• सोमबार, १९ जेठ, २०८२
  • ०८:१६:३६

नाच्न हुरुक्कै मेचे  

काठमाडौं ।  आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचीकृत ५९ जातिमध्ये लोपोन्मुख समूहमा मेचे जाति रहेको छ । प्रतिष्ठानले कुसुन्डा, वनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुशवाडिया जातिलाई लोपोन्मुख समूहमा राखेको छ ।

राष्ट्रिय जनगणना, २०६८ अनुसार मेचे जातिको जनसङ्ख्या चार हजार ८६७ थियो । २०७८ सालको जनगणनाले मेचेको जनसङ्ख्या पाँच हजार १९५ पुगेको देखाएको छ । जसमा मेचे पुरुष दुई हजार ४४१ र महिलाको दुई हजार ७५२ जनसङ्ख्या रहेको देखिन्छ । 

 मेची नदीको किनारका चारकोसे झाडी आसपास घुमन्ते जीवन बिताउँदै झापामा स्थायी बसोबास थालेका हुन् मेचेले । त्यसपछि उनीहरूको जनजीवन, संस्कृति, खानपान, दैनिकीमा सुधार आएको देखिन्छ । कृषिलाई मुख्य पेसा बनाएका मेचे शिकार खेल्न, माछा मार्न विशेष रुचि राख्छन् । मेचे महिलाले तान बुन्ने, धागो काट्ने र डोखना (छातीदेखि पिडौलासम्म छोप्ने लुगा) बनाउँछन् । 

 

मेचे जातिको भाषा संरक्षणमा केही काम भएका छन् । झापाको हल्दीबारी गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मै बजेट व्यवस्था गरी पाठ्यक्रम बनाई दीपेन्द्र प्राथमिक विद्यालयमा मेचे भाषाको पठनपाठन सुरु गरेको छ  । 

को हुन् मेचे ?

यो प्रश्नले चित्तबुझ्दो जवाफ पाउन सकेको छैन । भुटान, भारत र नेपालमा मेचे संस्कृति मिल्दाजुल्दा बासिन्दा छन् । नेपालमै पनि धिमाल र मेचेको संस्कृतिका धेरै पक्ष मिल्ने अनुसन्धानकर्ता बताइरहेका छन् । त्यसैले मेची, कनकाई जस्ता नदीनाला तथा ठाउँका नाममा मेचे जातिको भाषिक प्रभावको कोणबाट समेत यस जातिको अध्ययन हुन आवश्यक छ ।

त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय शैक्षिक योजना तथा व्यवस्थापन विभाग अन्तर्गत स्नातकोत्तर तह दोस्रो वर्षको आंशिक आवश्यकता पूरा गर्नका लागि तयार पारिएको नर्वदा अधिकारीको सोधले यसबारे केही खोज गरेको पाइन्छ । उनले ‘मेचे जातिका बालबालिकाको प्राथमिक शिक्षामा सहभागिता’ विषयक शोध (२०७२) मा “नेपालको पूर्वी सिमानास्थित मेची अञ्चलको झापा जिल्लाका विभिन्न नगरपालिका र गाउँ विकास समितिमा धेरै सङ्ख्यामा मेचे जातिका मानिस बसोबास गर्दछन् ।” भनिएको छ । 

अनुसन्धानकर्ता नर्वदा अधिकारीका अनुसार यो जातिले भारत तथा बङ्गलादेशमा बोडो र कछाडीको नामले त्रिपुरा, ब्रह्मपुत्रको उत्तरी भाग, उत्तरी बङ्गाल आदि क्षेत्रसम्म फैलिएर बसोबास गरिरहेको छ । 

एफबी ह्यामिल्टनको ‘एन एकाउन्ट अफ दी किङ्डम अफ नेपाल’ पुस्तकमा “नेपालको पूर्वी क्षेत्र अर्थात् विजयपुर राज्यको पूर्वी भागमा मेचे समुदायको बसोबास थियो ।” भनेर लेखिएको छ । त्यस्तै अनुसन्धानकर्ता ए. क्याम्पवेलले सन् १८३९ मा मेचे जातिका बारेमा “आसामको ब्रह्मपुत्र नदीदेखि नेपालको कनकाई नदीसम्म मेचे जातिको बसोबास फैलिएको थियो ।” भनेर लेखेको पाइन्छ । 

