• बुधबार, २० चैत, २०८१
  • ०९:३४:३३

अन्तरिक्षयात्री बुच र सुनी अन्ततः ९ महिनापछि पृथ्वीमा फर्किए

काठमाडौं । ९ महिना अन्तरिक्षमा बिताएपछि, नासा अन्तरिक्षयात्री बुच विलमोर र सुनी विलियम्स अन्ततः पृथ्वीमा फर्किएका छन् ।

उहाँहरू सवार स्पेसएक्स क्याप्सुल फ्लोरिडाको तट नजिक समुद्रमा अवतरण गरेको थियो । पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि स्पेसएक्सको चारवटा प्यारासुट खुलेपछि समुन्द्र तटमा सकुशल अवरण गर्न सफल भएको हो । 

एक उद्धारक जहाजले उक्त क्याप्सुललाई पानीबाट उठाएर जमिनमा ल्याएपछि अन्तरिक्षयात्रीहरू मुस्कुराउँदै र हात हल्लाउँदै बाहिर निस्किएका थिए । उहाँहरूसँगै अन्तरिक्षयात्री निक हेग र रूसी अन्तरिक्षयात्री अलेक्सान्द्र गोर्बुनोभ पनि हुनुहुन्थ्यो ।

लामो समयसम्म तौलहीन अवस्थामै बिताएकाले उहाँहरूलाई स्ट्रेचरमा राखेर क्याप्सुलबाट बाहिर निकालिएको थियो । “अन्तरिक्षयात्रीहरू स्वस्थ अवस्थामा छन्,” नासाको कमर्शियल क्रु कार्यक्रमका प्रबन्धक स्टीव स्टिचले पत्रकार सम्मेलनमा भन्नुभयो- “आठ दिनका लागि गरिएको मिशन ९ महिनापछि अन्त्य भयो ।”

बुच र सुनीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) मा पुर्‍याउने क्याप्सुलमा प्राविधिक समस्या आएपछि उक्त मिशन लामो समयसम्म लम्बिएको थियो । पृथ्वीमा फर्कन उहाँहरूलाई १७ घण्टा लागेको थियो । उहाँहरूलाई चिकित्सकहरूले परीक्षण गरेपछि आफ्ना परिवारको जिम्मा लगाउनेछन् ।

बुच र सुनीको यात्रा जून २०२४ मा सुरु भएको थियो । उहाँहरू बोइङ कम्पनीले विकास गरेको स्टारलाइनर क्याप्सुलको पहिलो मानवयुक्त परीक्षण उडानमा सहभागी थिए । तर, क्याप्सुलमा प्राविधिक समस्या आएपछि अन्तरिक्ष स्टेशनबाट उहाँहरुलाई घर फर्कन नौ महिना समय लाग्यो ।

सेप्टेम्बरको सुरुमा बुच र सुनीले प्रयोग गरेको स्टारलाइनर खाली अवस्थामै पृथ्वी फर्किएपछि उहाँहरुलाई घर फर्कन नयाँ सवारीको आवश्यकता परेको थियो । त्यसपछि नासाले सेप्टेम्बरको अन्त्यमा आइएसएस पुगेको स्पेसएक्स क्याप्सुल प्रयोग गर्ने निर्णय गरेको हो ।

सो क्याप्सुलमा दुईजना मात्र अन्तरिक्षयात्री गएका थिए, जसले गर्दा बुच र सुनीको लागि दुई सिट खाली थियो । तर यसको मिशन छ महिनाको योजना गरिएको थियो, जसले उहाँहरूको बसाइ अझै लम्बियो ।

नासाका अन्तरिक्षयात्रीहरूले आफ्नो लामो समय अन्तरिक्षमा उत्साहपूर्वक बिताएको बताउनुभयो । उहाँहरूले कक्षमा विभिन्न प्रयोगहरू गर्नुका साथै स्पेसवाक (बाह्य सयर) पनि गरेको बताउनुभयो । सुनीले स्पेस स्टेसन बाहिर सबैभन्दा धेरै घण्टा बिताउने महिला अन्तरिक्षयात्रीको कीर्तिमान समेत बनाउनुभएको  छ । एजेन्सी।