• सोमबार, २२ बैशाख, २०८२
  • ०२:२०:५४

७३ वर्षीया परीक्षार्थी कक्षा १२ को परीक्षामा

काठमाडौं । माध्यमिक विद्यालय तहको कक्षा १२ को यस वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।

 आगामी २ जेठसम्म सञ्चालन हुने उक्त परीक्षामा देशभर एक हजार ५९० र जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जानकारी दिएको छ । सबैभन्दा बढी काठमाडौंमा १६२ र मनाङ–मुस्ताङ जिल्लामा एक–एक केन्द्र निर्धारण गरिएको छ । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी छन् ।

त्यसैगरी, आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले परीक्षाका लागि फर्म भरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । यसैबीच, काठमाडौं तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले परीक्षा दिनुभएको छ । उहाँ तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी हुनुहुन्छ ।

प्रवेशपत्रमा उहाँको जन्म ९ साउन २००९ मा उल्लेख छ । चार छोराछोरीका आमा तथा तीन जना नातिनातिनाका हजुरआमा खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय भर्ना भई नियमित पढाइ अगाडि बढाएकी हुन् । उहाँले एसईई परीक्षा भने गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयबाट उत्र्तीण गरेकी गर्नुभएको थियो । उहाँका श्रीमान् शिक्षक हुनुहुन्छ । रासस ।