बिएच हड्सनले सन् १८४६ मा आसामको गोवालापाडा जिल्लादेखि नेपालको अलिगन्ज (जो मोरङमा पर्दथ्यो) भन्ने ठाउँका सबै जातिका बारेमा अध्ययन गरेको देखिन्छ । उनले “बोडो जाति २५० देखि २७० उत्तरी देशान्तर र ८८० देखि ९३० पूर्वी अक्षांशसम्म फैलिएका छन् ।” भनी उल्लेख गरेको पाइन्छ ।

मेचे जाति कहाँबाट आए भन्ने सन्दर्भमा नर्वदा अधिकारीले आफ्नो शोधमा मेचे जातिमा प्रचलित जनश्रुति समेटेकी छन् । शोधमा यसरी भनिएको छ, उनीहरू चीनबाट हिमाल पार गर्दै पहाडै पहाड भारतको मेघालय राज्यमा रहेको खसिया जयन्तिया पहाडमा पुगे । जयन्तिया राजाहरूसँग उनीहरूको घमासान लडाइँ भयो । त्यो युद्धमा विजयपछि उनीहरू विजित ठाउँमा राज्य जमाउँदै स्थायी बसोबास थालनी गरे । 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको वेबसाइटमा राखिएको जानकारी अनुसार नेपालका मेचे जातिलाई भारतको पश्चिम बङ्गालमा शव, आसाममा बोडो र बङ्गलादेशमा कछाडी भनेर चिनिन्छ । बसोबासका हिसाबले झापा, मोरङ, सप्तरी, सुनसरी जिल्लामा मेचेको बसोबास पाइन्छ । मेचे जातिको बसोबास त्रिपुरा ब्रह्म्पुत्र नदी र धनक्षी नदीको उत्तरदक्षिण भाग भारतको सिक्किम, पश्चिम बङ्गाल, आसाम तथा भुटान र बङ्गलादेशमा रहेको छ । 

झापाको पूर्वी तथा दक्षिणी क्षेत्र जलथल, धाइजन, बाहुनडाँगी, भद्रपुर नगरपालिकाको चकचकी दुवागडी, घेराबारी, बनियानी, पृथ्वीनगर, शनिश्चरे, शान्तिनगर, शरणामती, गोलधाप, अनारमनी, चन्द्रगढी, चारपाने, लखनपुर, ज्यामिरगडी, कुमारखोट, महेशपुर, मेची नगरपालिकाको थपरिया, सुनसरी जिल्लाको बादगाउँ सिनाबारी, सप्तरी जिल्लाको त्रिकोवा र जगतपुर गाउँपालिका, सुनसरीको जझुलिया, मोरङको उर्लाबारी, काठमाडौँको जोरपाटी क्षेत्रमा बसोबास रहेको छ ।    

नयाँ साल वा वैशाख महिनामा आफ्नो घरको बाठौँ थानमा पूजा गर्छन् । उनीहरूमा कुलदेवता पूजा, खिदाई पूजा (मेचे जातिका सम्पन्न परिवारले यो पूजा गर्छन्), नाउन पूजा (कुल पूजा), बिन्दुसरी पूजा, आई पूजा (माता वा आमा देवीको पूजा) गर्ने चलन छ । तिहारको लक्ष्मीपूजाको दिन मेचे जातिमा लक्ष्मी सेवा वा लखी पूजा गर्ने चलन छ । 

 

मेचेको भाषा, संस्कृति, वेशभूषा भए पनि लिपि पत्ता लागेको पाइन्न । थेप्चो नाक, पातला दाह्रीजुङ्गा, बाटुलो मुहार, बलियो शरीर, मध्यम कदका मेचेको पूर्वी नेपालको तराई क्षेत्रमा घुमफिर गर्दै लामो समयदेखि बसोबास गरेको पाइन्छ । 

मेची नदीको किनारका चारकोसे झाडी आसपास घुमन्ते जीवन बिताउँदै झापामा स्थायी बसोबास थालेका हुन् मेचेले । त्यसपछि उनीहरूको जनजीवन, संस्कृति, खानपान, दैनिकीमा सुधार आएको देखिन्छ । कृषिलाई मुख्य पेसा बनाएका मेचे शिकार खेल्न, माछा मार्न विशेष रुचि राख्छन् । मेचे महिलाले तान बुन्ने, धागो काट्ने र डोखना (छातीदेखि पिडौलासम्म छोप्ने लुगा) बनाउँछन् ।  

