नेपालमा टेस्लाका गाडी अब आधिकारिक विक्रेतामार्फत, मूल्य कति ?
- नेटिजन संवाददाता
- आइतबार, २१ पौष, २०८१- १३:११:००/ Sunday 01-05-25
काठमाडौं । अब नेपाली सडकमा टेस्लाका विद्युतीय गाडीहरू आधिकारिक रूपमा दौडिने तयारीमा छन्। 'टेस्ला नेपाल' नामक कम्पनीले अमेरिकास्थित टेस्लाको मुख्यालयसँग आधिकारिक विक्रेताको मान्यता पाएपछि नेपालमा टेस्लाका ईभी (इलेक्ट्रिक भेहिकल) हरू औपचारिक रूपमा भित्रिन लागेका हुन्।
नेपालजस्तो नयाँ बजारमा टेस्ला आफ्नै लगानीमा नभएर स्थानीय साझेदारमार्फत आउन लागेको हो। यसका लागि टेस्ला नेपालका सीईओ सुरेन्द्र कोइरालाले अमेरिकाको टेक्ससस्थित टेस्ला मुख्यालयसँग आवश्यक सम्झौता (एमओयू) भइसकेको जानकारी दिए।
कोभिडपछि टेस्लाको रणनीतिमा परिवर्तन
कोभिड महामारीपछि विश्वभर टेस्लाका ईभीको बिक्री अपेक्षाकृत रूपमा घटेको थियो। खासगरी चिनियाँ ईभी निर्माता कम्पनीहरूले बलियो प्रतिस्पर्धा गरेपछि टेस्लाले सीमित बजारहरूमा साझेदारहरूसँग सहकार्य गर्ने रणनीति अपनायो। यसै रणनीतिअन्तर्गत नेपालमा आधिकारिक विक्रेतामार्फत टेस्ला भित्रिन लागेको हो।
कोइरालाका अनुसार नेपालमा टेस्ला भित्र्याउन चार वर्षदेखि प्रयास भइरहेको थियो। कम्पनीको नेतृत्वमा रहेका उमेश कसजु हाइड्रोपावर डेभलपर हुन् भने कम्पनीका प्रवर्द्धकहरूमा पूर्व बैंकर्स र अटोमोबाइल क्षेत्रमा अनुभवी लगानीकर्ता समूह छन्।
सम्झौताका मुख्य बुँदा
टेस्ला नेपाल र मुख्यालयबीच भएका सम्झौताहरूमा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) पूरा गर्ने, लगानीको सुनिश्चितता, सर्भिस तथा ग्राहक अनुभव सुधार्न प्रतिबद्धता रहेका छन्। “टेस्लाको एसओपी पूरा भए/नभएको निगरानी गर्न मुख्यालयबाट समय-समयमा ड्यु डिलिजेन्स हुनेछ,” कोइरालाले भने।
टेस्लाले नेपालमा सिंगापुर र हङकङ कार्यालयहरूसँग पनि सहकार्य गर्नेछ। ती कार्यालयहरूले नेपालमा ग्राहक सेवा, शोरुम, चार्जिङ स्टेशन, सर्भिस सेन्टर आदिमा आवश्यक मापदण्ड पूरा भएको सुनिश्चित गर्नेछन्।
शोरुम र सर्भिस सेन्टरको योजना
काठमाडौं उपत्यकामा तत्कालका लागि दुईवटा शोरुम र ग्राहक अनुभव केन्द्र स्थापना गरिनेछ। बालुवाटारमा पहिलो शोरुम स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ भने झम्सिखेल क्षेत्रमा अर्को शोरुमका लागि प्रक्रिया अघि बढिरहेको छ।
यस्तै, एकान्त कुनामा झन्डै तीन रोपनी क्षेत्रफलमा सर्भिस सेन्टर निर्माण कार्य सुरु भइसकेको छ। त्यहाँ एकसाथ पाँचवटा गाडी चार्ज गर्न मिल्ने सुपर चार्जर पनि जडान गरिनेछ। सुपर चार्जरमार्फत एक घण्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ। कम्पनीले उपत्यकाबाहिर पनि क्रमशः चार्जिङ नेटवर्क विस्तार गर्ने योजना बनाएको छ।
मुख्य सहरहरूमा शोरुम विस्तार
कम्पनीले काठमाडौं, पोखरा, चितवन, बुटवल-भैरहवा, विराटनगर र झापा गरी छवटा मुख्य क्लस्टर पहिचान गरेको छ। टेस्लासँग भएको १० वर्षे सम्झौता अन्तर्गत ती क्लस्टरहरूमा शोरुम, सर्भिस सेन्टर तथा चार्जिङ नेटवर्क विस्तार गरिनेछ। टेस्ला नेपालका सर्भिस सेन्टरहरू सर्टिफाइड कोलिसन सेन्टरका रूपमा रहनेछन्, जहाँ गाडीको ठूला क्षति समेत मर्मत गर्न सकिनेछ।
पहिलो चरणमा ५० युनिट ईभी आउने
सीईओ कोइरालाका अनुसार प्रारम्भिक चरणमा टेस्लाका मोडेल ३, मोडेल वाई र मोडेल एक्स गरी तीन मोडेलका ५० युनिट गाडी नेपाल भित्र्याइनेछ। “टेस्लाको मुख्यालयसँग शोरुम, सर्भिस र चार्जिङको डिजाइन अनुमोदन लिएर मात्रै गाडी आयात गर्न पाइने नियम थियो। अब सबै प्रक्रिया पूरा भएकाले फेब्रुअरीको अन्त्यसम्म गाडी नेपाल भित्रिनेछन्,” उनले भने।
अहिलेसम्म टेस्लाका गाडी नेपालमा हङकङमार्फत उच्च करसहित भित्रने भएकाले महँगा पर्दै आएका थिए। तर अब टेस्ला नेपालले निर्माण लागतकै मूल्यमा गाडी आयात गर्न पाउने भएकाले मूल्य ३० देखि ४० प्रतिशतसम्म सस्तो हुने बताइएको छ।
पछिसम्म अनौपचारिक रूपमा भित्रिएका टेस्ला
यसअघि अरेत इन्टरनेसनल नामक कम्पनीले टेस्लाका गाडीहरू अनौपचारिक रूपमा नेपालमा भित्र्याउने काम गर्दै आएको थियो। आफूलाई नेपालका लागि पहिलो बिक्रेता बताउँदै आए पनि अरेतले आधिकारिक विक्रेताको मान्यता भने पाएको थिएन।
अब टेस्ला नेपालले आधिकारिक विक्रेताको मान्यता पाएपछि अरेतले टेस्लाका गाडी आयात गर्न नपाउने बताइएको छ। कम्पनीले गाडी आयात जारी राखेमा कानुनी प्रक्रिया अपनाउने चेतावनी पनि दिएको छ। “गाडी आउनासाथ टेस्लाको मुख्य वेबसाइटमा आधिकारिक विक्रेताको जानकारी राखिनेछ,” कम्पनीका प्रतिनिधिले जानकारी दिए।
चार्जिङ नेटवर्क र मर्मत सेवामा सुधार
नेपालमा आधिकारिक विक्रेताको अभावमा चार्जिङ स्टेशन र सर्भिस सेन्टरको सुविधामा कमी भइरहेको थियो। अब भने टेस्ला नेपालले दुईजना सर्टिफाइड इन्जिनियरलाई मलेसियाबाट ल्याउँदैछ। त्यस्तै, स्थानीय इन्जिनियरलाई तालिम दिन चीन र जर्मनी पठाउने तयारी समेत रहेको छ।