नारायणघाट–बुटवल सडक : अझै १ वर्ष नबन्ने
-
नेटिजन संवाददाता
- मंगलबार, ६ श्रावण, २०८२- १०:०३:००/ Tuesday 07-22-25

काठमाडौं।४ लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद १ वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि १ वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको जानकारी दिनुभयो ।
एक वर्षमा यस खण्डको भौतिक प्रगति करिब २० किलोमिटर थपिएको उहाँले बताउनुभयो । “दोस्रापटक थप गरिएको म्याद सकिँदा यस खण्डमा कालोपत्र सडक २९ किलोमिटरमात्र थियो”, उहाँले भन्नुभयो, “असार मसान्तसम्म अहिले पूर्वी खण्डमा ५६ किलोमिटर सडक कालोपत्र भएको छ ।” चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम गरिरहेको छ ।
“निर्माण कम्पनी र आयोजनाको कन्सल्टेन्टसँग कुरा गर्दा १ वर्षमा फिनिसिङबाहेकका काम सकाउने सहमति भएको कारण म्याद थप्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीले ९० प्रतिशत काम सकाउने सहमति भएपछि हामी १ वर्ष म्याद थप गर्ने निष्कर्षमा पुगेका छौँ ।” आयोजना निर्देशक ढकालका अनुसार सडक योजनाको तेस्रोपटक थप भएको म्याद यही साउन ८ गते सकिँदैछ । हालसम्म आयोजनाको भौतिक प्रगति ६९.३ प्रतिशत सकिएको उहाँले जानकारी दिनुभयो ।
नारायणघाट–बुटवल सडक योजना (पूर्वी खण्ड)का सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार अहिले निर्माण कम्पनीले दाउन्ने खण्डमा काम गरिरहेको छ । दाउन्नेमा सडकका कारण यात्रीलाई समस्या परेकाले त्यहाँ ढलान गर्न जनशक्ति केन्द्रित भएका छन् । दाउन्नेमा सडक ढलानसहित चोरमारामा कालोपत्र, पुल निर्माण, २ लेन सडक भएको ठाउँमा ४ लेन बनाउने, डिभाइडर बनाउने काम भइरहेको छ । सडक विस्तारका लागि अहिले २ सय ७२ जना श्रमिक काम गरिरहेका छन् ।
यस खण्डमा पर्ने साना पुल निर्माण सम्पन्न भएर सवारीसाधन सञ्चालनमा रहेको भए पनि ठूला पुल बन्ने क्रम जारी रहेको सूचना अधिकारी खनालको भनाइ छ । डण्डाको सुक्खा खोलामा ठूलो पुल निर्माण भएर पनि एप्रोच रोड (पहुँच मार्ग) बनाउन बाँकी रहेका कारण सो पुल सञ्चालनमा आउन नसकेको उहाँले बताउनुभयो ।
“अहिले चोरमाराको पुलमा काम भइरहेको छ, बेल्डिहा खोलाको पुल २-३ दिनमा सञ्चालनमा आउँछ, त्यस्तै जयश्री खोलाको पुलमा ढलानको काम चाँडै गर्दैछौँ, अहिले पूर्वी खण्डको काम धमाधम अगाडि बढिरहेको छ ।”
गैँडाकोटको पुलचोकमा एक सय मिटर सडक कालोपत्र गर्न बाँकी रहे पनि अबको एक महिनाभित्र कालोपत्र गरिने उल्लेख गर्दै खनालले यस खण्डमा पुल भएको ठाउँमा, चोरमारामा र दुम्कीबासबाट दाउन्नेसम्म करिब सात किलोमिटर कालोपत्र गर्न बाँकी रहेको बताउनुभयो । नारायणघाट– बुटवल सडकको एक सय १४ किलोमिटरमध्ये पूर्वी खण्डमा करिब ६५ किलोमिटर छ ।
२ खण्डमा विभाजन गरी काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार योजनाको कुल लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) ६५ किलोमिटरको लागत रु ९ अर्ब १३ करोड १८ लाख ९५ हजार एवं पश्चिम खण्ड (दाउन्ने–बुटवल) ४९ किलोमिटरको लागत रु ७ अर्ब ८६ करोड ३४ लाख छ । एसियाली विकास बैंक (एडिबी)को ८५ प्रतिशत ऋण सहयोगमा अघि बढाइएको आयोजनामा बाँकी रकम सरकारको छ ।
पूर्वी खण्डमा पर्ने सडकमध्ये डेढ किलोमिटर जति क्षेत्रफल पुलले ओगटेको छ बाँकी रहेको करिब ७ किलोमिटर सडक पनि चाँडै कालोपत्र हुन्छ । अहिले दाउन्नेबाहेकको खण्डमा यात्रा सहज भएको उहाँले बताउनुभो ।
एक वर्षमा यस खण्डको भौतिक प्रगति करिब २० किलोमिटर थपिएको उहाँले बताउनुभयो । “दोस्रापटक थप गरिएको म्याद सकिँदा यस खण्डमा कालोपत्र सडक २९ किलोमिटरमात्र थियो”, उहाँले भन्नुभयो, “असार मसान्तसम्म अहिले पूर्वी खण्डमा ५६ किलोमिटर सडक कालोपत्र भएको छ ।” चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम गरिरहेको छ ।
निर्माण कम्पनीले नेपाल सरकारसँग २०७५ साल माघ २४ गतेदेखि काम सुरु गरी ४२ महिनामा सक्नेगरी ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयमा काम नसकिएपछि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै सडक विस्तारको म्याद थप गर्दै आएको छ । अब थप हुने म्याद अन्तिम भएको सडक विभाग आयोजना निर्देशनालय एडिबीका आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले बताउनुभयो ।
२ खण्डमा विभाजन गरी काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार योजनाको कुल लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) ६५ किलोमिटरको लागत रु ९ अर्ब १३ करोड १८ लाख ९५ हजार एवं पश्चिम खण्ड (दाउन्ने–बुटवल) ४९ किलोमिटरको लागत रु ७ अर्ब ८६ करोड ३४ लाख छ । एसियाली विकास बैंक (एडिबी)को ८५ प्रतिशत ऋण सहयोगमा अघि बढाइएको आयोजनामा बाँकी रकम सरकारको छ ।रासस।