• मंगलबार, १० असार, २०८२
  • ०१:५१:२७

आइकम नेपालको आठौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । संग्रहालयकर्मीको पेशागत संस्था अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद् ( आइकम) को  नेपाल समिति आइकम नेपाल राष्ट्रिय समितिको आठौं वार्षिक साधारण सभा यही असार ६ गते काठमाडौँमा सम्पन्न भएको छ। उक्त वार्षिक साधारण सभाले संस्थाको लेखा परीक्षण प्रतिवेदन तथा अध्यक्षले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन पारित गरेको छ। 

अध्यक्ष रमेशप्रसाद दवाडीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षमा अन्तर्राष्ट्रिय संग्रहालय दिवस मनाउने, संग्रहालय सम्बन्धीको सचेतना तथा पैरवी कार्यक्रमलाई विस्तार गर्ने, संग्रहालयको अन्तर्राष्ट्रिय परिभाषालाई नेपालीमा अनुवाद गर्ने लगायतका कामहरु सम्पन्न गरेको छ। त्यसैगरी संस्थाले आइकम नेपालको आगामी १० वर्षका लागि कार्य योजनाको खाका तयार पारेको र उक्त खाकालाई व्यापक छलफल गरी सुझाव समेत संकलन गरेर कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। 

संस्थाले सङ्ग्रहालयको विकास र सचेतना सम्बन्धीको कार्यक्रमलाई विस्तार गर्नका लागि निजी क्षेत्रसँगको साझेदारीलाई विस्तार गर्ने कार्यको थालनी भएको बताएको छ। यस अन्तर्गत एनसेलसँगको सहकार्यमा संग्रहालय सम्बन्धीको पुस्तक प्रकाशन गर्ने, आधारभूत जानकारी दिने पुस्तिका प्रकाशन गर्ने, संग्रहालयको इतिहास र अवस्था सम्बन्धीको वृत्तचित्र तयार गर्ने र सङ्ग्रहालयकर्मीलाई संग्रहालयको आधारभूत मान्यता र अभ्यास सम्बन्धी प्रदेश स्तरमा तालिम दिने कार्यक्रमको सुरुवात समेत भएको बताएको छ। 

कार्यक्रममा आइकम नेपालका सल्लाहकार तथा नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक एवं नेपाल सरकारका सहसचिव डाक्टर सुरेश सुरस श्रेष्ठले आइकम नेपालले आफ्नो कार्यलाई अझ व्यापक बनाउँदै संग्रहालय क्षेत्रको विकास र विस्तारका लागि सशक्त रुपमा काम गर्नुपर्ने बताउनुभयो। उहाँले आइकम नेपालले विगतको तुलनामा धेरै नै राम्रो काम गरेको र यी कार्यबाट नेपालको संग्रहालय क्षेत्र लाभान्वित भएको धारणा राख्दै आगामी दिनमा यो कार्यलाई अझ विस्तार गर्दै सशक्त बनाउन आग्रह गर्नुभयो। 

संस्थाका कोषाध्यक्ष ओम प्रकाश घिमिरेले संस्थाको लेखा परीक्षण प्रतिवेदन पेश गर्नुभएको थियो। संस्थाका सचिव सन्तमान महर्जनले सञ्चालन गर्नुभएको कार्यक्रममा पाटन सङ्ग्रहालयका कार्यकारी निर्देशक रमेश राज पौडेल तथा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयका तर्फबाट जिनेस सिन्दुरकार ले आइकम नेपालले आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा सुझाव दिनुभएको थियो।