएको थियो । कला तथा सम्पदाको संरक्षणको महत्व उजागर गराउने उद्देश्यले आयोजित कार्यक्रममा  विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो भने  शोभानानी शाक्य, उर्सुला मानन्धर, रजनी सिंखवाल,  सरोज महर्जन र ओम प्रकाश घिमिरेले विभिन्न विषयवस्तुमा आफ्नो प्रस्तुति दिनुभएको थियो।

कलाको संरक्षणका लागि अभिलेखिकरणको महत्वको बारेमा रजनी सिंखवाल र सरोज महर्जनले प्रस्तुति दिनुभएको थियो । सम्पदाका अध्यक्ष शोभा नानी शाक्यले राष्ट्रिय अभिलेखालय र यहाँ हुने अभिलेख तथा संरक्षणको अभ्यासका बारेमा प्रस्तुति राख्नुभएको थियो ।  निरन्जन शाक्यले थ्यास फुको संरक्षणको बारेमा आफ्नो अनुभव राख्नुभएको थियो । त्यसैगरी  उर्सुला मानन्धरले अभिलेखिकरणको विधि र अभ्यासको बारेमा आफ्नो प्रस्तुति राख्नुभएको थियो भने ओम प्रकाश घिमिरेले कलाको अभिलेखीकरणको सार्वजनिक महत्व र यसको नीतिको बारेमा प्रस्तुति राख्नुभएको थियो। सबिना तामाङले चित्तधर संग्रहालयको संरक्षणका लागि गरेका अभ्यासमा आधारित अनुभव र सिकाइमा आधारित अनुभव प्रस्तुत गर्नुभएको थियो ।

सबै प्रस्तुतिको समिक्षा गर्दै पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका लेक्चरर डा. सुरेश सुरस  श्रेष्ठले नेपालमा कलाको अभिलेखीकरणमा समुदायको अहम भूमिका रहेको बताउँदै समुदायको सक्रियताबाट मात्र व्यवस्थित अभिलेखीकरण सम्भव हुने बताउनुभयो । उहाँले समुदायको सक्रियताले सरकारलाई काम गर्न सहयोग पुग्ने र दबाब पनि पर्ने भएकाले कला र सम्पदाको अभिलेखिकरणमा समुदायको सक्रियता लाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले यस किसिमका कार्यक्रमले कलाको संरक्षण र अभिलेखिकरणमा ठूलो सहयोग पुग्ने भएकाले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । 

कार्यक्रमको उदेश्य तथा सहभागिहरुलाई स्वागत मन्तब्य दिदै बौद्ध दर्शनविद् तथा सम्पदाका उपाध्यक्ष उर्मिला ताम्रकारले नेपाली भूमिमा हरेक पाइलामा महत्वपूर्ण सम्पदा रहेकोले यसको संरक्षणका लागि अभिलेखिकरण आवश्यक रहेको बताउनुभयो । त्यसैगरी संस्थाका अध्यक्ष शोभा नानी शाक्यले यो कार्यक्रमले थप काम गर्नको लागि ऊर्जा मिलेको बताउँदै सम्पदाले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा बौद्धविहार सङ्घ ललितपुरका अध्यक्ष नानीकाजी शाक्य र  लामा भिक्षु गुणसागर लगायतको उपस्थिति थियो।

कार्यक्रमको समापन गर्दै अक्षेश्वर बौद्ध कला महाविद्यालयका संस्थापक अध्यक्ष तथा सञ्चालक सदस्य राजेश शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले सम्पदासँगको साझेदारीमा यो कार्यक्रम गर्न पाएकोमा खुसी लागेको बताउदै  कार्यक्रमले भौतिक तथा अभौतिक सम्पदाहरू, बिहार, मठमन्दिर, गुम्बा तथा यिनीहरूमा रहेका कला र सम्पदाको अभिलेखीकरणका लागि जागरण ल्याउन मद्दत गरेकोले आगामी दिनमा पनि यस किसिमका कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो । 
कार्यक्रममा ४५ जनाको सहभागिता थियो । सहभागिहरुले कार्यक्रमका प्रस्तुति तथा समिक्षाको बारेमा चासो राख्दै विभिन्न जिज्ञासा तथा सुझावहरु  राख्नुभएको थियो ।