• बिहीबार, १९ असार, २०८२
  • ११:०४:२७

आफैंसंग बिहे गर्ने युवतीको निर्णयप्रति यसो भन्छन् मानशिक स्वास्थ्य विज्ञ 

  • Netizen Nepal
  • शनिबार, २१ जेठ, २०७९- १२:३३:००/ Saturday 06-04-22

नेटिजन संवाददाता 
काठमाडौँ, २१ जेठ । 'सोलोगमी' अर्थात्‌ व्यक्तिले आफ्नो बिहे आफैँसँग गर्ने चलन केही वर्षयता पश्चिमा देशमा बढ्दो क्रममा छ । अहिले त्यो भारतसम्म पुगेको छ ।

भारतको पश्चिमी राज्य गुजरातमा पर्ने वडोदरा सहरस्थित एउटा मन्दिरमा जुन ११ तारिखमा क्षमा बिन्दुको परम्परागत हिन्दू वैवाहिक समारोह हुने तय भएको छ ।

हातमा मेहन्दी र सिउँदोमा सिन्दूर लगाएर दुलहीले लगाउने रातो वस्त्रमा सजिएकी बिन्दुले जग्गेमा सात फेरा लगाउने बताइन् ।

हल्दी (तेल र बेसार मिसाएर दुलहीको जीउमा दल्ने) र सङ्गीत कार्यक्रम बिहेअगाडि सोही दिन गरिने छ। 
 बिहेपछि दुई साताका लागि हनीमून मनाउन गोवा जाने उनको योजना छ । तर यी सबै प्रक्रियामा दुलहा भने हुने छैनन् । भारतमा आफैँसँग "बिहे" यो सम्भवतः पहिलो मामिला हो ।

'आफैँलाई माया गर्न'

"मानिसहरू म निकै आकर्षक भएको बताउँछन्," समाजशास्त्र अध्ययनरत २४ वर्षीया बिन्दुले भनिन्, "म उनीहरूलाई भन्छुः हेर्नुहोस्, मैले आफैँलाई पाएँ ।" उनी ब्लगर पनि हुन् ।

आफैँसँग बिहे गरेर बिन्दुले आफ्नो जीवन "आफैँलाई माया गर्न" समर्पित गर्ने बताइन् । "आफैँसँग बिहे गर्नु भनेको आफ्नो लागि आफू प्रतिबद्ध हुनु हो। जीवन्त, सुन्दर एकदमै खुसी हुन सक्नेगरी जीवनयापन र जीवनशैली रोज्नु हो," उनले भनिन् । "यो मैले मेरा सबै फरक पक्षलाई पनि स्वीकार्छु भन्ने देखाउने तरिका पनि हो खासगरी ती पक्ष जसलाई म अस्वीकार गर्छु अथवा स्वामित्व लिन्नँ - चाहे त्यो शारीरिक होस् वा मानसिक वा भावनात्मक होस्। मेरो लागि बिहे भनेको आत्मस्वीकारोक्तिको एउटा गम्भीर कार्य हो। म के भन्न खोजिरहेकी छु भने म आफ्नो सबै पक्षलाई स्वीकार्छु, त्यो पक्ष पनि जुन राम्रो मलाई लाग्दैन," बिन्दुले भनिन्।

बिन्दुको परिवारका सदस्यले मलाई बताएअनुसार उनीहरूलाई उनलाई आशीर्वाद दिइसकेका छन् र बिन्दुका साथीहरूसँगै उनीहरू पनि वैवाहिक समारोहमा सहभागी हुने छन् । "मेरी आमाले 'तिमी त सधैँ केही न केही नयाँ सोच्छ्यौ' भन्नुभयो। खुला विचारधारा भएका मेरा आमाबुवाले त्यसलाई सहज रूफमा लिनुभयो। वहाँहरूले 'तिमी खुसी छ्यौ भने हामीलाई केही समस्या छैन' भन्नुभयो।"

झन्डै २० वर्षअघि अमेरिकी शृङ्खला 'सेक्स एन्ड सिटी' मा निकै लोकप्रियता कमाएकी एक पात्र क्यारी ब्र्याड्शले आफैँसँग बिहे गर्ने विचार अघि सारेपछि पहिलो पटक त्यो समाचार चर्चाको विषय बनेको थियो। तर त्यो हास्यव्यङ्ग्यात्मक नाटक मात्र थियो।

त्यसयता सो प्रकृतिका सयौँ "बिहेहरू" खासगरी एकल महिलाहरूले गरेका रिपोर्टहरू सार्वजनिक भएका छन् । सबैभन्दा असामान्य लाग्ने एउटा घटनाको रूपमा ब्रजिलकी ३३ वर्षीया मोडलले आफैँसँग "बिहे" गरेको तीन महिनापछि "सम्बन्धविच्छेद" गरिन् । यस्ता कथाहरू अझै सामान्य भइनसकेको भारतमा बिन्दुको आसन्न बिहे चर्चाको नयाँ विषय बनेको छ।

आश्चर्यचकित

मैले कुरा गरेकी एक मानसिक स्वास्थ्यविद्‌ सोलोगमीलाई जसरी प्रस्तुत गरिएको छ त्यसप्रति "आश्चर्यचकित" जस्तो देखिइन् । "मेरो लागि त्यो एकदमै अनौठो अवधारणा हो," चण्डीगढस्थित मनोचिकित्सा प्राध्यापक सबिता मल्होत्राले भनिन् । "सबैले आफूलाई माया गर्छन्। तपाईँले त्यसलाई भङ्ग गर्नुपर्छ अथवा आफूले आफूलाई माया गरेको देखाउने बाहिरी स्वाङ पार्नुपर्दैन। सबैमा अन्तर्निहित हुन्छ र बिहे भनेको दुई पक्ष एक हुनु हो," उनले भनिन्।

यो समाचारबारे सामाजिक सञ्जालमा पनि बहस सुरु भएको छ । कतिपयले धेरैका लागि उनी प्रेरणा बन्ने छिन् भनेर प्रशंसा गरिरहेका छन् भने धेरै जनाले सोलोगमीको अवधारणा चुनौतीपूर्ण र बाह्य हो भन्ठानेका छन् । तर आलोचकहरूलाई बिन्दुले भन्नुपर्ने "एउटै कुरा" छः "कोसँग बिहे गर्ने कुरा मेरो निर्णय हो, चाहे महिलासँग होस् कि पुरुषसँग अथवा आफूसँगै।"

"म आफूसँग बिहे गरेर सोलोगमीलाई सामान्य बनाउन चाहन्छु। म मानिसहरूलाई भन्न चाहन्छु कि तपाई संसारमा एक्लै आउनुभएको छ र एक्लै जानुहुन्छ। अतः तपाईँले जति तपाईँलाई माया गर्ने अरू को हुन सक्छ? यदि तपाईँ लड्नुहुन्छ भने आफूलाई उठाउने तपाईँ आफैँले हो।" विविसी ।