३ इजरायली र ५ थाई बन्धकसँग एक हजार ९ सय प्यालेस्टिनी बन्दी आदानप्रदान हुने
- नेटिजन संवाददाता
- बिहीबार, १७ माघ, २०८१- १५:००:००/ Thursday 01-30-25
काठमाडौं । इजरायल र प्यालेस्टिनी इस्लामी समूह (हमास)ले गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत बिहीबार ३ इजरायली र ५ थाई बन्धकसँग तेस्रो पटक बन्धक/बन्दी आदानप्रदान गर्ने तयारी भएको छ ।
चौथो आदानप्रदान सप्ताहन्तका लागि तय गरिएको छ । हमासले बुधबार इजरायलले सहायता वितरण रोकेर सम्झौतालाई खतरामा पारेको आरोप लगाएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले बिहीबार रिहा हुने ३ जना इजरायली नागरिक अरबेल येहुद, अगम बर्जर र गादी मोसेसको पहिचान गरेको छ । बुधबार साँझ एक वक्तव्य जारी गर्दै मोसेस परिवारले ‘हाम्रा प्रिय गादीको पुनरागमनको अद्भुत खबर निकै उत्साहका साथ प्राप्त भएको’ जनाएको छ ।
जनवरी १९ मा लागु भएको युद्धविराम सम्झौता अनुसार सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा इजरायलबाट बन्धक बनाइएका व्यक्तिहरूको रिहाइका लागि बदलामा इजरायली हिरासतमा रहेका एक हजार ९ सय व्यक्ति (अधिकांश प्यालेस्टिनी) लाई रिहा गर्ने सहमति भएको छ ।
हमासले हालसम्म ७ जना इजरायली बन्धकलाई रिहा गरिसकेको छ भने बदलामा इजरायलले २९० जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ । ‘प्यालेस्टाइन प्रिजनर्स क्लब एड्भोकेसी ग्रुप’का अनुसार हमासले ३ जना इजरायलीलाई बिहीबार रिहा गर्दा बदलामा इजरायलले ११० जना प्यालेस्टिनी कैदीलाई रिहा गर्न लागेको हो ।
नेतन्याहूको कार्यालयले शनिबार हुने अर्को अदलाबदलीमा थप ३ जना इजरायली नागरिकलाई रिहा गरिने जनाएको छ । रासस /एएफपी ।