पर्व, धर्म, संस्कृति

मुख्य रूपमा प्रकृतिपूजक मेचेले हिन्दु प्रभावमा यस धर्म सम्बन्धित कतिपय चाडपर्व अँगालेको देखिन्छ । दशैँ, तिहार, शिवरात्रि जस्ता चाडपर्वमा उनीहरू खुबै रमाउँछन् । मेचे जातिको आँगनमा भगवान् शिवको प्रतीकका रूपमा बाठौँको थान रहन्छ । थानमा सिउँडीको बोट रोपिएको र त्रिशूल गाडिएको हुन्छ । 

रुख र नदीलाई दैवी शक्तिका रूपमा पुज्ने मेचेले देउतालाई ‘मदाई’ र पुरोहितलाई ‘रोजा’ भन्छन् । उनीहरू नोनी मदाई (घर देवता), दइनी मदाई (नदी देवता) र गामिननी मदाई (गाउँका देवताहरू) मुख्य रूपमा मान्छन् । मेचे जातिमा उब्जाएको अन्न पुर्खाको नाममा चढाएर मात्र खाने चलन छ । यसलाई उनीहरू बाउग्रा भन्छन् । 

नयाँ साल वा वैशाख महिनामा आफ्नो घरको बाठौँ थानमा पूजा गर्छन् । उनीहरूमा कुलदेवता पूजा, खिदाई पूजा (मेचे जातिका सम्पन्न परिवारले यो पूजा गर्छन्), नाउन पूजा (कुल पूजा), बिन्दुसरी पूजा, आई पूजा (माता वा आमा देवीको पूजा) गर्ने चलन छ । तिहारको लक्ष्मीपूजाको दिन मेचे जातिमा लक्ष्मी सेवा वा लखी पूजा गर्ने चलन छ । 

भूतप्रेत, पिचास, बोक्सीलगायत दैवी प्रकोप नहोस् भनेर वैशाख महिनामा सामूहिक रूपमा ग्राम देवताको पूजा गर्ने परम्परा मेचे जातिमा छ । हरेक वर्ष खेतीपातीको काम सुरु गर्नुअघि जेठ १५ पछि भूमि चोख्याउने भूमि पूजा ‘आमति’ गरिन्छ ।

हिन्दु संस्कृतिको प्रभाव पाइने मेचेका मौलिक चाडपर्व पनि छन् । उनीहरू नयाँ वर्षको स्वागत गर्दै ‘वैशागुर बच्छर’ धुमधामसाथ मनाउँछन् । फागुपूर्णिमामा रङ खेल्दै ढोल बजाएर खुबै रमाइलो गर्ने मेचेले ढोल पर्वका रूपमा यसलाई मनाउँछन् । 

अन्य जनजाति समूह जस्तै मेचेमा पनि आफ्नै खाले न्यायिक प्रणाली छ । गाउँको झैँझगडा मिलाउन गाउँबुढाका रूपमा ‘माखाल’ चुन्ने गर्छन् । माखाल हुन आर्थिक रूपमा सम्पन्न हुनुपर्ने हुन्छ । 

प्रज्ञान जर्नलमा छापिएको (२०७७) इन्द्रकला भण्डारीको ‘मेचे जातिको परिचयात्मक अध्ययन’ लेखमा “मेचे समुदायमा गाउँको रेखदेखका लागि वा उनीहरूको समाजको विभिन्न अप्ठ्यारालाई समाधान गर्न प्रत्येक गाउँमा गाउँबुढो हुन्छ,” भनिएको छ । 

उनले लेखेका छन्, “मेचे समुदायमा आफ्नै समाजलाई सञ्चालन, संरक्षण एवं समुन्नत बनाउँदै लैजानका लागि प्रत्येक गाउँमा मुखिया रहने परिपाटी पाइन्छ । गाउँ सञ्चालन गर्ने मुख्य व्यक्तिलाई यिनीहरू माखल वा माखलागिरी अर्थात् गाउँबुढो भन्छन् । यो समुदायमा सबैभन्दा प्रतिष्ठित व्यक्ति माखल नै हो । गाउँको हर्ताकर्ता वा मुली भएर काम गर्ने माखल गाउँ गाउँमा नै छनोट हुने परम्परा रहेको छ ।”  

मेचेको संस्कृतिमा वन र वनस्पतिको महत्वपूर्ण स्थान छ । मङ्गल मेचे र विशुलाल मेचेले ‘हाम्रो वनसम्पदा’ (वर्ष १८ अङ्क २ मङ्सिर २०७९) मा लेखेका छन्, “यो कुरा मेचेको घरआँगनको अवलोकन गर्ने जोकोहीले अनुभव गर्न सक्छन् । मेचेको प्रत्येक घरमा सिउँडीको बोट रोपी त्यसको पूजा गर्ने चलन छ ।” 

