• सोमबार, १२ श्रावण, २०८२
  • ०३:३२:४९

साउदी अरब गैरआवसीय नेपाली संघको अध्यक्षमा भट्टराई सर्वसम्मत

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरेबियाको दसौँ महाधिवेशनमा अध्यक्ष पदमा लमजुङका उमेश भट्टराईलाई सर्वसम्मत चयन भएका छन् । साउदीको राजधानी रियादमा भएको महाधिवेशनले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो । तथ्याङ्क अनुसार साउदी अरेबियामा करिब ४ लाख नेपाली श्रमिक कार्यरत छन् । उनीहरूको हकहित, सेवा, समन्वय र समस्यामा गैरआवासीय नेपाल संघ क्रियाशील रहँदै आएको छ ।

महाधिवेशनलाई सम्वोधन गर्दै संघकी निवर्तमान अध्यक्ष रबिना अर्यालले आफ्नो कार्यकाल सम्पन्न भएको घोषणा गरिन् । उनले आगामी दिनमा पनि संस्थासँग सहकार्य गर्दै प्रवासी नेपालीको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता जनाइन् । कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष भट्टराइले साउदी अरेवियामा रहेको नेपाली समुदायको हक हितका लागि समर्पित भएर लागि पर्ने बताए । उनले यस जिम्मेवारीलाई अवसर र चुनौती दुबैका रूपमा स्वीकार गर्दै समावेशी नेतृत्व र प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाए ।

साउदी अरेबियाका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले गैरआवासीय नेपाली सङ्घ साउदी अरेबियाले नेपाली समुदायका लागि गर्दै आएको कार्यको प्रशंसा गरे । नवनिर्वाचित उपाध्यक्ष विष्णु भण्डारीले संघको  विगतमा राहदानी नवीकरण, श्रमिक समस्याको मध्यस्थताका लागी सक्रिय भूमिका रहने बताए ।

 महाधिवेशनमा साउदी अरेबियाका विभिन्न क्षेत्रहरूबाट प्रतिनिधित्व गर्दै आएका एनआरएन पदाधिकारी, समाजसेवी, श्रमिक अगुवा र महिलाहरूको उपस्थिति थियो ।