• शुक्रबार, १८ माघ, २०८१
  • ११:५१:२२

तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइने

तनहुँ । तनहुँ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु हुने भएको छ। यस अभियानमा जिल्लाभरिका १४ हजारभन्दा बढी छात्रा सहभागी हुनेछन्। दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने किशोरीहरूलाई एचपीभी खोप दिइने कार्यक्रम निर्धारित गरिएको छ।

स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार एचपीभी खोप अभियान माघ २२ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ। पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा खोप लगाइने छ। दोस्रो चरणमा माघ २७ देखि ३० गतेसम्म शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकामा खोप अभियान जारी रहनेछ।

अधिकारीका अनुसार, कक्षा ६ देखि १० सम्मका १४ हजार ७८ छात्रा र विद्यालय नजाने दुई सय किशोरीलाई एचपिभी खोप प्रदान गरिनेछ। यस अभियानमा भानु नगरपालिकामा एक हजार चार सय ९५, व्यास नगरपालिकामा तीन हजार आठ सय ५५, देवघाट गाउँपालिकामा छ सय ५७, बन्दीपुर गाउँपालिकामा नौ सय ३९, आँबुखैरेनी गाउँपालिकामा एक हजार दुई सय ३६, म्याग्दे गाउँपालिकामा सात सय ६६, शुक्लागण्डकी नगरपालिकामा दुई हजार सात सय ६, भिमाद नगरपालिकामा एक हजार दुई सय ७७, घिरिङ गाउँपालिकामा पाँच सय ८० र ऋषिङ गाउँपालिकामा सात सय ८७ छात्रालाई खोप दिइनेछ।

हरेक विद्यालयमा खोप केन्द्र स्थापना गरी कक्षा ६ देखि १० सम्मका छात्रा र १० देखि १४ वर्षसम्मका विद्यालय नजाने किशोरीलाई एचपिभी खोप लगाइनेछ। विद्यालय बाहिरका गाउँ, टोल र पिछडिएका समुदायलाई पनि खोप सेवा पुर्याउन थप खोप केन्द्र सञ्चालन गरिनेछ।

९ वर्ष अघि चितवन र कास्कीमा पनि एचपिभी खोप अभियान सञ्चालन गरिएको थियो। त्यसवेला कक्षा ६ का छात्रा र १० वर्ष उमेरका विद्यालय नजाने किशोरीलाई खोप दिइएको थियो। एचपिभी खोपको दुई मात्रा छ महिना फरकमा दिइन्छ।

रासस