• बुधबार, २४ पौष, २०८१
  • ०३:४१:०७

सडकमा ट्राफिक जाम छ कि छैन ? मोबाइलमै यसरी हेर्नुहोस

काठमाडौं । काठमाडौंजस्तो भीडभाड भएको सहरमा यात्रा गर्दा सबैभन्दा ठूलो समस्या भनेको ट्राफिक जाम हो । यहाँ जाममा फस्नु दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ । यात्रा सुरु गर्दा जाममा परिएला कि भन्ने चिन्ता यात्रुहरूका लागि सामान्य भइसकेको छ । अचानक जाममा फस्दा ट्याक्सीको भाडा महँगो हुन्छ, बाइकमा इन्धन र समय दुवै बर्बाद हुन्छ, अनि सार्वजनिक यातायातमा यात्रारतहरूलाई पर्खाइको पीडाले थकित बनाउँछ ।


तर, आधुनिक प्रविधिको प्रयोगले ट्राफिक जामबाट बच्न अब सजिलो भएको छ । तपाईंले आफ्नो स्मार्टफोनकै सहायताले ट्राफिकको अवस्थाबारे जानकारी लिई वैकल्पिक बाटो छनोट गर्न सक्नुहुन्छ । यसरी यात्रा अघि नै ट्राफिकको स्थिति हेरेर अघि बढ्दा समय र तनाव दुवै जोगिन्छ ।

गुगल म्याप्स
स्मार्टफोन प्रयोगकर्ताहरूका लागि ‘गुगल म्याप्स’ सबैभन्दा प्रचलित एप हो । यहाँ तपाईंले आफ्नो गन्तव्य स्थान टाइप गरेर सम्भावित रुटहरू हेर्न सक्नुहुन्छ । यदि ट्राफिक जाम छ भने मार्गलाई रातो रङले चिनाइन्छ, हल्का जाम भएमा सुन्तला रङ, र कुनै जाम नभए हरियो रङ देखाइन्छ । यसले सबै वैकल्पिक रुटहरू समेत सजिलै देखाउने भएकाले ट्राफिक जामबाट बच्न यो प्रभावकारी उपाय हो ।

एप्पल म्याप्स
आईफोन प्रयोगकर्ताहरूका लागि ‘एप्पल म्याप्स’ अर्को उपयोगी एप हो । गन्तव्य टाइप गरी ‘कार आइकन’ ट्याप गरेपछि जामरहित बाटो र त्यसमा लाग्ने समय देखिन्छ । यो एप अधिकांश आईफोनमा प्रिइन्स्टल गरिएको हुन्छ ।

वाज एप (Waze)
‘वाज एप’ एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ । यद्यपि नेपालमा यसको प्रयोग कम देखिन्छ, यसले पनि ट्राफिकको वास्तविक समय स्थिति देखाउँछ । स्थानको नाम टाइप गरी खोज्दा वैकल्पिक मार्गसहित ट्राफिकको जानकारी प्राप्त गर्न सकिन्छ ।

अन्य विकल्पहरू
यदि तपाईंलाई स्मार्टफोन एप प्रयोग गर्न असहज लाग्छ भने नेपाल ट्राफिक प्रहरीलाई १०३ मा फोन गरी सोध्न सक्नुहुन्छ । त्यसैगरी मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर वा ट्राफिक प्रहरीको वेबसाइटमार्फत पनि सडकको अवस्था थाहा पाउन सकिन्छ ।

यात्रा गर्दा ट्राफिक जामको झन्झटबाट जोगिन र समयको सदुपयोग गर्न यी डिजिटल समाधानहरू उपयोगी हुनसक्छन् ।