• बिहीबार, २५ बैशाख, २०८२
  • १०:५८:०४

४८० घरधुरी ३ महिनादेखि अन्धकारमा बस्न बाध्य

काठमाडौं। जुम्लाको गुठीचौर गाउँपालिका-१ का ४८० घरधुरी ३ महिनादेखि विद्युत्‌विहीन भएका छन् । यस वडामा रहेको अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा समस्या भएको स्थानीय परेक ऐडीले जानकारी दिनुभयो ।

गत फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प भएको छ तर मर्मतका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ ।

बिजुली अभावले बालबालिकाको पठनपाठन, मोबाइल चार्ज, कुटानी-पिसानी मिल र स्थानीय फर्निचर उद्योगलगायतमा असर परेको स्थानीय गणेश ऐडीले बताउनुभयो ।

आयोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण जेनरेटर र ट्रान्समिटर मर्मत गर्न नसकिएको बताउनुभयो । गुठीचौर गाउँपालिका-१ का वडाध्यक्ष अर्जुनकुमार महताराले मर्मतका लागि स्थानीय सरकारले तीन लाख रुपैयाँ विनियोजन गरिएको र आवश्यक परे थप बजेटको व्यवस्थापन गरिने बताउनुभयो । अब चाँडै विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम हुने उहाँको भनाइ छ ।रासस।