• बुधबार, २० चैत, २०८१
  • ०९:२७:२१

जुस र जाम बन्ने खाद्यफल जङ्गलमै नास

काठमाडौं। गिठा, कन्दमूल, बेल, सिता फल, हलुवाबेद, चुत्रो, ऐँसेलु, मछाइनु, लेकाली कालो ऐँसेलु, काफल, डाले चुक, तिमिलो लगायतका जङ्गली खाद्य फलको उपयोग नहुँदा खेर जाने गरेका छन् । जङ्गली खाद्य फलबाट जाम, जेली र जुस बनाउन सकिने सम्भावना भए पनि उपयोग हुन सकेको छैन । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)को तथ्याङ्क अनुसार नेपालमा २५६ वटा जङ्गली खाद्य फल रहेका छन् । जङ्गली खाद्य फल पोषणका हिसाबले अत्यन्त महत्त्वपूर्ण रहेको नास्टका वैज्ञानिक डा. लोक रञ्जन भट्टले बताउनुभयो । 

उहाँले खोज अनुसन्धान गरेर लेख्नु भएको ‘नेपालका जङ्गली खाद्यफलहरु’ पुस्तकमा २५६ वटा जङ्गली खाद्य फलको विशेषता उल्लेख गरिएको छ । २५६ खाद्य फल मध्ये आधाभन्दा बढी सुदूरपश्चिम प्रदेशमा पाइने डा. भट्टले बताउनुभयो । यद्यपि जङ्गली खाद्य फलको उपयोग हुन सकेको छैन । 

नेपालमा जङ्गली खाद्य फलका बारेमा सन् १९७८ देखि गरिएका कामको समीक्षासमेत पुस्तकमा समेटिएको उहाँले जानकारी दिनुभयो । बन फलको विविधता, खाद्य र पोषण सुरक्षा, आय र रोजगारी सिर्जनामा पुर्‍याउन सक्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

२५६ वटा जङ्गली खाद्य फलका बिरुवाहरूको वैज्ञानिक नाम, स्थानीय नामहरू, संक्षिप्त बानस्पतिक विवरण, पारिस्थितिक, भौगोलिक वितरण, फूल फुल्ने र फल लाग्ने समय, उपयोग र पोषण सम्बन्धी जानकारी समावेश गरिएको छ ।

पोषण र खाद्य सुरक्षामा टेवा  

जङ्गली फलफूल मध्ये डाले चुक पोषणका हिसाबले अत्यन्तै उपयोगी रहेको बताइएको छ । डाले चुकमा भिटामिन र एन्टिकक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले यो फल पोषणका लागि वरदार भएको नास्टका वैज्ञानिक डा. लोक रञ्जन भट्टले बताउनुभयो । 

खाद्य सङ्कटका बेला जङ्गली खाद्य फल घँगारु, बेडु, तिमिलो खाएर छाक टारेको दशरथ चन्द नगरपालिका–६,का गोविन्दराज जोशीले अनुभव सुनाउनुभयो । उहाँले बुवा बाजेका पालमा मेलको रोटी खाएको स्मरण गर्नुभयो । 

पछिल्लो समय बढी उपभोग हुने जङ्गली खाद्य फल काफल हो । चैतदेखि वैशाखसम्म पाक्ने यो फल वन जङ्गलबाट टिपेर व्यापारसमेत हुने गरेको छ । काफलपछि किरमडा (चुत्रो), ऐँसेलु र लेकाली कालो ऐँसेलुको व्यापार नभए पनि गाउँघरमा उपभोग हुँदै आएको छ । 

यो बाहेकका कयौँ जङ्गली खाद्य फल वनमै खेर गइरहेको भूमिहीन र खाद्य अधिकारको अगुवाई गरिरहनु भएको अधिकारकर्मी नरीराम लोहारले बताउनुभयो । उहाँले सुदूरपश्चिमको बैतडी लगायतका पहाडी जिल्लामा पाइने जङ्गली खाद्य फलबाट जाम,जेली र जुस बन्न सक्ने सम्भावना भए पनि प्रविधि र सीप सिकाउने निकाय नभएको गुनासो गर्नुभयो । गोरखापत्रबाट।