नेपालको प्राचीन र मध्यकालीन मूर्तिकला
-
नेटिजन संवाददाता
- बुधबार, १३ चैत, २०८१- १५:२१:००/ Wednesday 03-26-25

काठमाडौं । नेपालमा प्राचीन कालदेखि नै मूर्तिकलाको विकास भएको पाइन्छ । नेपालको वंशावलीमा किरात राजाहरूको वर्णन गरिएको छ । किराती प्रथम राजा थुम्को भारतका मौर्य सम्राट अशोकको समकालीन रहेको बताइन्छ र यस बखतका कलाहरूमा विशेष गरेर मूर्तिकलाहरू मौर्य कलाको छाप रहेको कुरा संस्कृतिविद सत्यमोहन जोशीले उल्लेख गरेका छन् ।
यो मूर्तिका अधिकांश लक्षणहरू दोस्रो शताब्दीतिरै बनेका भारतको सारनाथ म्युजियममा रहेको कुषाणकालीन भिक्षुवाला र उभिएको बुद्धका मूर्तिहरूको लक्षण, विशेषता, पहिरन, यहाँसम्म साइज र पोजसमेत एकै देखिनुले त्यति बेलाको कुषाणकालका कलाले नेपाली कलालाई कतिको गहिरो प्रभाव पारेको रहेछ भन्ने अड्कल काट्न सकिन्छ ।
आर्यघाटको विरुपाक्ष खैरो कडा प्रस्तरबाट बनेको मूर्ति किरातकालको मानिन्छ । कसैकसैले यसलाई इसापूर्व कालको मानेको छ । इसाको पहिलो शताब्दीदेखि पाँचौं अर्थात् सुरुका यो ५०० वर्षका मूर्तिकलाहरू शैलीगत हिसाबमा खस्रा र भद्दा, तर पुष्ट, गठिला, सुडौल अङ्गको प्रस्तुति विशेषपूर्ण मान्न सकिन्छ । यस कालको मूर्तिहरूमा मथुरा(कुषाण शैलीको प्रभाव देखिन्छ (पाँडे)।
किरातकालका मूर्तिहरू प्रायशः पाण्डु र ध्रुव वर्णका, कडा ढुङ्गामा बन्ने र मूर्तिको बनोट पुड्को शरीरयुक्त बाटुलो अनुहार, सुडौल अवयव, छोटो हात, गर्धन, बाक्लो ओठ, चिम्सा आँखा, चेप्टो नाक तथा चौडा छातीयुक्त रहेको र वस्त्राभूषण अल्प जस्ता लक्षणबाट मङ्गोल मूर्तिको परिचय पाउन सकिन्छ । लिच्छविकालका मूर्तिकला चारौं शताब्दीको अन्तदेखि चिल्ला, मिहिन, विविध भावभङ्गीका साथै सुसंस्कृत प्रकारका विशेष शैलीमा मूर्ति बन्न थाले । यी कलामा गुप्तकालको प्रभाव देखिन्छ ।
इसाको द्वितीय शताब्दीको अन्त र तृतीय शताब्दीको सुरूतिर भारतका शक र कुषाण राजाहरूको मार खप्न नसकेर वैशालीका लिच्छविहरू नेपाल पसेका थिए भन्ने गरिन्छ । यही लिच्छविका राजा मानदेव हुन् । तर बाहिरबाट आएका लिच्छवि र नेपालमा देखा परेका लिच्छवि राजाहरूबीचको सम्बन्ध र क्रमबद्धता भने आजसम्म पनि जोड्न सकिएको छैन ।
यो अहिले पनि इतिहासकै गर्भमा छ । इसापूर्व कालदेखि नै नेपाली कलाको विकास भए पनि तिथिमितिसहितको नेपालकै इतिहास पनि पाँचौं शताब्दीका राजा मानदेव प्रथमभन्दा अगाडि लिपिबद्ध भएको पाइँदैन ।
