• शुक्रबार, १४ बैशाख, २०८१
  • ११:२४:४४

हजुरबाको कथा, लाहुरको कथा (२ )

पार्वती अधिकारी
कान्छालाई पर्खिएर एक घण्टा, दुई घन्टा हुँदै तीन घण्टा बित्यो । उ फर्किएन । अब कान्छा आउँदैन । म पक्का भएँ । कान्छालाई कुर्नुभन्दा बाटो तताउनु नै ठिक लाग्यो । तर कहाँ जाने ? कान्छा नभएपछि मेरो अन्यौलताको सिमानै रहेन । म बिल्कुलै एक्लो भएँ । हतासिंदै, अतालिंदै र निरासिंदै एकछिन त्यतै घुमिरहें । घुम्दाघुम्दै दिमागमा एउटा ठाउँको सम्झना आयो, ‘पटना’ ।

मेरी कान्छी दिदी पटनामा बस्नुहुन्छ । मलाई थाहा थियो । त्यसो त विवाहपछि धेरैपटक माइती आउन नि पाउनुभएन मेरी दिदी । भिनाजुसंगै पटना जानुभयो । टाढाको बसाइ भएपछि त्यति छिटो आइहाल्न पनि सकिंदैन ।

मलाई अब पटना जानू थियो । त्यत्रो शहरमा दिदीलाई कहाँ खोज्नु, कहाँ भेट्टाउनु ? तर पटना पुगें भने भेट्न सक्छु कि भन्ने एउटा मात्र झिनो आशा बाँकी थियो । एकजना नेपालीलाई पटना जाने बाटो सोधें । उनले टमटम (एउटा घोडाले तान्ने बग्गीजस्तै साधन) चढेर जान सुझाए । म टमटम चढेर पटना पुगें ।

पटना पुगेपछि झनै अन्यौलता थपियो । यो अनगिन्ती गल्लिहरुको कुनचाहिं बाटोबाट गयो भने दिदीलाई भेटिन्छ ? म पटनाको एउटै गल्लिमा रुमलिन थालें । म भोकाएको शेरजस्तै भएको थिएँ। तर मलाई कुन दिशामा शिकार भेटिन्छ थाहा थिएन । त्यतिबेला मेरो शिकार भनेकै मेरो गन्तब्य थियो । म गन्तब्य हराएको यात्री थिएँ ।

त्यत्तिकैमा मेरो एकजना नेपालीसँग भेट भयो । यतातिर कोहि नेपाली केटि बस्छन भने थाहा हुने मान्छेले भनिदिन्छन । के भर मेरै दिदी पो भेटिने हुन् कि । झिनो आशाले मेरो मनमा डेरा जमाउन छाडेको थिएन। सास रहुन्जेलको आश भन्छन । मैले कोशिश गर्न छाडिन ।
मैले उनलाई आफ्नो सबै समस्याहरु बताएँ र सोधें, ‘ दाइ यतातिर कतै नेपाली केटी बस्छन् ?,’

मेरो बिलौना सुनेर ति दाइको मन पग्लिएछ, सायद । उनले मलाई सहयोग गर्ने तत्परता देखाए ।
‘यहि ठाउँमा एकजना केटि मान्छे बस्नचाहिँ बस्छन् तर तपाईंको दिदी हो या अरु कोहि हो चाहिं थाहा भएन ।’ यति भन्दै उनले नेपाली केटी बस्ने ठाउँ बताइदिए । म सिधै त्यहि ठाउँमा पुगें । वरिपरि सबैतिर नजर डुलाएँ तर दिदीलाई देखिन ।
‘देखियोस् पनि कसरी, कहाँ हुनुहुन्छ ?’ मैले मनमनै सोचें ।
‘व्यर्थै आइएछ, लाहुरे बन्न । उल्टै चाउरे बनेर फर्कनुपर्ला जस्तो छ', मनमा धेरै कुरा खेल्न थाले । तनाबै तनाबमा मैले त्यस ठाउँलाई तीन फन्को मारिसकेको रहेछु । साँझ पर्नै लागेको थियो ।
दिमागले केही सोच्न सकेन । भोक, थकान र चिन्ताले थकित भएको शरिरलाई सडकपेटीमै थचक्क आड लगाएँ ।