  

उनका अनुसार सामान्यतः वर्षमा एक पटक सबैले माखललाई मान्न जाने चलनसमेत रहेको छ । माखल मान्न जाँदा उपहार वा भेटीस्वरूप यथाशक्य जाँड, रक्सी, कुखुरा, चामल लिएर जाने परम्परा पाइन्छ । साथै गाउँका सबै मानिसलाई माखलगिरीले भोज खुवाउने प्रचलन छ ।

इन्द्रकलाले आफ्नो अनुसन्धान लेखमा मेचे जातिको बसोबास भारतको पश्चिम बङ्गाल, सिक्किम, आसाम र भुटानमा रहेको उल्लेख गरेका छन् । उनले निष्कर्षमा लेखेका छन्, “यिनीहरूलाई भारतको पश्चिममा शैव र आसाममा बाठो भनिन्छ । नेपालमा पनि यस जातिलाई बोडो भन्ने परम्परा छ । त्यसैले यो जाति पनि भारतको सिक्किम, आसामबाट नेपालमा प्रवेश गरेको अनुमान गर्न सकिन्छ ।”

वेशभूषामा रमाउने

मेचे जातिको आफ्नै वेशभूषा, गरगहना र संस्कृति छन् । तराई क्षेत्रमा बस्ने मेचे जातिको वेशभूषा, गरगहना र संस्कृतिमा मधेश प्रभाव पाइन्छ । परम्परागत घरबुना कपडा लगाउने मेचे जातिका महिला अहिले बजारकै कपडामा रमाउन थालेका छन् । मेचे बस्तीमा परम्परागत तान प्रायः लोप नै भएको छ । उनीहरूको घरबुना सीप र प्रविधिको संरक्षणका लागि सरकारी तथा गैरसरकारी प्रयास नभएको होइन । 

केही केही स्थानमा कपडा बुन्ने तान राखेको पनि पाइन्छ । उनीहरूले बजारमा पाइने धागो राखेर तान चलाउँछन् । मेचे जातिले परम्परागत रूपमा धोती, कछाड, फालीखाँ, कन्दनी, लन्ठी, गन्जी, बछुला, आस्कोट, खास्टो, डोखना, खरुवा लगाउने गर्छन् । इन्द्रकला भण्डारीका अनुसार मेचे महिलाले औँठी इन्थी, नखाफल, गुन्दुङ्कइन्थी, शिरबोन, चन्द्रोहार, गोटामाला, बिछामाला, कुचिया, टाकाआछान, अछानझरी, बासमतारी, साखो, बाउठी, खली जस्ता परम्परागत पोशाक एवं गरगहना लगाउँछन् ।

जन्म, विवाह, मृत्यु संस्कार

जन्मेको तिथि र बारबाट नाम राख्ने परम्परागत चलन मेचे जातिमा छ । शिशु जन्मेपछि खासै केही विधि गरिन्न । तथापि कपाल भएको शिशु जन्मिएमा हजामले कपाल काट्नुपर्ने चलन छ । मेचे जातिमा दुलही किन्ने परम्परा छ । तथापि यस्तो रीतिमा रकमको कुनै सीमा र बाध्यता चाहिँ छैन । मन पराएको केटीलाई केटाले रुपियाँ पठाउनु पर्छ ।

त्यो रकम फिर्ता नआएमा केटाको प्रस्ताव केटी पक्षले स्वीकार गरिएको ठानिन्छ तर विधवा विवाह गर्दा यस्तो रकम पठाउनु आवश्यक हुन्न । त्यसैले पनि मेचे जातिमा विधवा विवाह सहजै हुने गर्दछ । 

मेचे जातिमा शव गाड्ने परम्परा रहेको भए पनि अहिले जलाउने समेत गर्छन् । जति भाइ छोरा भए पनि बाबुआमाको मृत्युमा एक जना मात्र किरिया बसे हुन्छ । मृत शरीर जले पनि मुटु जल्दैन भन्ने विश्वास यो जातिमा रहेको छ । 