मानदेवकै पालामा प्रामाणिक र कलात्मक विष्णुविक्रान्तका दुईवटा सन् ४६७ का मूर्तिहरू प्राप्त भएका थिए । एउटा तिलगङ्गा पशुपतिमा र अर्को लाजिम्पाटमा प्राप्त भएको थियो । तथापि यसैबीच सन् १९९२ मा काठमाडौंको मालिगाउँमा घरको जग खन्दा फेला परेको अति महत्त्वपूर्ण एउटा मूर्तिले नेपालको मूर्तिकलाको इतिहासलाई पछाडि धकेलेर पाँचौं शताब्दीदेखि इसाको दोस्रो शताब्दीमा पुर्याइदिएको छ । यो बलौटे ढुङ्गामा कुँदिएको जयवर्माको मूर्तिको पादपीठमा ब्राह्मलिपिमा स्पष्टसँग शक संवत् १०७ (अर्थात् इ. १८५ हुन आउँछ) लेखिएको छ ।
यो मूर्तिका अधिकांश लक्षणहरू दोस्रो शताब्दीतिरै बनेका भारतको सारनाथ म्युजियममा रहेको कुषाणकालीन भिक्षुवाला र उभिएको बुद्धका मूर्तिहरूको लक्षण, विशेषता, पहिरन, यहाँसम्म साइज र पोजसमेत एकै देखिनुले त्यति बेलाको कुषाणकालका कलाले नेपाली कलालाई कतिको गहिरो प्रभाव पारेको रहेछ भन्ने अड्कल काट्न सकिन्छ ।
मानदेवका पालामा तिथिमितिसहित पाइएका अति उत्कृष्ट विष्णुविक्रान्तका मूर्तिको सन्दर्भ उठाउँदा यति उत्कृष्ट मूर्ति बनाउन नेपाली कलाकारले सयौँ वर्षदेखि निरन्तर प्रयास गरे होलान् भन्ने प्रसङ्ग धेरै कलाविद्हरूले उठाउँदै आएका छन् । यही विष्णुविक्रान्तमा जडित गरगहनाको प्रसङ्ग उठाउँदै धेरै कलाविद्हरूले धातुका मूर्तिहरू पनि धेरै पहिलादेखि बन्दै गरेका कुराहरू उठाएका छन् ।
यो जयवर्माको मूर्तिले नेपालको मूर्तिकलामा स्थापित भएको कैयौं कुरालाई नयाँ ढङ्गबाट सोच्न बाध्य गराइदिएको छ । यो मूर्ति कुनै धार्मिक नभएर राजा जयवर्माको रहेको प्रमाणित भएपछि नेपालको सालिक कलाको इतिहासको पनि शुभारम्भ भएको छ । यति मात्र होइन नेपालको राजनीतिक इतिहासमा उल्लेख गर्ने गरेको गोपालवंशी, महिषपाल, किरात, लिच्छवि, ठकुरीवंश, मल्लवंश, शाहवंशमा अब वर्मावंशका पनि थपिएका छन्।
यस मूर्तिमा प्रयोग भएको बलौटे ढुङ्गा र प्राचीन नेपालको कुनै मूर्तिमा देखिँदैन भने यसपछिका राजाहरूले आफ्नो सालिक मूर्ति बनाएको नपाएकाले गर्दा मूर्तिकलाको क्रमबद्धताको इतिहासमा अप्ठ्यारो भने भएको छ ।
भारतमा मौर्यकालमै राजामहाराजाको सालिक मूर्ति बनाउने प्रचलन रहेकाले यसैको प्रभावमा नेपालमा पनि बन्न थालेको कुरा अड्कल काट्न सकिन्छ । तर यता लिच्छविकालमा आएर यसैको अर्को रूपमा स्तम्भकलाको यस्तै सालिक मुर्तिहरू बन्न थालेको सन्दर्भपनि रोचक छ । भगवानलाई भक्तिभावले मन्दिरअगाडि हात जोडेर प्रणाम गरिरहेको र स्तम्ममाथि आसीन भएको यस्ता स्तम्भ मुर्ति लिच्छवि राजा मानदेवले स्थापना गरेको चाँगुनारायण मन्दिरमा रहेको छ ।