यत्तिकैमा मेरो नजर अगाडिको किराना पसलमा पुग्य‍ो । किराना पसलमा भिडभाड बाक्लै थियो । यहि भिडमा दिदी भेटिने त होइनन ? मलाई आशाको अर्को त्यान्द्रोले पसल भएतिर डोहोर्यायो । म बिस्तारै किराना पसलको नजिकै पुगें । भिडको बिचमा सामान किन्दै गरेकी एउटी महिलामाथि मेरो नजर पुग्यो । कतै दिदी त होइन ? मेरा पाइलाहरु ति महिला भएतिर नै बढ्न थाले । पाइलाहरु सार्दै गर्दा मैले यति धेरै पटक भगवानको पुकारा गरेछु । अहिले गन्ति गर्नै सक्दिन ।

नभन्दै किराना पसलमा सामान किन्दै गरेकी महिला अरु कोहि नभएर मेरै दिदी पो हुनुहुँदोरहेछ । भगवानले मेरो पुकारा सुनेछन । त्यो अन्जान शहरमा दिदीको दर्शन पाउँदा मलाई साक्षात् भगवान नै भेटेजस्तो भयो । एकछिन त हामी दुवैजना हेरेको हेर्यै भयौं । मुखबाट बाक्य फुट्न सकेन। आँखा रसाएर आए । न ठेगाना, न फोन सम्पर्क, अप्रत्यासित रुपमा भएको दिदीभाइको त्यो भेट, कुनै परी कथाभन्दा कम थिएन । हामी दुवैजना घण्टौंसम्म डाँको छोडे रोयौं । ती खुसीका आँसु थिए ।

किनमेल सकेर दिदी र म उहाँकै डेरातिर लाग्यौं । भिनाजु जागिर गर्नुहुन्थ्यो । केहिदिन दिदीभिनाजुसंग बसेपछि भिनाजुले मेरा लागि जागिर खोजिदिनुभयो ।

काम आर्मीको एकजना मेजरलाई खाना बनाउनु थियो । खान बस्न उनकैमा मिल्थ्यो । खाना बनाउने, भाँडा माझ्ने, सफासुघ्घर गर्ने जस्ता काम गर्दागर्दै मैले त्यहाँ ९ महिनाजति बिताएँ । त्यसछि मेजरको सरुवा हुने भयो । संगै जान पनि उनले कर नगरेका होइनन् । तर मलाई उनिसंगै जान मन लागेन । तलब सलब थापेर म त्यहाँबाट बाटो लागें । मेजरकोमा काम गर्दा दिउँसोभरी फुर्सदै फुर्सद हुन्थ्यो । म कहिलेकाहिं दिदीभिनाजुलाई भट्न जान्थें । त्यो अनकन्टारमा मेरो नजिकका मान्छे अरु को नै थिए र ? त्यो दिन पनि म सिधै दिदीको डेरातिर लागें । एक हप्ताजति बसेपछि मलाई त्यहाँ बस्न मन लागेन । घर फर्कने बाहाना पार्दै म दिदीभिनाजुसंग बिदाबादी भएँ ।

घर जाने भनेर त हिंडे तर मलाई अझै घर जान मन थिएन । त्यसपछि म पटनाबाट सिधा कलकत्ता जाने रेल चढें । त्यहाँबाट कलकत्ता निकै टाढा रहेछ । रेलमा झण्डै १२-१३ घन्टा लाग्यो ।

रेल त कलकत्ता पुग्यो तर मेरो गन्तब्य भने आइपुगेको थिएन । मनमा आँट छँदै थियो, गोजिमा गाँठ पनि थियो नै । आँट र गाँठ भयो भने मानिस एक्लै संसारको जुनसुकै कुनामा पनि पुग्न सक्ने रहेछ । गाउँमा घाँसपात, गाईबाख्रा र खेतिपातीभन्दा बाहिरको कुरा सोच्नसम्म पनि नजानेको म भोगाइले भनौं या आवश्यकताले धेरै कुरा जान्ने भैसकेको थिएँ । अझ भनौं, मलाई लाहुर बसाइले धेरै कुरा भोगायो, सिकायो ।

