• बुधबार, २१ कार्तिक, २०८१
  • ०९:१५:३९

कमलालाई हराउँदै अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित

काठमाडौं ।  अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प निर्वाचित  हुनुभएको छ ।  विजयी हुन २७० इलेक्ट्रोरल मत आवश्यक पर्नेमा केही स्थानको मतगणना बाँकी रहँदा नै ट्रम्पले २७० इलेक्ट्रोरल प्राप्त गरिसक्नु भएको छ । कूल इलोक्ट्रोल कलेज पाँच सय ३८ मध्ये निर्वाचित हुनका लागि दुई सय ७० मत आवश्यक पर्छ ।


रिपब्लिकन पार्टीका उम्मेद्वार ट्रम्पले डेमोक्रयाट पार्टीका उम्मेद्वार कमला ह्यारिसलाई हराउँदै विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । ट्रम्प विजयी भएको  समाचार संस्थाहरुले जनाएका छन् । 

राष्ट्रपतिको निर्वाचनसँगै अमेरिकी संसदको दुवै सदन, सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभका लागि पनि निर्वाचन भएको छ । जसमा ट्रम्पको पार्टी रिपब्लिकनले सिनेट अर्थात् माथिल्लो सदनमा जित हासिल गरेको छ ।

७८ वर्षीय ट्रम्पले ऐतिहासिक कमब्याक गर्नुभएको छ । उहाँ सन् १८९३ मा ग्रोभर क्लिभल्यान्डपछि अमेरिकी राष्ट्रपतिका लागि दोस्रो पटक गैर–लगातार कार्यकाल पाउने दोस्रो व्यक्ति बन्नुभएको छ ।

कूल २३ करोड १० लाख मतदानका लागि योग्य भएको भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि नाम दर्ता गरेका थिए । यस अघि ट्रम्प सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति हुनुहुन्थ्यो ।

ट्रम्प निर्वाचित भएसंगै खासगरी  अमेरिकामा बसेका आप्रवासीहरुमा नयाँ तरंग आएको बताइएको छ । ट्रम्पले आफ्नो पुरानो नीतिलाई कार्यान्वयन गर्ने अनुमान र आशंका धेरैले गरेका छन् । अमेरिकामा  कानूनी अनुमतिविना बसेकाहरुलाई देश निकाला गर्ने कुराले कतिपयलाई चिन्तित बनाएको छ । 

पीउ रिसर्च सेन्टरका अनुसार सन् २०२२ मा अमेरिकामा १ करोड १० लाखजना अनधिकृत आप्रवासीहरू रहेका थिए। तर ट्रम्पले त्यहाँ दशौँ लाख त्यस्ता व्यक्तिहरू रहेको दाबी गरिरहेका छन्।

राष्ट्रपति ट्रम्पले अमेरिकामा बस्न कानुनी रूपमा अनुमति नपाएका व्यक्तिहरूलाई सामूहिक देशनिकाला गर्नका लागि कंग्रेसको समर्थन खोज्ने सम्भावना छ।  विज्ञहरूले ठूलो स्तरमा आप्रवासीहरूलाई देश निकाला गर्नु खर्चिलो हुने र त्यसको कार्यान्वयन गर्न कठिन हुने बताइरहेका छन्।