• बिहीबार, ६ बैशाख, २०८१
  • ०५:१८:२४

जंगबहादुर राणाको मासिक तलब कति थियो ? 

  • Netizen Nepal
  • बुधबार, १४ बैशाख, २०७९- १७:२१:००/ Wednesday 04-27-22

नेटिजन नेपाल
काठमाडौँ, १४ वैशाख। एक सय चार वर्ष लामो राणा शासनमा जंङ्गबहादुर राणाले मात्र ३० वर्ष लामो शासन चलाए । सुन्दरी, शिकार र अफिमका साैखिन जङ्गबहादुरका रानी नै करिब ३ दर्जन थिए भनिन्छ । निरंकुशताका प्रतीक जङ्गबहादुरले सैन्य संगठन र युद्ध कौशलमा आफ्नो खुबी देखाए । नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) फिर्ता गराए ।

देशका लागि यस्ता कतिपय महत्वपुर्ण र राम्रा काम पनि जंगबहादुरले गरेका छन् । श्री ५ लाई खोपाको देवता बनाएर श्री ३ धारण गरी राज्यको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएका जङ्गबहादुरको तलबचाहिँ कति थियो त? यस जिज्ञासा समाधान हुने सामग्री नेपाली आर्थिक इतिहासका पायोनियर अन्वेषक महेशचन्द्र रेग्मीको सम्पादनमा रेग्मी रिसर्च सेन्टरले सञ्चालन गरेको रेग्मी रिसर्च सेरिज (वर्ष ८, अंक १:१६-१९)मा ‘दी राणा एलिट’ शीर्षकमा जङ्गबहादुर लगायत उनका भाइहरू, त्यस बेलाका गुरु पुरोहित र सेनाका अधिकारीहरूले पाउने वार्षिक खान्गी (तलब) को विवरण दिइएको छ । यो तलबमान वि.सं. १९१० को हो ।

जङ्गबहादुरलगायत केही राणाको तलब यस्तो छ :

प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणा रु. ८३,६२०/-
कमान्डर इन् चिफ बमबहादुर कुँवर राणा रु. ३२,६१३/-
जनरल कृष्णबहादुर कुँवर राणा रु. २२,०७२/-
जनरल रणोद्वीप सिंह कुँवर राणा रु. २२,४१०/-
जनरल जगतशमशेर कुँवर राणा- रु. २१,०९७/-
जनरल धीरशमशेर कुँवर राणा- रु. २१,८५३/-
जनरल (कपर्दार) भक्तवीर कुँवर राणा- रु. १९,००१/

त्यो तलबको वर्तमान मूल्य – रेग्मी रिसर्च सेरिज ( वर्ष ८, अंक १: १९) मा सन् १८५२ (विसं १९०८) को समयको अत्यावश्यक खाद्य वस्तुको मूल्यदर पनि प्रकाशमा ल्याइएको छ। त्यो समयको खाद्य वस्तुको मूल्यदर अनुसार जङ्गबहादुरले पाउने गरेको त्यो तलबमानको वर्तमान मूल्य निकै ठूलो हुन आउँछ ।

त्यो बेला एक रुपैयाँमा २२ माना मसिनो चामल आउँथ्यो । यस्तै एक रुपैयाँ मार्सी चामल ३० माना, तौली चामल ३२ माना, रहरको दाल १४ माना, मासको दाल २० माना र मुगी दाल १२ माना किन्न पाइन्थ्यो। एक रुपैयाँको एक धार्नी घ्यू किन्न पाइन्थ्यो।

यहाँ नेर जङ्गबहादुरले पाउने गरेको त्यस बेलाको तलबको अहिलेको घ्यूको मूल्य अनुसार मूल्यांकन गरौं । अहिले डीडीसी घ्यूको मूल्य प्रतिलिटर सात सय २० रुपैयाँ पर्छ । एक लिटर बराबर एक किलोग्राम हुन्छ भने दुई किलो पाँच सय ग्रामको एक धार्नी हुन्छ ।

यसअनुसार त्यस बेला एक रुपैयाँमा आउने एक धार्नी घ्यूको मूल्य अहिले एक हजार आठ सय रुपैयाँ हुन्छ । यसअनुसार मूल्यांकन गर्ने हो भने त्यस बेला जङ्गबहादुरले वार्षिक रुपमा बुझ्ने तलब रु. ८३,६२०/- को अहिलेको मूल्य रु. १५,०५,१६०००/ हुन आउँछ । यसअनुसार विसं १९१० मा जङ्गबहादुरको मासिक तलब अहिलेको रु. १,२५,४३०००/ थियो ।  ओल्ड फोटोज अफ नेपाल बाट