मैले आँखा दायाँबायाँ घुमाएँ । कलकत्तामा पनि केही घण्टा घरि यता घुम्ने र घरि उता घुम्ने गरेरै बिताइदिएँ । हिंड्दा हिंड्दै मेरो आँखा नजिकैको होटलमा गयो । त्यहाँ छिरेर खाजा खाएँ । दिनभरिको यात्राले निकै नै भोक लागेको थियो । खाजा खाएर निस्कँदै गर्दा मेरो कुराकानी गेटको पालेदाईसंग भयो । कस्तो संयोग ! पालेदाई पनि नेपाली नै हुनुहँदो रहेछ । मैले पालेदाईसंग पनि आफ्ना बेलिबिस्तार लगाएँ।

लाहुर पसेपछि मेरो छुटाउनै नहुने काम भनेको बेली बिस्तार लागउनु पनि थियो। जहिले दु:ख पर्छ, त्यहिले म जोसंग पनि आफ्नो कहानी सुनाइहाल्थें । अझ अहिले त म टुटेफुटेको हिन्दी अलिअलि फुटाउन सक्नेसमेत भएको छु । अझ ति पेटे भोटो लगाएरै लाहुर हिंडेको दिनमा नेपाली कोहि नभेटिएर भारतीय मात्र भेटिएका भए म आफ्ना दुखेसोहरु कसरी पोख्थें होला ?

पाले दाईले मेरा कुरा सुने । सुने भन्दा पनि मलाई दुखेसो पोख्ने समय दिए । म केहि हलुका भएँ ।
पाले दाइ एकछिन मौन भए ।
‘आफ्नै दाजुभाइ रैछौ । फेरि दु:ख पनि धेरै पाएका रहेछौ । तिमी हामीसंगै बस्छौ त ?’
पालेदाईको त्यो अप्रत्यासित प्रस्तावले म छक्क परें । मलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो ।
मैले हँसिलो मुख पार्दै भनें, ‘बस्छु दाई ।’
म त्यो रात पालेदाइसंगै बसें। पालेदाइको एकजना भाइ पनि रहेछन । ठ्याक्कै मेरै उमेरका । उनका भाईले पनि त्यहि होटलमा वेटरको काम गर्दा रहेछन, जहाँ पालेदाइले काम गर्थे ।
पाले दाइको भाइले मलाई पनि त्यहि होटलमा वेटरको काम मिलाईदिए । होटलमा जेरी, स्वारी, पुरी, तरकारी, समोसा लगायत धेरै परिकारहरु पाक्थे । २४ सै घण्टा ग्राहकहरुको भिड लाग्ने गर्थ्यो । टेबुल पुछ्ने, खाना, खाजा दिने, जुठा भाँडालाई भाँडा माझ्ने ठाउँसम्म पुर्याउने । यस्तै काम गरेर मैले त्यहाँ एक वर्ष बिताएँ । पाले दाइ र उनको भाइसंग मेरो दोस्ती पनि एकदमै निकटको भयो । हामी तिनै जना एउटै कोठामा मिलेर बस्थ्यौं । एक अर्काको दु:ख सुनाउन्थ्यौ, सुन्थ्यौं । दिनहरु राम्रै बितिरहेको थियो । कमाइ पनि राम्रै थियो ।

पुसको महिना थियो । हामी सबै काम गर्न ब्यस्त थियौं । होटलमा एउटा चिठी आइपुग्यो, धागोले बाँधेको । त्यो चिठी पाले दाइको थियो । उनका बा बितेछन । दाइहरु धेरै रोए, धेरै दु:खी भए । बाको माया भन्ने महसुस नभएको मलाई पनि बा भन्ने मान्छे संसारको सबैभन्दा प्यारो व्यक्ति हुने रहेछन भन्ने कुरा उनीहरुको रोदनबाट महसुस भयो ।

