• बिहीबार, १३ बैशाख, २०८१
  • ०४:२४:२९

हजुरबाको कथा…

हामीलाई सबैले अचम्म मानेर हेर्थे । हामीलाई थाहा थिएन, हामी अचम्मका थियौं या मानिसलाई हामी देख्दा अचम्म लाग्यो ।

म आमाको पेटमा छँदै बाले छोडेर जानुभएको रे । म जान्ने भएपछि बाआमा दुबैको भुमिका आमाले नै निभाउनुहुन्थ्यो । एघार सालतिरको कुरा हो, त्यतिबेला म जम्मा नौ वर्षको थिएँ । सात वर्षकी केटीसंग मेरो विवाह भयो । मेरा दुईवटी दिदीहरुको भने केही वर्षअघि नै विवाह भैसकेको थियो ।

विवाहपछि मेरी श्रीमती माइत गइन । बिचमा हाम्रो आवतजावत पनि भएन । म मेलापात, घाँसदाउरा, गोठालो गरेरै दिन बिताउन थालें । बिहान घाम झुल्किएदेखि बेलुकासम्मै मलाई साथ दिने मेरो एउटा साथी थियो । उसलाई म कान्छा भनेर बोलाउँथे । कान्छा मेरो मन मिल्ने साथी थियो । म उसलाई सबै कुरा सुनाउँथें । उ पनि म बिना एकैछिन बस्न सक्दैनथ्यो । दिनमा एकपटकमात्र भेट्न पाइएन भने दिन नै खल्लो खल्लो लाग्थ्यो । अहिले जस्तो भए त फोन, सम्पर्क हुन्थ्यो । उ बेला त भेटघाटको लागि पनि घरसम्मै पुग्नुपर्थ्यो । सायद असल मित्रता यहि होला । ७० वर्षको हुँदा पनि कान्छा मेरो घरमा आइरहन्थ्यो । उसलाई देखेपछि मलाई उहीँ पुराना दिनको झल्को आउँथ्यो । उहीँ हाँसिमजाक, उहीँ मेलापात, उहीँ बालापन, उहीँ दोस्ती ! जीवन कति चाखलाग्दो थियो त्यतिबेला ।

२०१९ सालको कुरा हो, त्यतिबेला म १७ वर्षको थिएँ । मलाई लाहुर जान मन लाग्यो । मैले सधैं देखिरहेको डांडापाखा, वनजंगल र त्यो सानो गाउँको खाल्डो छाडेर नयाँ ठाउँको अनुभव गर्नु थियो । सबैभन्दा महत्वपुर्ण कुरा त, अलिअलि धन कमाएर श्रीमतीलाई माइतीबाट घर ल्याउनु थियो र घर बसाल्नु थियो । मैले कान्छालाई लाहुर जाने प्रस्ताव राखें ।
कान्छा एउटा कुरा भन्छु मान्छस् ? मैले सोधें ।
‘ के कुरा भन् न’ उसले मुन्टो हल्लायो ।
‘लाहुर जाउँ’ मेरो एक्कासी निस्किएको प्रस्ताव सुनेर उ चकित भयो ।
लाहुर ! के भन्छ यो ? हामीजस्तो गाउँले कसरी लाहुर जानी? थाहा छ तलाई केही ? जाँदा जाँदै हरायौं भने? कान्छा रन्किन थाल्यो ।
‘किन डराउँछस् ? मर्दको छ‍ोरा होस् । आँट गर्नुपर्छ, जहाँपनि पुग्न सकिन्छ।’ मैले उसलाई सम्झाउन थालें ।
‘अलिअलि कमाएर आउने अनि घर बसाउनु छ । तेरी पनि जहान माइतीमै छे, उसलाई कसरी पाल्छस्, भन त ।’
एकछिन सम्झाएपछि कान्छाको मन पग्लियो । उ लाहुर जान तयार भयो ।
‘जान त जाने, तर एउटा समस्या छ,’ उसले हिच्किचाउँदै भन्यो ।
के समस्या ? मैले सोधें ।
‘म संग सुको दाम छैन, कसरी जानू त्यति टाढा ? उसले समस्या पोख्यो।
‘धत् लाटा। किन चिन्ता लिन्छस् ? मसंग छ । म तिरिहाल्छु नि’, मैले उसलाई भरोसा दिलाएँ ।
मैले एक मुरी कोदो बेचेर भर्खरै २० रुपैयाँ दाम हात पारेको थिएँ । गाँठ भएपछि नै आँट आउँछ भन्छन् । मलाई त्यहि गाँठले नै लाहुरसम्मको कल्पना गर्ने आँट दिएको थियो ।
कान्छाको सबै खर्च मैले नै बेहोर्ने भएँ । हामीले सल्लाह गरेको पर्सिपल्ट लाहुर जाने निर्णय गर्यौं । घरमा थाहा पाए भने जान दिदैनन् । त्यसैले हामी राति सबैजना सुतिसकेपछि सुटुक्क घरबाट भाग्यौं । वनजंगलको बाटो हिंड्दै हिंड्दै हामी नौबिसे पुग्यौं । अहिलेको जस्तो छ्याप्छ्याप्ति सडक कहाँ थियो र ? त्यतिबेला त्यहि एउटै सडक थियो । महेन्द्र राजमार्ग । हामी त्यो सडकलाई भारतले बनाएको बाटो भन्ने गर्थ्यौं । त्यो बाटो बनाउँदा मेरा धेरै साथीहरू काम गर्न समेत गएका थिए ।

