• आइतबार, २३ मङ्सिर, २०८१
  • १०:०४:१९

दुर्गमका विद्यार्थीलाई विद्यालय पुग्नै सकस

काठमाडौं। जिल्लाको सुदूर उत्तरी याङवरक गाउँपालिका-१ च्याङथापूको खोलाघारीकी सुकमाया राईका नातिनीहरू यस वर्षबाट कक्षा ९ मा पढ्न थालेका छन् । कक्षा ८ सम्म समरजुङमा रहेको विद्यालयमा अध्ययन गरेका उनीहरूले कक्षा ९ भने च्याङथापूको विष्णु माध्यमिक विद्यालयमा अध्ययन गर्नुपर्छ, किनकि समरजुङको विद्यालयमा कक्षा ८ सम्म मात्रै पढाइ हुन्छ । 


खोलाघारीदेखि समरजुङ र च्याङथापू पुग्न करिब उस्तै समय लाग्छ । तर समरजुङ गाउँकै बाटो हुँदै पुग्छन् । च्याङथापु पुग्न भने शुकमायाको घरभन्दा झन्डै २०० मिटर तल रहेको मेवा खोला पाँच पटक तर्नु पर्छ ।

नातिनीहरू माथिल्लो कक्षामा पुगेर पढ्न थालेको खुसीभन्दा विद्यालय कसरी पुग्लान र कसरी फर्कलान भन्ने पिर शुकमायाको छ । “यसपालिको बर्खामा त पानी कम परेकाले घरबाटै धाए । अर्को बर्खा यसपालि जस्तो नहोला”, उहाँले भन्नुभयो, “आउँदो वर्ष डेरा बसाउनु पर्ला । बाटो छैन, पुल पनि छैन । भएको पुल पनि बाढीले बगायो ।” 

खोलाघारीकै राजेश राईका छोराछोरी पनि च्याङथापूमै पढ्दै आएका छन् । उहाँले आफ्ना छोराछोरीलाई च्याङथापूमै डेरामा राखेर पढाउन खोज्नुभएको थियो । तर छोराछोरीले अन्यसँग डेरामा बसेर पढ्न नरुचाएपछि घरैबाट धाउने गरेको उहाँको भनाइ छ । “बाढीले बाटो बगाएपछि विद्यार्थीहरूलाई एकदमै गाह्रो छ । बर्खामा पानी थपिनासाथ फड्के बगाउँछ”, उहाँले भन्नुभयो, “त्यसैले बर्खा र पानी परेको समयमा हामी नानीहरूलाई स्कुल पठाउँदैनौँ ।” 

हुन पनि यहाँबाट करिब सवा घण्टा पैदल यात्रा गरेर च्याङथापू पुग्न मेवा खोला दुई स्थानमा झोलुङ्गे पुल तथा तीन स्थानमा फड्के तर्नुपर्छ । बालबालिकाहरूलाई दुईतीन वटा बाँस वा रुख तेर्स्याएर बनाइएको फड्के गर्न कठिन पर्छ । त्यसमा पनि एउटा झोलुङ्गे पुल बाढीले हिर्काएर जोखिमपूर्ण बनेको छ । “नानीहरू स्कुल जाने बाटो छैन । नानीहरूलाई स्कुल नपठाऔँ भने पढाई बिग्रने भयो”, पिर मान्दै राजेशले भन्नुभयो, “पठाऔँ भने फर्केर आउलान् कि नआउलान् भन्ने तनाव हुन्छ ।”

याङवरक १ को मेवा खोलासहित उक्त खोलामा जोडिने मुरुङ्गा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौँ स्थानमा झरेको पहिरोका कारण भौतिक संरचना क्षतिग्रस्त हुँदा यहाँ मानिस हिँड्ने गोरेटो बाटोसमेत छैन । यसकारण यहाँका मगरडाँडा, खोलाघारी, मास्लोगाउँ, एकराते, चोक, फेदी, ढाँडगाउँ, याकलिङ र काङदाङका विद्यार्थीहरू अत्यधिक प्रभावित बनेका छन् । 

च्याङथापु बजारबाट पर्यटकीय क्षेत्र लामपोखरी जोड्ने मोटरबाटोले यी बस्तीहरूलाई समेटेको थियो । गत वर्षको असार २ गते आएको बाढीले उक्त सडकको मेवा खोलाको किनारामा पर्ने झन्डै तीन किलोमिटर मोटरबाटो बगाएको छ । मोटरबाटो नै यी बस्तीबाट च्याङथापू पुग्ने पैदल मार्ग समेत थियो । बाढीले दशकौँदेखिको गोरेटो बाटोसमेत क्षतिग्रस्त बनाउँदा बालबालिकाहरू विद्यालय जान समेत कठिन परेको हो । 

पहिरो प्रभावित क्षेत्र ‘चोक’का जसमान राईले आफ्नो कान्छो छोरालाई च्याङथापूमै डेरा खोजेर पढाउँदै आउनुभएको छ । “कान्छो छोरा च्याङथापूमै बसेर पढ्छ । घरबाट विद्यालय जान र फर्कन कठिन भयो”, उहाँले भन्नुभयो, "चोककै अशोक राईको परिवार अहिले च्याङथापु बसाइँ सरेको छ ।" अशोककी श्रीमती धनकुमारीले भन्नुभयो, “घर बस्न जोखिमपूर्ण भयो । हिउँदमा त बस्न सकिन्छ तर पहिरोको झझल्को आइरहन्छ । खास समस्या चाहिँ बालबालिका पढाउन मुस्किल भयो । त्यसैले यता आएर बसेका छौँ ।” 

याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार आफ्ना बालबालिकाहरूलाई पढाउनकै लागि यी क्षेत्रबाट कतिपय मानिसहरू बसाइँ सरेका छन् । “कोही च्याङथापू झरेका छन् भने कोही झापा नै पुगे”, उहाँले भन्नुभयो, “सानो नानी हुने धेरै जनाले अहिले गाउँ छोडिसकेका छन् ।” फड्के तरेर स–साना बालबालिका विद्यालय पुग्न र फर्कन डरमर्दो अवस्था रहेको वडाध्यक्ष राई बताउनुहुन्छ। “विद्यालय गएका छोराछोरी घर फर्कन टुङ्गो नहुने भएपछि गाउँ छोड्ने नै भए”, उहाँले भन्नुभयो । 

२०८० साल असार २ गते आएको बाढीले मेवा खोलाको तटीय क्षेत्रमा क्षति पुर्‍याएको थियो । अत्यधिक वर्षापछि यत्रतत्र पहिरो जाँदा बस्ती बसेदेखि हालसम्म मानिस हिँड्ने गरेको खोला किनाराको गोरेटो बाटो समेत बगाएको स्थानीयवासी पञ्चध्वज राईको भनाइ छ । रासस।