जलाएर शरीरको जे अङ्ग बाँकी रहे पनि त्यसलाई मैखुम (अस्तु) मानेर पानीले धोइपखाली गरी तेल लगाउने गर्छन् । सबै मलामीले खाल्डो खनी त्यस अस्तुलाई पुर्दछन् । जुठो चोखिने दिन मैखुम गाडेको स्थानमा रक्सी चढाउने गरिन्छ । 

मेचे र वनस्पति 

मेचेको संस्कृतिमा वन र वनस्पतिको महत्वपूर्ण स्थान छ । मङ्गल मेचे र विशुलाल मेचेले ‘हाम्रो वनसम्पदा’ (वर्ष १८ अङ्क २ मङ्सिर २०७९) मा लेखेका छन्, “यो कुरा मेचेको घरआँगनको अवलोकन गर्ने जोकोहीले अनुभव गर्न सक्छन् । मेचेको प्रत्येक घरमा सिउँडीको बोट रोपी त्यसको पूजा गर्ने चलन छ ।”    

नयाँ वर्षका बेला विशेष रूपमा मनाउने वैशाखु (वैशागु) बथरमा आफ्नो वेशभूषामा सजिएर नाच्न रुचाउँछन् । उनीहरू यसलाई वैशाखु नाच पनि भन्छन् । यो नाचले मेचे जातिको सांस्कृतिक एकता प्रदर्शनसमेत गर्दछ । वैशाख ३ गते वैशाखु मनाउने गरिएको छ । सो दिन झापा जिल्लाको हल्दीबारी गाउँपालिकाले सार्वजनिक बिदा दिने गरेको छ ।

 

सिउँडीलाई मेचे जातिको कुलदेवीका रूपमा पूजा गर्ने चलन छ । मेचेहरूको घरका देउता (ननीमोदाई), खोलाका देउता (दैनीमोदाई) र गाउँका देउताको (गामिनायनीमोदाई) तीन खालका देउता पुज्ने चलन रहेको छ । गाउँ र जमिनको रक्षाका लागि शिवको पनि पूजा गर्छन् । शिवको पूजा गर्दा बेलपत्र चढाउने चलन रहेको छ । त्यस्तै तिहारमा लाखी पूजा गर्ने चलन छ भने धान रोप्ने बेलामा मैजागोई पूजा गर्छन् । 

मेचेको घरआँगनमा तुलसी रोप्ने चलन छ । वरपिपल (डोप) लाई भगवान् विष्णु र लक्ष्मीको अवतार मान्ने मेचे खासमा प्रकृतिपूजक नै मान्न सकिन्छ ।

नाच्न गाउन हुरुक्कै

जनजाति समुदायमा मेला, पर्व, नाचगान भनेपछि खुबै रमाउँछन् । त्यसमा पनि मेचे जाति नाचगान भनेपछि हुरुक्कै हुन्छन् । काँधमा गलबन्दी (गाल्पा), आङमा स्टकोट (गाम्चा) र कम्मरमा धोती (धुती) बेरेर मादल ठोक्न मेचे पुरुष तम्सिहाल्छन् ।

मादलको धुन घन्किएपछि मेचे महिला नाच्न तम्सन्छन् । आङदेखि पिडौँलासम्म ढाक्ने गरी दोखना लगाएर मेचे महिला नाचेपछि नझुम्मिने को होला ? गलामा चन्द्रहार, हातमा चुरा वा आछान्न, कानमा इन्थी, नाकमा नाखापाल लगाएर उभिएपछि मेचे महिला र धिमाल महिला छुट्याउनसमेत कठिनै हुन्छ । 

उनीहरूले नयाँ वर्षका बेला विशेष रूपमा मनाउने वैशाखु (वैशागु) बथरमा आफ्नो वेशभूषामा सजिएर नाच्न रुचाउँछन् । उनीहरू यसलाई वैशाखु नाच पनि भन्छन् । यो नाचले मेचे जातिको सांस्कृतिक एकता प्रदर्शनसमेत गर्दछ । वैशाख ३ गते वैशाखु मनाउने गरिएको छ । सो दिन झापा जिल्लाको हल्दीबारी गाउँपालिकाले सार्वजनिक बिदा दिने गरेको छ । उनीहरूको नृत्यशैली र संरचना अन्य लोकनाचभन्दा पृथक् छन् । कम्मरमा फुर्लङ र हातमा ढडिया लिएर कर्म, जनजीवन र प्रकृतिका गीत यसरी गाउँछन्–

ठाइडिठ बिबाराब बारा खै  

आङनी खाफालाव गेवा खै । युवामञ्चबाट ।