• शनिबार, १२ असोज, २०८१
  • ०७:०६:३९

मानव बेचबिखन प्रभावितहरुको राष्ट्रिय महासङ्घ स्थापना 

काठमाडौँ । मानव बेचविखन रोकथाम, नियन्त्रण, बेचबिखन प्रभावितहरुको संरक्षण र उनीहरुलाई कानुनी सहायता प्रदान गर्नाका लागि शान्ति फाउण्डेशन्ले मानव बेचबिखन प्रभावितहरुको राष्ट्रिय महासङ्घ स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालय,काठमाडौँमा दर्ता भएको यस महासङ्घको सचिवालय शान्ति फाउण्डेशनमा छ ।

 उक्त कुरा आइतबार काठमाडौँमा आयोजित शान्ति फाउण्डेशन्को आठौँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रममा सो फाउण्डेशनकी संस्थापक अध्यक्ष सञ्जमाया तामाङले बताउनु भएको हो । उक्त महासङ्घमा ७ वटै प्रदेशको प्रतिनिधित्व छ । 

सामाजिक लेखापरीक्षण कार्यक्रममा उक्त संस्थाले आर्थिक वर्ष २०८०-०८१ आयव्ययको विवरण प्रस्तुत गर्दै बागमती प्रदेशमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नीति तयार पार्न तथा प्रदेश सरकारबाट अनुमोदन गराउन प्रमुख भूमिका खेलेकोलगायतका प्रमुख उपलब्धिहरु प्रस्तुत गरेको थियो । स्थानीय सरकारसँगको साझेदारीअन्र्तगत सो फाउण्डेशन्ले काठमाडौँ महानगरपालिकाबाट प्राप्त दश लाख रुपैयाँले सो महानगरपालिकाका २२ वटा वडाका वडा स्तरीय मानव बेचबिखन नियन्त्रण समितिका प्रतिनिधिहरुलाई मानव बेचबिखनविरुद्ध तालिम दिएको थियो । 

सो फाउण्डेशन्ले स्कूल र कलेजका विद्यार्थी, काठमाडौँ महानगरपालिका महिला सञ्जाल र समूहहरुका लागि मानव बेचबिखन रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा एचआईभी संक्रमित र प्रभावित बालबालिका, महिला, तथा मनोरञ्जन क्षेत्रमा कार्यरत महिला कामदारहरूप्रति हुने लाञ्छना र भेदभाव न्यूनीकरणसम्बन्धी अन्तरक्रिया गरेको छ ।

फाउण्डेसन्ले उक्त आ.व.मा सामाजिक सूचना व्यवस्थापन प्रणालीसम्बन्धी समस्या निवारण बैठकहरु र ९ वटा स्थानीय सरकारका नवनिर्वाचित प्रतिनिधिहरुलाई मावन बेचबिखन रोकथामसम्बन्धी पुर्नअभिमुखीकरण र ८३ वटा वडा स्तरीय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिहरुको पुर्नगठन गर्न सहयोग गरेको छ  । 

उक्त आ.व.मा सो फाउण्डेशन्ले १९३ मानव बेचविखन प्रभावित र जोखिममा रहेकाहरूलाई तालिम र रोजगारी प्रदान गर्यो, ५ जना मानव बेचविखन प्रभावितहरुलाई प्यारालिगल तालिम, ४५ जना मानव बेचबिखन प्रभावित र एचआईभी संक्रमित र प्रभावित बालबालिलाई शिक्षामा सहयोग, १५० जना एचआईभी संक्रमितलाई आपत्कालीन उपचार, ५० जना मानव बेचबिखन पीडितहरूको उद्धार र स्वदेश फिर्ती, ६५ जनालाई सीप विकास तालिम र ५० जनालाई आयआर्जनका लागि सहयोग गरेको छ ।

मानव बेचविखन रोकथाम, नियन्त्रण र बेचबिखन प्रभावितहरुको संरक्षणमा मकवानपुर जिल्लामा उल्लेखनीय योगदान गरेकाले शान्ति फाउण्डेशन्लाई जिल्लाको उत्कृष्ट संस्थाको रुपमा बाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रमाणपत्र प्रदान गरेको छ । कार्यक्रममा स्थानीय सरकार, समाजिक सङ्घ–संस्थाका प्रतिनिधिहरुलगायत विभिन्न ७५ जना सरोकारवालाहरुको सहभागिता थियो ।