                                                                                                                                                                                                       हजुरबुवा 

धेरैबेरसम्म पर्खिएपछि एउटा लहरी (ट्रकजस्तै मलवाहक सवारी) आयो । हामीले खुसी हुँदै रोक्यौं ।
ड्राइभरले रोके र सोधे । ‘कहाँ जाने ?’ हामीलाई कहाँ जाने नै थाहा थिएन । हामी त लाहुर जान हिंडेका थियौं । यत्तिकैका मलाई एउटा नाम फुर्यो । विरगंज । मैले त्यहि भनिदिएँ ।
ड्राइभरले गाडि चढ्न भने ।
हामीले लाहुरको यात्राको थालनी गर्यौं । बाटो एकदमै डरलाग्दो थियो । कतै सम्म, कतै तारेभिर, कतै घुम्ती त कतै भिरालो । कहिल्यै मटर नचढेका हाम्रा लागि त्यो यात्रा निकै रोचक थियो । बेलुका घाम अस्ताउने बेला हामी बिरगंज पुग्यौं । ड्राइभरले नौबिसेबाट बिरगंज पुगेको दुईजनाको भाडा १० रुपैंयाँ लिए ।
बिरगंज त आइपुग्यौं । अब कहाँ जाने ? के खाने ? कहाँ बस्ने ? अन्यौल भयो ।
त्यतिबेला बिरगंज भने निकै नै विकशित भैसकेको थियो । खर, ढुङ्गामाटोको घरमा हुर्किएको म त्यहाँको ठुलाठुला पक्कि घर, सडक, रहनसहन देखेर छक्क परें ।

अझ रमाइलो कुरा त के भने, हामी त्यहाँ कछाड र पेटेभोटो नै लगाएर गएका थियौं । त्यताका मानिसहरु सबैले सर्ट पाइन्ट लगाउँदा रहेछन् । हामीलाई सबैले अचम्म मानेर हेर्थे । हामीलाई थाहा थिएन, हामी अचम्मका थियौं या मानिसलाई हामी देख्दा अचम्म लाग्यो ।

साँझ पर्यो, अझै पनि कहाँ बस्ने टुङ्गो लागेन । बगलीमा बचेको १० रुपैयाँ थियो नै । हामीले एउटा घरमा बास माग्यौं । घरमा एकजना हामी जत्तिकै उमेरका केटा बस्दारहेछन् । उनले हामीलाई सबैकुरा सोधे । हामीले पनि सोधेका कुराको नढाँटी जवाफ दियौं । उनले हामीलाई बास दिने भए।

भोलिपल्ट त्यहाँबाट बाटो तताउनु थियो । जानेबेला त्यहाँको साहुजीले भने, ‘यदि तिमीहरु लाहुर जान लागेको भए एकजना यहिं बस न त ।’
त्यहाँ बसेर माछापालन व्यवसायमा सरसहयोग गर्नुपर्ने थियो ।
गोजीमा भएको १० रुपैंयाँले लाहुर पुग्ने बेला धान्ला नधान्ला भन्ने थियो । त्यसैले हामीले केहि समय बिरगंज बसेर काम गर्ने निर्णय गर्यौं ।
माछापालन कान्छाले हेर्ने भयो । तलब २० रुपैयाँ तोकियो ।
भोलिपल्ट मेरा लागि पनि जागिर खोज्यौं ।
मेरो काम एकजना धनाढ्यको घरमा पुजाको भाँडा माझ्ने र पुजा गर्ने थियो । मेरो पनि तलब २० रुपैयाँ नै हुने भयो । खाने,लाउने र बस्ने त्यहि घरमा व्यवस्था थियो ।
पुजाको भाँडा पनि पुरै कोठा भरिने थियो । बिहानभरी माझ्दा माझ्दा हैरान हुन्थें । तर दिनभरीचाहिँ पुरै फुर्सद ।
लगातार दुई महिना काम गरेपछि मलाई बिरगंज बस्न मन लागेन । मलाई बिरगंज पुगेर अझै लाहुर जाने धोको पूरा भएको थिएन । म कान्छा भएको ठाउँमा गएँ र अब त्यहाँबाट भारततिर जाने प्रस्ताव गरें । कान्छाले मेरो कुरामा सहमति जनायो । हामी दुबैजनाले त्यहि दिन नै साहुसंग कुरा गर्ने निर्णय गर्यौं । कान्छाको साहुले सजिलै तलब दिएर बिदाबादी गरिदिएछन् । मेरा साहुजीले भने भने आनाकानी गर्न थाले र एउटा सर्त राखे ।
‘तिमी जान चाहान्छौ भने जाउ तर एउटा सर्त छ’ उनले भने ।
कस्तो सर्त ? मैले जिज्ञासा राखें ।
‘तिमी गएपछि तिम्रो काम कसले गर्छ ? तिम्रो ठाउँमा अर्को मान्छे राखिदेउ त्यसपछिमात्र जाउ । ‘ उसले भन्यो ।
म अब को मान्छे खोज्न जाउँ? न कोहि चिनेको छ, न जानेको ।

