नेपालको समावेशी ग्रामीण विकासका लागि दक्षिण कोरियाको रु.१ अर्ब बढी सहयोग
- नेटिजन संवाददाता
- बुधबार, २६ भदौ, २०८१- ०७:२५:००/ Wednesday 09-11-24
काठमाडौँ । पछिल्लो समयमा नेपालको विकासका लागि आफ्नो सहयोग बढाइरहेको कोरियाले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत् बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
कोइका र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच मङ्गलबार समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) का निम्ति उक्त रकम प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कोरिया सरकारका तर्फबाट कोइकाका राष्ट्रिय निर्देशक मोह्युन कोङ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट सहसचिव कालीप्रसाद पराजुलीले उक्त समझदारीमा हस्ताक्षर गरेका गर्नुभयो ।
बर्दियाका आठ वटा पालिकामा संचान हुने उक्त परियोजनाको मुख्य उद्देश्य जिल्लाका समुदायको कृषि उत्पादनको लागि क्षमता अभिवृद्धि, बजार सम्बन्ध स्थापना गरी मूल्य अभिवृद्धिको एकीकरण मार्फत मूल्य शृङ्खलाको स्तरोन्नति गर्दै पर्यावरणीय पर्यटनलाई बढावा दिई दिगो, लचिलो जीविकोपार्जन र स्थानीय अर्थतन्त्रको प्रवद्र्धन गर्ने रहेको बताइएको छ ।
कोइकाको समावेशी ग्रामीण विकास परियोजना सन् २०१६-२०२२ सम्म नवलपरासीमा कार्यान्वयन भएको थियो । यो मोडल निकै सफल मानिएको छ । उक्त मोडेलमा आधारित कार्यक्रम नेपालका अन्य भागमा पनि आवश्यकता महसुस भएकाले दोस्रो चरणको कृषि र ग्रामीण विकास परियोजना बर्दियामा कार्यान्वयनमा ल्याइएको बताइएको छ ।
कोरिया सरकारले सन् १९९१ देखि कोइकामार्फत नेपाल सरकारलाई स्वास्थ्य, कृषि, शिक्षा (प्राविधिक), व्यावसायिक तालिम, ग्रामीण विकास र सूचना प्रविधिका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको अवसर पारेर कोरियन सरकारले नेपाललाई आफ्नो सहयोग बढाउने तथा दुई देशवीच सम्बन्ध बढाउने विभिन्न कार्यक्रमलाई सन् २०२४ मा तिब्र पारेको छ । कुनै राजनीतिक स्वार्थविनाका यी सहयोगले कोरिया र नेपालवीचको सम्बन्धलाई जनस्तरमा जोड्ने निकै सहयोग पुगेको देखिन्छ ।