• बिहीबार, २५ बैशाख, २०८२
  • ०१:०३:१६

बर्सिम घाँसको बीउबाट आम्दानी गर्दै दाङका किसान

काठमाडौं । घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेका छन्। कात्तिकदेखि वैशाखसम्म हरियो घाँस काटेर भैँसी र भेडालाई खुवाउने र बीउ बिक्री पनि गरिरहेको उहाँले बताउनुभयो । दुई वटा दुहुना भैँसी र आठ वटा भेडा पालेका छन्।  

गत वर्ष २ लाख रुपैयाँ बराबरको घाँसको बीउ बिक्री गरेका थिए। यस वर्ष पनि प्रशस्त दाना लागेको भन्दै गत वर्षभन्दा बढी आम्दानी हुने उहाँको विश्वास छ। “बर्सिम घाँस खेतमा छर्न थालेपछि हिउँदको समयमा घाँस खोज्न जान परेको छैन, समयको बचत भएको छ। हरियो हुँदा घाँस खुवाउन पनि पाइने र त्यसको दानालाई बीउका रूपमा बिक्री हुन्छ,” उहाँले भन्नुभयो । दाङका किसानले घाँसको बीउ बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन्।

घोराही–६ का प्रेम चौधरीले तीन वटा भैँसी, एउटा गाई र ६ वटा बाख्रा पालेका छन्। “१९ कट्ठा खेतमा बर्सिम घाँस छरेको छु, वस्तुभाउलाई घाँस खुवाउन सहज भएसँगै पशुपालन सजिलो भएको छ। हिउँदमा हरियो घाँस खाएर भैँसीले दूध पनि बढाएका छन्,” उहाँले भन्नुभयो ।

घरमा बीउ उत्पादन गरेर बर्सेनि घाँसखेती गर्ने गरिरहेको भन्दै प्रेमले घाँसका लागि पशुपालक किसानको घाँसखेतीमा आकर्षण बढेको जानकारी दिनुभयो । “वर्षात्को समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ।

घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ, कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन्,” उहाँले भन्नुभयो । गत वर्ष ९० हजारको घाँसको बिउ बिक्री गरेको जनाउँदै प्रेमले यस वर्ष १ लाख रुपैयाँभन्दा बढीमा बिक्री हुने अनुमान गरेको बताउनुभयो । 

घोराही–५, ६, ७, ८ र १७ का कृषकले १५ कट्ठादेखि २५ कट्ठासम्ममा घाँसखेती गरेका घाँस बीउ उत्पादक संघले जनाएको छ। अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको सङ्घका सचिव विमल अधिकारीले जानकारी दिनुभयो । 

घोराही–६ को गुरुवागाउँ, गुरगै, जजरागाउँ, बेरुवागाउँ, बेरगै, फचकपुर र अघरा तथा घोराही–१७ को कर्जाही र गैरागाउँका किसानले विगत १० वर्षदेखि बर्सिम घाँसखेती गरिरहेका उहाँले जानकारी दिनुभयो । 

“यसलाई ‘ग्रिनगोल्ड’का नामले पनि चिनिन्छ। यो खेती गर्ने किसानलाई दोहोरोतेहोरो फाइदा हुन्छ। हरियोमा घाँस खुवाउन पाइने, सुकेको डाँठ पनि खुवाउन पाइने र दाना पनि बिक्री गरेर नगद आम्दानी गर्न पाइने भएपछि दाङका सबैजसो पालिकाका किसानले यो घाँसखेती गर्न थालेका छन्,” अधिकारीले भन्नुभयो । 

गत वर्ष घाँसको दाना बिक्री गरेर किसानले २ लाख ९० हजारदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गरेका छन्। यो घाँस खाएका पशुले दूध उत्पादन बढाउने गरेकाले अत्यन्तै लाभकारी भएको अधिकारीले बताउनुभयो । रासस।