पर्यटकको रोजाइ बन्दै राजकाँडा
- नेटिजन संवाददाता
- मंगलबार, २७ कार्तिक, २०८१- १३:१९:००/ Tuesday 11-12-24
काठमाडौं। प्राकृतिक सुन्दरतासँगै सुविधा सम्पन्न सडक र घरबास विस्तार भएपछि कैलालीको मोहोन्याल गाउँपालिका–७ स्थित राजकाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको छ ।
सुदूरपश्चिमको प्रवेशद्वारा कैलालीको चिसापानीबाट छ किलोमिटर पैदलयात्रा गरी माथि उक्लिएपछि आइपुग्छ राजकाँडा । यहाँबाट देखिने अपि र शैपाल हिमालको चुचुरोको सुन्दर दृश्यसँगै सूर्योदयको मनोरम दृश्यले यहाँ आउने पर्यटकलाई आकर्षित गर्दछ ।
तिनै सुन्दर दृश्यका कारण कैलालीको मोहोन्याल गाउँपालिका–७ स्थित राजकाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको हो ।
चिसापानीबाट पैदलयात्राका साथै कैलालीको लम्कीबाट मोटर बाटोको समेत पहुँच विस्तार भएको छ । सोह्र किमी उत्तरतर्फ सवारीमार्फत यहाँ पुग्न सकिन्छ । मोटर बाटोका लागि सडक सञ्जाल भए पनि धेरैजसो पर्यटक पैदलयात्रा गर्न रुचाउने गरेका स्थानीय बताउँछन् ।
पहाडको उकालो पैदलयात्रा गरेर थाकेपनि यहाँ पुगेपछि सबै थकान मेटिने पर्यटकको भनाइ छ । हिँड्दै जाँदा निकै थकाइ लागे पनि राजकाँडा पुगेपछि सबै थकान मेटिने गरेको कैलालीको घोडाघोडी नगरपालिका–१ कापारस बुढाथोकीले बताउनुभयो। 'म सात पटक राजकाँडा पुगिसकेको छु,' उहाँले भन्नुभयो, 'बाटोमा हिँड्दा अर्को पटक आउँदैन जस्तो हुन्छ, तर यहाँ पुगेपछि सबै थकान मेटिन्छ ।'
राजकाँडा पुगेर हिमालको चुचुरोसँगै सूर्योदय हेर्न पाउँदा निकै आनन्द लाग्ने बर्दियाका तपेन्द्र शाहीले बताउनुभयो। प्राकृतिक सुन्दरताका साथै सुविधा सम्पन्न घरबास सञ्चालन भएकाले पर्यटकलाई सहज बनाएको उहाँको भनाइ छ ।
'यहाँ पुग्ने कतिपय पर्यटक टेन्ट ल्याएर बस्ने गर्छन् भने कतिपय (होमस्टे) घरबासमा बस्ने गर्दछन् । पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै व्यवसायमा पनि वृद्धि हुँदै गएको छ,' धुलिकोट घरबासका सञ्चालक मीनबहादुर बोहराले भन्नुभयो । सुरुमा एउटा घर बनाएर घरबास सञ्चालन गरेको उहाँले बताउनुभयो ।
बोहराले भन्नुभयो, 'लम्की बजारमा रहेको होटेल छोडेर लकडाउनको समयमा यहाँ आएर घरबास सञ्चालन गरेको हुँ । सुरुमा सबैले तराईको व्यवसाय नछोड्न भन्नुभएको थियो । अहिले कमाइ प्रशस्त भइरहेको छ । पर्यटकीय मौसममा यहाँ पर्यटक राख्ने ठाउँको अभाव हुन्छ ।'
पहिलेका वर्षको तुलनामा यो वर्ष राजकाँडा पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको मीनबहादुरले उल्लेख गरे । दसैँ र तिहारको समय यहाँको मौसम र वातावरण उपयुक्त मानिने भएको आन्तरिक पर्यटकको आगमन बढेको उहाँले बताउनुभयो।
पूर्वाधार विकास, प्रचारप्रसार, पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन भएसँगै आन्तरिक पर्यटकको आगमन बढेको उहाँको भनाइ छ । घरबास सञ्चालक बोहराले भन्नुभयो, 'मौसममा दैनिक ३० देखि ५० हजारसम्म आम्दानी हुने गर्दछ ।' पर्यटकको सङ्ख्या बढेसँगै उनीहरूलाई व्यवस्थित गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो।
'यहाँ २५ देखि ३० जनासम्म राख्न सक्ने क्षमता छ । कहिलेकाहीँ ३५–४० जनासम्म आउनुहुन्छ । उहाँहरुलाई व्यवस्थित गराएर राख्न सकिँदैन,' बोहराले भन्नुभयो । बस्नका लागि ठाउँ नभए पनि घरबासमा खाना खुवाउने गरेको उहाँले बताउनुभयो ।
'कहिलेकाहीँ एक सयसम्मलाई खाना खुवाउनुपर्छ । घरबासमा खानेपानीको समस्या छ । सोलारमार्फत खानेपानी ल्याएका छौँ । घाम नलागेको बेला पानी नआउँदा समस्या हुन्छ,' उहाँले भने । राजकाँडामा हेर्नका लागि हिमालका चुचुरोसँगै हात्ती, ढुङ्गा, रानीकुवा, धुलीकोट दरबार, गुफा छन् । यहाँ भएका पर्यटकीय पूर्वाधारलाई थप व्यवस्थित बनाउन सके बाह्य पर्यटक पनि भित्राउन सकिने उहाँले धारणा राख्नुभयो ।रासस।