नागरिकता वितरणमा बेथितिः एउटै विवरणको नागरिकता दुई जनालाई
-
नेटिजन संवाददाता
- आइतबार, २९ असार, २०८२- १५:५२:००/ Sunday 07-13-25

काठमाडौं। धनुषाको बटेश्वर गाउँपालिकामा दुई फरक व्यक्तिको नाम र नागरिकता नम्बर एउटै भएको घटना बाहिरिएको छ । दुवै जनाको नाम गणेशकुमार महतो र नागरिकतामा १४६८२८८३ नम्बर उल्लेख छ । नाम र नागरिकता नम्बर एउटै भएपछि दुवै जना समस्यामा परेका छन् ।
दुवै जना बटेश्वर गाउँपालिकाको भए पनि वडा भने फरक छ । एक जनाको बटेश्वर गाउँपालिका–१, सोनापुरका हुन् भने अर्का गणेश बटेश्वर गाउँपालिका–२, धुमासनका हुन् । धुमासनका गणेशका पिता रामकिसुन महतो हुन् र उहाँले २०५६ माघ १३ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता लिनुभएको छ । त्यस्तै, सोनापुरका गणेशका भने रामगुलाम महतोका छोरा हुन् उहाँले २०५७ साल फागुन ३० गते सोही कार्यालयबाट नागरिकता प्राप्त गर्नुभएको हो ।
सोनापुरका गणेशकुमारले बैङ्कमा खाता खोल्दा यो कुरा थाहा पाएको बताउनुभयो । उहाँले भन्नुभयो, केही दिनअघि एक बैङ्कमा खाता खोल्न गएको थिएँ तर बैङ्कका कर्मचारीले तपाईँको नाममा पहिलादेखि नै खाता सञ्चालनमा रहेको भन्दै नयाँ खाता खोल्न मानेन । त्यसपछि त्यस खाताबारे बुझ्दै जाँदा धुमासनका गणेशकुमार भएको र नागरिकता नम्बर पनि एउटै भएको उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार नाम र नागरिकता नम्बर मिल्दा कम्प्युटर प्रणालीमा विवरण प्रविष्ट गर्दा समस्या भएको छ । म विदेश गएर फर्किएको व्यक्ति हुँ । पासपोर्टदेखि अन्य सबै कागजात यही नम्बरबाट बनेको छ । अब फेरबदल गर्नुपर्दा ठुलो समस्या पर्छ ।
उता, धुमासनका गणेश पनि यस्तै समस्याबाट हैरान हुनुहुन्छ । हालसालै सरकारी सेवा र बैङ्किङ प्रणालीमा नागरिकता नम्बर अनिवार्य गरिएपछि मात्रै दुई फरक व्यक्तिमा एउटै नागरिकता नम्बर रहेको रहस्य खुलेको उहाँले बताउनुभयो । उहाँले कर्मचारीको गल्तीका कारण हामी दुई जनालाई समस्या भोग्नुपरिरहेको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यले दुई फरक व्यक्तिको एउटै नागरिकता नम्बर कसरी आयो भन्ने विषयमा दुवै नागरिकताको अभिलेख हेरेपछि मात्र केही भन्न सकिने बताउनुभयो ।गोरखापत्र अनलाइनबाट ।