यस बेलादेखि लिच्छविकालमा शक्तिशाली राजा मानदेव प्रथम र उनको कालमा स्थापित भएको पाँचौं शताब्दीतिरको शिलालेखबाट त नेपालको इतिहास मात्र थालनी भएको छैन यसै कालदेखि आधिकारिक रूपबाट नेपाली कलाको परम्परा, शैली र लक्षणबारे पनि अविरल रूपमा वर्णन र व्याख्या पनि हुँदै आएको छ । मूर्तिकलामा देवत्व वा भगवान्को प्रतिमूर्तिका रूपमा कल्पना गरिँदा पनि यस्ता मूर्तिहरू प्राचीन कालदेखि अनवरत रूपमा आजसम्म पनि बन्ने गरेको पाइन्छ ।
यस्ता मूर्तिहरू माटो, ढुङ्गा काठ, धातु आदिबाट बन्ने गरेको छ । यसमा पनि टेराकोटा अर्थात् माटोबाट बनेका मूर्तिहरू सर्वप्राचीन रूपमा बन्ने गरेको पाइन्छ । लुम्बिनीको वञ्जरही र तिरोलाकोटमा प्राप्त मूर्तिलाई नै सर्वप्राचीन मूर्ति मान्ने गरिएको छ । यी सबै मूर्तिकलामा कुनै न कुनै रूपमा बाह्य प्रभाव परेको छ । यसैगरी पशुपतिको मृगस्थलीमा रहेका पुरूष र गोरखनाथका मूर्ति भारतको गुप्त शैलीसँग नजिक रहेको देखिन्छ ।
मानदेवका पालामा तिथिमितिसहित पाइएका अति उत्कृष्ट विष्णुविक्रान्तका मूर्तिको सन्दर्भ उठाउँदा यति उत्कृष्ट मूर्ति बनाउन नेपाली कलाकारले सयौँ वर्षदेखि निरन्तर प्रयास गरे होलान् भन्ने प्रसङ्ग धेरै कलाविद्हरूले उठाउँदै आएका छन् । यही विष्णुविक्रान्तमा जडित गरगहनाको प्रसङ्ग उठाउँदै धेरै कलाविद्हरूले धातुका मूर्तिहरू पनि धेरै पहिलादेखि बन्दै गरेका कुराहरू उठाएका छन् ।
नेपालमा पनि सुरुका मूर्तिहरू स्थूल रूपमा बन्ने र धार्मिक प्रेरणाको सङ्केत नपाइएका सन्दर्भहरू कलाविद्ले उल्लेख गर्ने गरेको छ । यस्ता मूर्तिहरू पाण्डु वा धूम्रवर्ण प्रस्तर (कठोर प्रस्तर) मा बनेका र मङ्गोलपना र बाटुलोपन रहेको उल्लेख गरेकाले गर्दा पनि वैशालीबाट लिच्छविहरू नेपाल पस्नुअघि नै नेपालमा यस्ता मूर्तिहरू बन्न थालेको थियो भन्ने प्रमाणमा बल मिल्छ ।
यसअघि भेटिएका धातुका टक र भाँडाकुँडालाई साक्षी राखेर प्राचीन नेपालमा पनि धातुसम्बन्धी प्रशस्त ज्ञान भएका प्रसङ्गहरू विद्वान्हरूले धेरै ठाउँमा उठाएका छन् । यही सन्दर्भमा नेपालमा प्राप्त भएका केही भद्दा खालका प्रस्तर मूर्तिहरू किरातकालीन मूर्ति हुन् भन्ने तर्क गर्ने गरेका छन् । यो सही पनि हो ।