धरैथरी बाहाना बनाएर साहुलाई मनाउने कोसिस गरें तर उनले मानेनन् । न त दुई महिना भाँडा धस्काएको तलब नै दिए ।
त्यपछि म तलबसलब त्यागेर त्यहाँबाट बाटो लागें । कान्छा मलाई पर्खिरहेको रहेछ । उसलाई साहुजीले दुई महिनाको ४० रुपैयाँ दिएर पठाएका रहेछन् । सुरुमा आउँदा मैले उसलाई यहाँसम्म ल्याएको थिएँ, अब मलाई भारतसम्म लैजाने जिम्मा कान्छाको थियो । तर जे होस्, दुई महिना अघि गाडिभाडा तिरेर बचेको १० रुपैयाँ भने अझै मेर‍ो खल्तीमै थियो । दुई महिनादेखि मेरो सुको दाम खर्च भएको थिएन ।

बिरगंजबाट अब कता जाने ? पाइला अगाडि बढाइसक्दा पनि गन्तव्य निश्चित भैसकेको थिएन । हिंड्दाहिंड्दै मैले कलकत्ता जाने निधो गरें । बिरगंज बस्दा मैले धेरैपटक कलकत्ताको नाम सुनेको थिएँ । हामी गाडी चढ्यौं । बिरगंजबाट कलकत्ता पुगेको भाडा सबै कान्छाले नै तिर्यो । कलकत्ता झरेपछि हामी अचम्ममा पर्यौं । त्यहाँ त इन्डियन र नेपाली सराबरी हुँदा रहेछन् । यता हेरे नि नेपाली उता हेरे नि नेपाली । तर कलकत्ता हाम्रो लागि निकै नै नयाँ र बिरानो थियो ।

कछाड र पेटे भोटो लगाएर लाहुर हिंडेका हामी त्यतिबेलासम्म सर्ट पाइन्ट लगाउने भैसकेका थियौं । नेपाली भाषाभन्दा फरक भाषा पनि हुन्छ भन्ने कुरा समेत थाहा नभएका हामी अलिअलि हिन्दी कुरा बुझ्ने र कसैले सोधेको कुरामा मुन्टो हल्लनउन सक्ने सम्मका भएका थियौं । कुहिरोमा रुमलिएको कागसरि हामी कलकत्ताको कुइरीमण्डलमा हरायौं । यहाँसम्म त आइयो, अब लाहुर भन्ने कहाँ छ त ? हामी दुबैसंग यसको उत्तर थिएन । दिउँसोको टन्टलापुर घाम चर्किरहेको थियो । हामी एकछिन आराम गर्न प्रतिक्षालयमा बस्यौं । त्यहाँ एकजना नेपालीसंग कुराकानी भयो । उनले पनि हाम्रो बारेमा धेरै कुरा सोधे । हामीले पनि सबै कुरा भनिदियौं ।
‘भनेपछि तिमीहरु लाहुर हिंडेको ? उनले सोधे ।
हामीले हो भन्ने संकेत गर्दै मुन्टो हल्लायौं ।
‘जागिर खान्छौ त ?’ उनले प्रश्न गरे ।
अचानक आएको यस्तो प्रस्तावले हामि छक्क पर्यौं ।
हामीलाई जागिर नै खानु थियो ।
हामी जागिर खान राजि भयौं ।
‘ल उसोभए एकजना मसंग हिंड न त, उतै लगेर बुझाउँछु केके गर्नुपर्छ भनेर ।’ उसले भन्यो ।
त्यो अपरिचित मान्छेसंग काम बुझ्न कान्छा जाने भयो ।
‘ तँ यहिं बस्दै गर म बुझेर आउँछु नि त । कतै नजा नि, भेटिंदैनस् फेरी फेरी । यति भनेर कान्छा त्यहि मान्छेसंगै गयो ।
उसलाई पर्खिएर एक घण्टा, दुई घन्टा हुँदै तीन घण्टा बित्यो । कान्छा फर्किएन । साँझको पाँच बजेसम्म उ आउने आशमा आँखा परपरसम्म दौडाइरहें ।
अब कान्छा आउँदैन । म पक्का भएँ । कान्छालाई कुर्नुभन्दा बाटो तताउनु नै ठिक लाग्यो । तर कहाँ जाने ? कान्छा नभएपछि मेरो अन्यौलताको सिमानै रहेन । म बिलकुलै एक्लो भएँ । हतासिदै, अतालिंदै र निरासिंदै त्यतै घुमिरहें । क्रमश….(सत्य कथामा आधारित)

यो पनि: 

हजुरबाको कथा-२