सडक मार्ग खुलेको १४ वर्षपछि स्तरोन्नति
-
नेटिजन संवाददाता
- बुधबार, १३ चैत, २०८१- १२:०५:००/ Wednesday 03-26-25

काठमाडौं। म्याग्दीको मङ्गला गाउँपालिका–२ मा बाबियाचौर–काफलचौर–सल्ल्यान–भर्जुला सडक स्तरोन्नति भएको छ । विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर खोलेको यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरका वडा नं १ र २ का बस्ती जोडिन्छ ।
बेनी–दरवाङ सडकमा पर्ने भाइवाङ खोलाबाट सुरु हुने सडकको प्रवेशबिन्दुबाट काफलचौर हुँदै सल्ल्यान खण्डको सडक २ करोड १५ लाख रुपैयाँको लागतमा स्तरोन्नति भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताउनुभयो । बाटो स्तरोन्नति गर्न १४ वर्ष लागेको हो ।
सडकलाई वर्षाको पानीबाट जोगाउन निकासका निम्ति नाली, भूक्षय रोक्न टेवा र ग्यावियन पर्खाल निर्माण गरेर ५ सय ३८ मिटर ढलान गरिएको छ । भाइवाङखोलाको प्रवेशबिन्दुबाट एक सय १० मिटर सडक छ मिटर फराकिलो बनाएर ढलान पनि गरिएको छ ।
यसअघि भरजुला–थाइवाङ खण्ड गण्डकी प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत ३० लाख रुपैयाँ लागतमा स्तरोन्नति भएको थियो