महावीर पुनको किताब विक्रिबाट प्राप्त १२ करोड आविष्कार केन्द्रको खातामा
-
नेटिजन संवाददाता
- मंगलबार, ६ श्रावण, २०८२- ११:२०:००/ Tuesday 07-22-25

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आउनुभएका डा पुनले उक्त जानकारी दिनुभएको हो । उहाँले पुस्तक बिक्रीबाट १२ करोड रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको बताउनुभयो । उहाँको पुस्तकको मूल्य सात सय ५० रुपैयाँ छ ।
उक्त रकमलाई उहाँले केन्द्रले सञ्चालन गर्दै आएको वीरगञ्ज औजार कारखाना र आविष्कार गतिविधिमा खर्च गरिने जानकारी दिनुभयो । पुस्तक बिक्रीका लागि एक सातादेखि झापामा रहनुभएका उहाँलाई संस्थागत र व्यक्तिगत रूपमा आमन्त्रण गरेर पुस्तक किन्ने क्रम बढिरहेको छ ।
विर्तामोड नगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी केन्द्रको सहयोगार्थ ५० हजार रुपैयाँ मूल्य बराबरको पुस्तक खरिद गरेको छ । नगरउपप्रमुख पवित्रा महतरा प्रसाईँले मुलुकलाई आत्मनिर्भर बनाउन पुनको अभियान प्रशंसनीय भएकाले उहाँको पुस्तक किनेर सहयोग गर्न पाउँदा गर्व लागेको बताउनुभयो ।
विर्तामोड, दमक, बाह्रदशी, विर्तामोड, बुद्धशान्तिलगायतका पालिकामा स्थानीय सामाजिक संस्था र युवाहरूको अगुवाइमा उहाँको किताब किन्ने अभियान सञ्चालन भइरहेको छ ।
विर्तामोडमा सोमबार आयोजित कार्यक्रममा डा पुनले सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र नबस्न युवाहरूलाई आग्रह गर्नुभयो । “देशका लागि आ-आफ्नोतर्फबाट सानो भए पनि योगदान गर्नुपर्छ”, उहाँको भनाइ थियो, “सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र हुँदैन ।”
उहाँले राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी दिनुभयो । ती उपकरण भविष्यमा पालिकाका साना किसानका लागि लाभदायक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।