• शुक्रबार, १५ चैत, २०८१
  • ०५:५३:४२

चिसो बढेसँगै नेपालगञ्जका विद्यालय बन्द

बाँके। चिसोको कारणले नेपालगञ्जका सामुदायिक र निजी विद्यालयहरू तीन दिनका लागि बन्द गरिएका छन्। आज माघ ९ गतेदेखि माघ ११ गतेसम्म विद्यालयहरूलाई जाडो बिदा दिने निर्णय गरिएको हो।

नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले प्रतिकूल मौसमका कारण शीतकालीन बिदाबाट कटौती हुनेगरी यो बिदा व्यवस्था गरिएको जानकारी दिनुभयो।

शीतलहर र कठ्यांग्रिने जाडोका कारण विद्यालय सञ्चालनमा कठिनाइ भएको भन्दै अभिभावकहरूले पनि विद्यालय प्रशासन र स्थानीय निकायलाई बिदाका लागि अनुरोध गरेका थिए। विद्यार्थीहरूको स्वास्थ्यमा असर नपरोस् भन्ने उद्देश्यले यस निर्णय गरिएको उहाँले बताउनुभयो।

शीतलहरको प्रभावले स्थानीय जनजीवनमा पनि असर परेको छ। विशेष गरी बिहान र बेलुकीको समयमा चिसो झन् तीव्र भएकोले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो कदम उठाइएको हो।

यस निर्णयले अभिभावक र विद्यालय समुदायले राहत महसुस गरेका छन् भने विद्यार्थीहरूले घरमै बसेर चिसो मौसमबाट जोगिने अवसर पाएका छन्।