• सोमबार, २२ बैशाख, २०८२
  • ०५:३४:२४

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

काठमाडौं ।सोमबार प्यालेस्टिनी क्षेत्रको उत्तरमा भएका २ वटा इजरायली हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको  गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ ।

गाजाको उत्तरपश्चिममा तीनवटा अपार्टमेन्टमा भएको इजरायली हमलामा १५ जनाको मृत्यु हुनुका साथै १० जना घाइते  भएको  एजेन्सीका प्रवक्ता महमुद बासलले बताउनुभएको छ । उहाँका अनुसार प्रभावित हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका थिए ।  

गाजा सहरको उत्तरमा रहेको बेत लाहियास्थित एक  घरमा भएको आक्रमणमा थप चार जनाको मृत्यु भएको चार जना घाइते भएको जनाइएको छ ।  

इजरायली सेनाले भने हमलाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । इजरायलले १८ मार्चमा प्यालेस्टिनी क्षेत्रमा आफ्नो आक्रमण पुनः सुरु गरेदेखि गाजा पट्टीमा निरन्तर हमला गरिरहेको छ ।

इजरायलले मार्च २ देखि सबै क्षेत्रमा सहायता प्रवेश अवरुद्ध गरेको थियो । इजरायलले नाकाबन्दी र विस्फोट गाजाका बन्धकहरूलाई रिहा गर्न हमासलाई दबाब दिने उद्देश्यले भएको बताइएकोे छ ।

सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणमा अपहरण गरिएका ५८ जना बन्धकहरू अझै पनि  बन्धक जीवन विताइरहेका छन् । बन्धकमध्ये ३४ जनाको मृत्यु भएको सेनाले जनाएको छ । 

एएफपीका अनुसार हमासको आक्रमणमा अधिकांश नागरिकसहित इजरायली पक्षका एक हजार २१८ जनाको मृत्यु भएको थियो । इजरायली सेनाको जवाफी कारबाहीमा गाजामा कम्तीमा ५२ हजार ५३५ जनाको मृत्यु भएको हमासद्वारा नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस/एएफपी।