डा. जगदीशचन्द्र रेग्मीले त नेपालको प्रस्तर मूर्तिकला किरातकालीन इसाको पाँचौं शताब्दीपूर्वसम्म पनि तान्न सकिन्छ भन्ने उल्लेख गरेका छन् । पछिका दिनहरूमा धेरै विद्वान्हरूले यसलाई पछिल्लो कालमा प्राप्त भएको मूर्ति, शिलालेख आदिबाट इसापूर्व पनि तान्ने प्रयास गरेका छन् ।
लैनसिंह वाङ्देलले नेपाल र छिमेकी उपमहाद्वीपमा कलाको दृष्टिले हेर्दा वैदिक देवीदेवताका वास्तविक प्रस्तर मूर्तिहरू कुँदिन थालेको त केवल इसापूर्व चौथो तेस्रो शताब्दीदेखि हो भनेका छन् । विशेष गरेर मल्लकालमा आएर जनजीवनका मूर्तिहरू बढी मात्रामा बन्न गएको देखिन्छ । प्रस्तरका मूर्तिहरूको ठाउँमा बिस्तारैबिस्तारै धातु मूर्तिहरू, काठका मूर्तिहरू पनि बन्दै गएको देखिन्छ ।
माटोका मूर्तिहरू अथवा मृत्तिका कलाबाट विकसित भएर माध्यमका रूपमा यस्ता अनेकौं माध्यमका मूर्तिहरू बन्न गएको देखिन्छ । यसैको विकसित रूपमा आज देखिने कलाहरू विशेष गरेर मूर्तिहरू माध्यममा मिक्स मेडियादेखि जङ्ङ्क आर्टसम्म पुगेका छन् । यो क्रम अझ बढ्दै गएको छ ।
प्रारम्भिक मूर्तिहरूमा धार्मिक भावना र तत्सम्बन्धी विचारहरूको सङ्केत पाइँदैन, भारतवर्षमा पनि बौद्ध र जैनका मूर्तिमा पनि यही सन्दर्भ लागू हुन्छ । यस बेला प्रतीकात्मक मूर्तिहरू बन्ने गरेको पाइन्छ । पछि मात्र धार्मिक मूर्तिहरू बन्न थालेका थिए । पछि समसामयिक कलाको सन्दर्भमा पनि धर्मको निर्देशनमा बन्ने गरेको मूर्तिहरू कलाकारले आ(आफ्नै विचारले बनाउन थालेपछि आधुनिक कलाको शुभारम्भ भएको मानिन्छ । यही कुरालाई पनि तत्कालीन अवस्थालाई स्रोतका रूपमा लिएको सन्दर्भ पनि चाखलाग्दो नै छ ।
नेपालमा पनि सुरुका मूर्तिहरू स्थूल रूपमा बन्ने र धार्मिक प्रेरणाको सङ्केत नपाइएका सन्दर्भहरू कलाविद्ले उल्लेख गर्ने गरेको छ । यस्ता मूर्तिहरू पाण्डु वा धूम्रवर्ण प्रस्तर (कठोर प्रस्तर) मा बनेका र मङ्गोलपना र बाटुलोपन रहेको उल्लेख गरेकाले गर्दा पनि वैशालीबाट लिच्छविहरू नेपाल पस्नुअघि नै नेपालमा यस्ता मूर्तिहरू बन्न थालेको थियो भन्ने प्रमाणमा बल मिल्छ ।
डा. रञ्जना वज्राचार्यको खोजपूर्ण लेखमा उल्लेख भएअनुसार कपिलवस्तुमा इ. १९६५ मा नेपाल पुरातत्त्व विभाग र इ. १९६६-६७ मा जापानको रिसो विश्वविद्यालय तथा १९७२-७३ मा पुनः नेपाल पुरातत्त्व विभागद्वारा उत्खनन कार्य गरी विभिन्न ऐतिहासिक पुरातात्त्विक महत्त्वका वस्तुहरू फेला परेका छन् ।
