आजको मौसम : मेघगर्जनसहित वर्षा
-
नेटिजन संवाददाता
- सोमबार, २३ असार, २०८२- १२:०३:००/ Monday 07-07-25

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रदेशको १-२ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सोमबार देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशको १-२ स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।