• बुधबार, २ माघ, २०८१
  • ०४:११:३८

चिसोको कहरमा तराई: शीतलहरबाट जोगिन कत्तिको तयार छ सरकार?

काठमाडौं तराईका विभिन्न जिल्लामा चिसो बढ्दै गएको कारण शीतलहरको जोखिम बढेको छ। लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लाहरूमा चिसोको असरबाट बच्न पर्याप्त पूर्वतयारी हुन सकेको छैन। सरकारी तथ्यांक अनुसार, विगत ११ वर्षमा शीतलहरका कारण करिब ११६ जनाले ज्यान गुमाएका छन्।


प्रमुख प्रभावित क्षेत्र र मृत्युदर:

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, २०६८ सालदेखि २०७९ पुस १३ सम्म ११६ जनाले शीतलहरका कारण ज्यान गुमाएका हुन्। प्राधिकरणको तथ्यांकानुसार, शीतलहरका कारण सबैभन्दा बढी रौतहटमा ६३ जनाले ज्यान गुमाएका छन्। सप्तरीमा १९, महोत्तरीमा १५, सिराहामा ११, धनुषामा ४, बारामा २ र झापा तथा नवलपरासीमा एक-एक जनाको मृत्यु भएको छ।

प्राधिकरणको तथ्यांकअनुसार, २०६८ साल वैशाखदेखि चैतसम्म मात्र ६६ जनाको मृत्यु भएको थियो। २०७४ सालमा ४८ जनाको शीतलहरका कारण मृत्यु भएको थियो। यसबाहेक अन्य वर्षमा शीतलहरकै कारण मृत्यु नभए पनि आगो र हिटर ताप्दा सर्वसाधारणको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

स्थानीय तह र पूर्वतयारीको समस्या

शीतलहरबाट जोगिनका लागि स्थानीय तहलाई जिम्मा दिइएको छ, तर प्रभावकारी कार्यान्वयनको अभाव रहेको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जनाएका छन्। स्थानीय तहको क्षमता अभिवृद्धि गर्नुपर्ने र पूर्वसूचनामा बेवास्ता गरिँदा शीतलहरजस्ता विपद् व्यवस्थापन प्रभावकारी हुन नसकेको बताइएको छ।

दाउरा वितरण र वातावरणीय असर

वन तथा वातावरण मन्त्रालयका अनुसार, कोशी प्रदेशका आठ जिल्लामा दाउरा वितरण गरिएको छ। सचिव उद्धवबहादुर घिमिरेका अनुसार, आठ जिल्लाका डिभिजनल वन कार्यालयहरूलाई दाउरा वितरणका लागि निर्देशन दिइएको छ। प्राधिकरणले प्रत्येक जिल्लामा १० लाख रुपैयाँ पठाएको छ।

जलवायुविद् मञ्जित ढकालका अनुसार, जलवायु परिवर्तनका कारण मौसममा अनियमितता देखिएको र शीतलहरको समस्या बढ्दै गएको छ। ‘तापमान वृद्धि भइरहेको छ, जसका कारण चिसोमा धेरै चिसो र तातोमा धेरै गर्मी हुने समस्या देखिएको छ,’ ढकालले बताए।

स्वास्थ्यमा असर र सुझावहरू

शीतलहरका कारण स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न हुन सक्छ। जनस्वास्थ्यविद् डा. समिर अधिकारीले अचानक तापक्रम न्यून हुँदा निमोनिया, छालाको समस्या, रूघाखोकी र अन्य दीर्घरोगहरू बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन सुझाव दिएका छन्।

डा. रञ्जित शर्माले बढी चिसो हुँदा मुटुमा असर पर्ने बताउँदै, रक्तप्रवाह असामान्य भई मुटुमा अक्सिजनको कमी हुन सक्ने बताएका छन्। ‘चिसोमा हाम्रा शरीरमा हर्मोनको मात्रा वृद्धि हुन्छ, जसका कारण रक्तको भिस्कोसिटी बढ्ने र रक्तनली खुम्चिँदा मुटुले बढी काम गर्नुपर्ने हुन्छ,’ शर्माले भने।

के हो शीतलहर?

तराईका विभिन्न भागमा विशेषगरी पुस र माघमा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्छ। यसरी चिसो बतास (हावा) चल्ने अवस्थालाई शीतलहरको प्राकृतिक प्रकोप भनिन्छ। 

प्रभावित क्षेत्रमा बिहानदेखि बेलुकासम्म हप्तौं वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नाले घाम नलाग्ने हुँदा तापक्रम ह्वात्तै तल झर्ने हुनाले चिसो बढी हुन्छ। शीतलहर सामान्यतया विशेष मौसम प्रणालीको परिणामका रूपमा देखापर्दा तापक्रम धेरै तल झर्ने अवस्था उत्पन्न हुन्छ। शीतलहरको अवधिमा तापमान सामान्यभन्दा धेरै कम हुन्छ। जसकारण दैनिक जीवनमा विभिन्न समस्या र असुविधा उत्पन्न हुनसक्छ।

शीतलहरबाट जोगिने उपाय

शीतलहरबाट प्रभावित हुने स्थानमा बसोबास गर्ने मानिसहरूले विशेष सतर्कता अपनाउन आवश्यक छ। न्यानो लुगा लगाउने, तातोपानी र तातो खानेकुरा सेवन गर्ने, वृद्ध र बालबालिकाप्रति विशेष ध्यान दिने गर्नुपर्छ। साथै, स्थानीय प्रशासनसँग नियमित सूचना लिनु आवश्यक छ।

सरकारको योजना

सम्भावित शीतलहर र हमपातबाट बच्न सरकारका विभिन्न योजना छन्। स्वास्थ्य सम्बन्धी समस्यालाई रोकथाम गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीलाई कक्षा दिने, शरीरको न्यानो बचाउन अभियान प्रचार गर्ने, उपलब्ध साधन स्रोतको आकलन गर्ने, खाद्यान्न, न्यानो कपडा, कम्बल, दाउरा, औषधि र स्वास्थ्य सेवा लगायतका सामग्रीको तयारी गरिनेछ।

सवारी दुर्घटना न्यूनीकरण

हिमपात, तुसारो र बाक्लो कुहिरोका कारण सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्न, आवश्यकतानुसार समूह गठन गरी जोखिमयुक्त क्षेत्रहरूको पहिचान गर्ने, सवारीचालकलाई जानकारी गराउने, र सम्भाव्य दुर्घटनाको खोज, उद्धार र उपचारको तयारी गरिने योजना छ।

आगलागीको जोखिम

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहरका समयमा आगलागीका घटना बढ्न सक्ने भएकाले दाउरा र हिटर प्रयोग गर्दा विशेष सतर्कता अपनाउन सचेत गराएको छ।

 

रासस।