भोलिपल्ट दाइहरु घर जाने भए । होटलमा बिदा मिलाए । मलाई पनि त्यहाँ एक्लै बस्न मन लागेन । म पनि नेपाल जाने भनि साउसंग छुट्टी लिएँ । हामी तिनै जना फेरि महेन्द्र राजमार्ग हुँदै नौबिसेसम्म आइपुग्यौं । नौबिसेबाट मेरो घर जान हिंडेर जम्मा दुई घण्टा लाग्थ्यो । तर म घर गइन । त्यो बिरानो घरमा कोहि पनि थिएन । जसले मलाई त्यतातिर तानोस । श्रीमती माइतमा थिईन। बाआमाको मृत्यु भैसकेको थियो । म दाइहरुसंगै गएँ । हामी नौबिसेबाट काठमाडौँसम्म गाडीमा गयौं । उनीहरुको घर सिन्धुलीमा थियो । दुई दिनमा हामी काठमाडौँबाट सिन्धुली हिंडेरै पुगेका थियौं । अहिले सम्झंदा पनि अत्यास लागेर आउँछ ।

काजकिरिया सकेर हामी फेरि भारत फर्कियौं । होटलमा मैले अझै एक वर्ष काम गरें। पन्छीलाई पनि आफ्नो बासस्थानको याद आएर बेलुका गुंडमै फर्कन्छ रे । म त मान्छे । मलाई पनि मेरो गाउँको याद आउन थाल्यो । दशैं पनि नजिकिंदै थियो । मैले घर जाने निर्णय गरें । दाइहरु अझै एक दुई वर्ष काम गरेर दाम कमाएरमात्र घर फर्कने भए ।

लाहुरमा भाँडा माझेको भएपनि घर फर्कंदाको सान बेग्लै हुन्छ । सबैले लाहुरे भनेर सम्बोधन गर्दाको सान नै छुट्टै हुन्छ । मैले पनि सान बढाउन एउटा टिनको टिलिक्क टल्कने ट्याङ्का किनें । दुई-चार जोर नयाँ लुगा किनें । ठुलीआमाको लागि एउटा धोति र ठुलाबाका लागि एकजोर कमिज किनें । ट्याङ्काभरि सामान राखेर, झिटीगुन्टा तयार पारेपछि म नेपाल फर्किएँ । बाटोमा फर्किंदै गर्दा मनमा धेरै कुरा खेले । ए साँच्ची कान्छा कता होला । घर गयो कि गएन होला । छुटेको तीन वर्ष भैसक्दा पनि मैले उसको अत्तो पत्तो पाएको थिइन ।

ठ्याक्क फूलपातीको दिनमा म घर पुगें । मेरो आगमनले ठुलाबा ठुलीआमा निकै नै खुसी भए । गाउँभरि लाहुरे आयो भनेर चर्चा चलेछ । लाहुरे घर आयो भन्दै गाउँका केहि साथिहरु मसंग दशैं मनाउने खर्च माग्न आए । मैले जो सकेको सहयोग गरें । दशैं खुसिसाथ मनाइयो ।

दशैंपछि म ससुराली गएँ र श्रीमतीलाई घर लिएर आएँ । मेरो अधुरो जीवन र अधुरो घर उनको आगमनले दरबार भयो । जीवन हाँसीखुसी बित्न थाल्यो ।

अब बाँकी रह्यो कान्छाको कुरा ।
कान्छाले मलाई छाडेर गएको केहि घण्टापछि त्यहि ठाउँमा आएको रहेछ । मलाई खोज्न भनेर । धेरै खोज्दा पनि नपाएपछि निरास हुँदै फर्किएको रहेछ । उसले पनि लाहुरमा भान्सेको काम गरेको रहेछ मैले जस्तै ।
सबैभन्दा अचम्म लाग्ने संयोग त यो छ कि, कान्छा पनि त्यहि साल दशैं मनाउन घर फर्किएको रहेछ, म भन्दा तीन दिन अगाडी । फेरि हाम्रो दोस्ती उस्तै भयो, बुढेसकालसम्मै पनि । (सत्य कथामा आधारित)

हजुरबाको कथा-१