• बिहीबार, ११ पौष, २०८१
  • ०७:१५:५५

मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय

काठमाडौं । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ २४ नम्बर सीमास्तम्भ० रहेको कोरला नाकामा बुधवार देखि नेपालको अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे ।  कार्यालय सञ्चालनले अब भने यस नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने छ । 


कोरोला नाकामा नेपालले प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरेको छ  ।  अध्यागमन कार्यालय सञ्चालनको लागि सरकारले कोरला नाकासम्म विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको विस्तार गर्नुका साथै नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइलको सेवा पुर्‍याइसकेको छ ।

यस नाकामा चीनले आफ्नोतर्फ भन्सार कार्यालयका साथै अन्य आवश्यक पूर्वाधार निर्माण गरिसकेको छ ।  गृहमन्त्री रमेश लेखकले बुधवार कार्यालयको शुभारम्भ गर्दै अध्यागमन कार्यालय सञ्चालनसँगै चीनसँगको द्विपक्षीय सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले दुई देशका नागरिक आवतजावतसँगै द्विपक्षीय व्यापार अभिवृद्धिका लागि अध्यागमन कार्यालय महत्वपूर्ण हुने  बताउँनुभयो ।   

समुद्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा रहेको यो नाकाको गत वर्ष कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।  

गण्डकी प्रदेशको उत्तरी भूभागमा अवस्थित कोरला नाका सञ्चालनमा आएसँगै प्रदेशकै दक्षिणी नाका भारतसँग जोडिने त्रिवेणी रहेका कारण व्यापार प्रवद्र्धन, पर्यटन विस्तार आदिका लागि यो बहु उपयोगी बन्ने विश्वास लिइएको छ । दुई ठूला छिमेकी राष्ट्रसँग जोडिएको गण्डकी प्रदेशको समृद्धिमा यो नाका सञ्चालन कोषे ढुङ्गा हुने बताइएको छ ।