‘प्रतिपक्षले रुचाएका सभामुख ’
- Netizen Nepal
- सोमबार, ३ मङ्सिर, २०८१- १६:३८:००/ Monday 11-18-24
काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उहाँका छोराहरुले दागबत्ती दिनुभयो ।
पूर्वसभामुख ढुङ्गानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
प्रजातन्त्र पुनः स्थापनापछिको आमनिर्वाचनमा बहुमत प्राप्त नेपाली कांग्रेस र सशक्त प्रतिपक्षका रूपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच संसद्मा देखिएको रस्साकस्सीलाई सन्तुलित बनाउन तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले खेल्नुभएको तटस्थताको भूमिका नेपालको संसदीय अभ्यासमा अझै पनि खाँचो देखिएको छ ।
विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा एक सय ११ सिटसहित कांग्रेस बहुमतमा थियो । सो पार्टीका सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नेतृत्वमा रहेको ६८ सिटसहितको प्रतिपक्षी दलबीच सदनमा हुने आरोप प्रत्यारोप र गरमागर्मी बहसलाई सन्तुलित तुल्याएकै कारण उहाँ प्रतिपक्षीले रुचाएको सभामुखका रूपमा स्थापित हुनुभयो ।
नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनुभएका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । राजनीतिक क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आउनुभएका उहाँ संविधान तथा कानुनका ज्ञाता हुनुहुन्थ्यो ।
विभिन्न राजनीतिक दलका नेताहरूले करिब तीन वर्ष सभामुखको जिम्मेवारीमा रहँदा ढुङ्गानाले संसदीय लोकतान्त्रिक मूल्यमान्यतालाई सन्तुलित रूपमा स्थापित गराउन सशक्त भूमिका निर्वाह गर्नुभएको भनी स्मरण गर्नुभएको छ । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
‘नेपालको राजनीतिमा अपूरणीय क्षति’
रघुजी पन्त, नेता नेकपा (एमाले)
दमनाथ ढुङ्गाना भनेको नेपालको लोकतान्त्रिक योद्धा हो । उहाँले लोकतन्त्र प्राप्ति र सुदृढीकरणमा योगदान दिनुभयो । उहाँले राजनीतिक बन्दीका रूपमा जेल बस्नुभयो र अरू नेताहरूलाई छुटाउनका लागि लागिपर्नुभयो । बहुदल ल्याउनका लागि सङ्घर्षशील योद्धा, वरिष्ठ अधिवक्ताका रूपमा रहनुभयो । प्रजातन्त्र पुनर्बहालीपछि प्रतिनिधिसभाको करिब तीन वर्षको अवधिमा उहाँले आफ्नो क्षमता देखाउनुभयो । तथापि, त्यो क्षमताअनुसारको राजनीतिक भूमिका भने पाउनुभएन । आफूलाई लागेको कुरा स्पष्ट बोल्ने बानीका कारण पार्टीले पछिल्लो समय भूमिका दिएन ।
उहाँ अत्यन्त सफल सभामुख हो । सन्तुलित ढङ्गले संसद्लाई सञ्चालन गर्न सक्ने खुबी भएको, दूरदृष्टि र लोकतन्त्रप्रति प्रतिबद्ध सभामुख हुनुहुन्थ्यो । सफल राजनीतिक व्यक्तित्वका साथै मानवअधिकारवादी पनि हुनुहुन्थ्यो । लोकतन्त्रका लागि आजीवन योगदान दिनुभएका ढुङ्गानाको देहावसान नेपालको राजनीतिमा दुःखद र अपूरणीय क्षति हो ।
‘सफल सभामुख’
विजय सुब्बा, नेता नेकपा (एमाले)
दमननाथ ढुङ्गाना प्रजातन्त्र पुनः स्थापनापछिको पहिलो प्रतिनिधिसभाको सफल सभामुख हुनुहुन्थ्यो । सभामुख पद ठूलो भए पनि त्यसको नेतृत्व गरिरहँदा उहाँमा त्यो भावना कहिल्यै देखिएन । आफ्ना सदस्यका बारेमा पर्याप्त सूचना राख्नुहुन्थ्यो । सदनलाई सन्तुलित रूपमा सञ्चालन गर्न उहाँले ठूलो भूमिका खेल्नुभयो । संसद् भनेको प्रतिपक्षको हो, प्रतिपक्षीलाई अवसर दिनुपर्छ र उसको कुरा सुन्नुपर्छ भन्नेमा स्पष्ट हुनुहुन्थ्यो । उहाँ स्पष्ट वक्ता र धेरैले श्रद्धा गर्ने हुनुहुन्थ्यो ।
‘सत्ता सरकारको र संसद् प्रतिपक्षको हो भन्नेमा स्पष्ट’
सोमबहादुर थापा, पूर्वसचिव, संसद् सचिवालय
दमननाथ ढुङ्गाना असल विषयक र राजनीतिज्ञ हो । लोकतन्त्र, प्रजातन्त्र र सामाजिक न्यायको पक्षमा उभिने उहाँ कसैप्रति अन्याय नहोस् भन्ने भावना राख्नुहुन्थ्यो । मानवअधिकारवादीका रूपमा पनि आफूलाई स्थापित गर्नुभयो । उहाँ सफल सभामुख हो । उहाँले ‘सरकार भनेको सत्ता सञ्चालनका लागि हो, संसद्मा विपक्षीको आवाज उठ्नुपर्छ, विपक्षीलाई समय दिनुपर्छ र उसका कुरा सुन्नुपर्छ’ भन्ने नयाँ लोकतान्त्रिक मूल्यमान्यता ल्याउनुभयो । ‘बहुमतका आधारमा पेल्ने’ सोच अस्वीकार गर्दै त्यसलाई व्यवहारमा उतार्नुभयो ।
राजनीतिक दलहरूले दमनाथ ढुङ्गानालाई आ–आफ्ना ढङ्गले प्रयोग गरे पनि उहाँका विचार र विशेषतालाई आत्मसात् गरेनन् । मानवअधिकार, मूल्यमान्यता, स्वतन्त्रता, न्यायिक मूल्यमान्यता अहिले पनि अभ्यासमा छैनन् । उहाँको नेतृत्वमा रहेको संसद्को ओज लामो समयसम्म कायम रहन सकेन । ढुङ्गानाको नेतृत्वमा रहेको संसदीय अध्ययन अनुसन्धान केन्द्रमार्फत संविधान संशोधनको बहस चलिरहेको थियो ।
विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उहाँ प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो । नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उहाँले ठूलो योगदान छ । विसं २०४७ को संविधान निर्माणका लागि गठित आयोगको सदस्यसमेत रहनुभएका ढुङगाना मुलुकमा अहिले देखिएको राजनीतिक अस्थिरताको अन्त्य गर्दै सङ्घीयतालाई सबल बनाउन वर्तमान संविधान संशोधनका लागि कानुनका ज्ञाता र राजनीतिक व्यक्तित्वसँग छलफल चलाउँदै आउनुभएको थियो । रासस