• बुधबार, २३ माघ, २०८१
  • ११:३३:५३

फोनमा इन्टरनेट नचल्ने समस्या छ ? यसो गर्नुस।

काठमाडौं। कहिलेकाहीँ मोबाइलमा इन्टरनेट नचल्दा निकै झन्झटिलो महसुस हुन्छ। धेरैजसो समस्या इन्टरनेट सेवाप्रदायकबाटै आउने सोच हुन्छ, तर प्रयोगकर्ताको सानो गल्तीले पनि यस्तो समस्या निम्तिन सक्छ। यदि तपाईंको इन्टरनेटको म्याद बाँकी छ तर इन्टरनेट चलिरहेको छैन भने, तलका उपायहरू अपनाएर समाधान गर्न सक्नुहुन्छ।

१. फोनलाई रिस्टार्ट गर्नुहोस्

फोन रिस्टार्ट गर्नु इन्टरनेट समस्याको सामान्य तर प्रभावकारी समाधान हो। कहिलेकाहीँ अस्थायी नेटवर्क समस्याहरू रिस्टार्ट गर्दा हट्छन्। यसो गर्न मन नभए एयरप्लेन मोड अन/अफ गरेर पनि समाधान खोज्न सक्नुहुन्छ।

२. फोन र एपलाई अपडेट गर्नुहोस्

फोनमा सफ्टवेयर अपडेट उपलब्ध छ भने तुरुन्तै अपडेट गर्नुहोस्। नयाँ अपडेटहरूले पुराना बगहरू समाधान गर्छन् र नयाँ फिचर थप्छन्। यस्तै, एप्स पनि नियमित अपडेट गर्नु महत्वपूर्ण छ, किनकि पुराना संस्करणले कहिलेकाहीँ इन्टरनेट समस्याहरू निम्त्याउन सक्छ।

३. क्याश डेटा क्लियर गर्नुहोस्

लामो समयदेखि सफा नगरेको क्याश डेटा मोबाइलको कार्यक्षमता घटाउने प्रमुख कारण हो। यसले इन्टरनेट गति समेत कम गराउँछ। त्यसैले, नियमित रूपमा ब्राउजर र एपको क्याश डिलिट गर्नुपर्छ। ब्याकग्राउन्डमा धेरै एप खोल्नाले पनि इन्टरनेट स्लो हुने भएकाले आवश्यक नभएका ट्याब र एपहरू बन्द गर्नु उपयुक्त हुन्छ।

४. डेटा युसेज र ब्याकग्राउन्ड एपलाई जाँच गर्नुहोस्

धेरै एपले डेटा प्रयोग गर्दा इन्टरनेटको गति घट्छ। सेटिङमा गएर कुन एपले कति डेटा खपत गरिरहेको छ भनेर जाँच गर्न सकिन्छ। आवश्यक भएमा ब्याकग्राउन्ड डेटा प्रयोग सीमित गर्न सक्नुहुन्छ, जसले इन्टरनेटलाई प्राथमिक एपका लागि सुरक्षित राख्न सहयोग पुर्याउँछ।

५. नेटवर्क सेटिङ रिसेट गर्नुहोस्

यदि माथिका सबै उपायहरू असफल भए भने, अन्तिम विकल्पको रूपमा नेटवर्क सेटिङ रिसेट गर्न सक्नुहुन्छ। यसले मोबाइलमा भएका सबै नेटवर्क सेटिङलाई सुरुको अवस्थामा पुर्याउँछ। यसको लागि सेटिङ्स > सिस्टम > रिसेट नेटवर्क सेटिङ्समा जानुहोस्। यसो गर्दा, पहिला कनेक्ट गरिएका वाई-फाई र ब्लुटुथ कनेक्शनहरू डिलिट हुन्छन् भन्ने कुरा याद गर्नुहोस्।

मोबाइलमा इन्टरनेट समस्या आउँदा यी सरल उपायहरूले सजिलै समाधान ल्याउन सक्छन। समस्या अझै समाधान नभएमा इन्टरनेट प्रदायकसँग सम्पर्क गर्नुहोस्।