यसरी फेला पारेको पुरातात्विक वस्तुहरूको लामो सूची छ तर यहाँ मूर्ति र मूर्तिमा पनि मानव, पशुहरूको मूर्ति बनाउने सन्दर्भमा कुरा उठ्दा एउट महत्त्वपूर्ण दस्तावेज फेला परेको उनी प्रसङ्ग उठाउँछन् जुन यस प्रकार छ- यहाँ उत्खनन गर्दा छैटौं सातौं तह (Strata) मा इसापूर्व सातौं आठौँ शताब्दीमा प्रचलित खैरो रङका वर्तन (painted grey ware) त्यसपछि विकसित भएको कालो रङ (Black polish ware) फेला परेका थिए साथै माटामा मानव र पशुहरू, खेलौना, मुद्राहरू पाइएका छन् ।
ती मूर्तिका चारित्रिक गुण, लक्षण (पुष्ट छाती, झीनो कमर, कानमा कुण्डल, फुकेका नितम्ब, बाटिएका कपाल आदि) आसन प्रयोग भएका आयुधहरू, पहिरन, विविध प्रकारका चिल्ला खस्रा, रातो बलौटे प्रस्तरमा यस्ता मूर्ति बनाउने कुरा उल्लेख गरेको पाइन्छ । यसैबाट काल निर्धारण गर्ने गरिएको छ । तर मूर्तिकलाको क्रमबद्धताको इतिहास आजसम्म पनि लेखिन सकिएको छैन ।
(रञ्जना) तथ्यहरूले रङ, प्रस्तरका प्रकार र विषय आदिले गर्दा नेपालको मूर्तिकलाको प्राचीन कालखण्डलाई तान्न सकिन्छ तथा बीचबीचमा एकआपसमा मूर्तिका विशेषताहरू नमिल्दा वा विकासको कालक्रममा क्रमबद्धता नहुँदा र य विषयमा पर्याप्त सामग्री नपाइँदा भने यसलाई सिलसिलेवार भन्न सकिने अवस्था भने छैन ।
पाँचौं सदीका मानदेव प्रथमकै बेलामा चाँगुनाराणमा पाइएको शिलालेखका आधारमा यस बेलादेखिको राजनीतिक इतिहास लेख्ने क्रम सुरूभयो र सँगसँगै पार्श्वभागमा कलाका बारेमा पनि लेख्ने परम्परा रहेको हो। यस बेला प्राप्त भएका प्रस्तर मूर्ति, धातु मूर्ति आदिको चर्चा हुँदा यसलाई कुन राजा बेलामा वा कुन सन्दर्भमा यसको निर्माण भएको बाहेक कलाकै दृष्टिकोणले यसको क्रमबद्धताको इतिहास हालसम्म लेखिएको छैन ।
अहिले पनि यसल धर्मसँग गाँसिएर शैव, सनातन वा बौद्ध धर्म वा शाक्त धर्ममा आधारित भएर विष्णुका शिव वा गणेश वा दुर्गा, मातृकादेवी, गजलक्ष्मी आदिका मूर्तिहरूको चर्चा भएको पाइन्छ ।
ती मूर्तिका चारित्रिक गुण, लक्षण (पुष्ट छाती, झीनो कमर, कानमा कुण्डल, फुकेका नितम्ब, बाटिएका कपाल आदि) आसन प्रयोग भएका आयुधहरू, पहिरन, विविध प्रकारका चिल्ला खस्रा, रातो बलौटे प्रस्तरमा यस्ता मूर्ति बनाउने कुरा उल्लेख गरेको पाइन्छ । यसैबाट काल निर्धारण गर्ने गरिएको छ । तर मूर्तिकलाको क्रमबद्धताको इतिहास आजसम्म पनि लेखिन सकिएको छैन ।(मुकेश मल्लद्वारा लिखित् नेपाली समसामयिक मूर्तिकलाको ऐतिहासिक रुपरेखा नामक पुस्तकबाट साभार) ।