• सोमबार, १२ असोज, २०८३
  • ०८:३४:५९

चैत १९: एसइई परीक्षा सुरु

काठमाडौँ। देशभर बिहिबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ। यस वर्षको परीक्षा अघिल्ला वर्षभन्दा थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यका साथ नयाँ निर्देशिका लागू गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले देशभरका सबै तोकिएका केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा परीक्षा सञ्चालन गरेको जनाएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाउँदै समयमै नतिजा प्रकाशन गर्ने तयारी गरिएको छ, जसले अनियमितता घटाउने अपेक्षा गरिएको छ।

यस वर्ष चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षामा कुल ५ लाख १२ हजार ४सय २१ विद्यार्थी सहभागी भएका छन्। तीमध्ये ४ लाख ४१ हजार ५सय ६६ जना नियमिततर्फका र ७० हजार ८सय ५५ जना ग्रेड वृद्धितर्फका विद्यार्थी रहेका छन्। परीक्षामा छात्राको सहभागिता छात्रभन्दा बढी देखिएको छ।

देशभर १ हजार ९सय ६६ परीक्षा केन्द्रमार्फत ११ हजार ३सय ७९ विद्यालयका विद्यार्थीले परीक्षा दिइरहेका छन्। साथै, जापानस्थित एक परीक्षा केन्द्रबाट पनि २३ जना विद्यार्थी सहभागी भएका छन्।

परीक्षाको सुरक्षालाई कडाइका साथ व्यवस्थापन गरिएको छ। प्रत्येक केन्द्रमा सुरक्षाकर्मी, केन्द्राध्यक्ष, निरीक्षक तथा आवश्यक कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ। प्रश्नपत्रहरू सम्बन्धित केन्द्रमा सुरक्षित रूपमा पुर्‍याइसकिएको पनि कार्यालयले जानकारी दिएको छ।यस वर्षको एसइई परीक्षा थप अनुशासित, सुरक्षित र विश्वसनीय हुने अपेक्षा गरिएको छ।