• बिहीबार, ६ बैशाख, २०८१
  • ११:१८:२५

उ कहिल्यै मर्दैन !

गीता अधिकारी 
जेठ महिना काठमाडौंमा पनि हपक्क गर्मी थियो । साँझको सात बज्नै लागेको थियो । गर्मी महिनामा त सात बजे पनि उज्यालै हुने । मैले आफ्नो रफ्तार बसस्टपतिर बढाएँ । दिनभरी आ-आफ्नो कामले बाहिर निस्किएका मानिसहरु बासस्थानतिर जान आतुर देखिन्थे । घरको याद आएर हो की उनीहरुको हिँडाई नै त्यस्तै हो म बुझ्न सक्दिन । काठमाडौँमा एकाध बाहेकका मानिसहरु ठेलमठेल र दौडादौड गरेरै हिँडिरहेका हुन्छन । म पनि त्यहि भिडमा मिसिन पुग्छु । मेरो रफ्तार भने त्यति बेगको थिएन । के नै जित्नु थियो र हतार हतार कुद्नु ? 

झम्केसाँझ पर्नै लागेको थियो । रत्नपार्कको पार्कअगाडी कोहि गीत गाउँदै थिए । आँखा देख्न नसक्ने ती मानिसहरुको आवाज भने औधि मिठो । भगवानले पनि सबै कुरामा ठग्दैनन् । कसैलाई के दिएर पठाएका हुन्छन् त कसैलाई केहि । आँखा देख्ने मानिसहरुमा त्यति क्षमता नहुन सक्छ । उनिहरुले पनि आफ्नो सिप उपयोग गरेर जिविकोपार्जन गरिरहेका छन् । जुन कुराको कदर हामी सबैले गर्नुपर्छ । दुवै हातखुट्टा नभएका, शरिरका अङ्गहरु चल्न नसक्ने, कसैको चल्न चटपटाउनै नसक्ने अस्वभाविक शरिर, शरिरबाट रगत पिप बगिरहेका केहि मानिसहरु बाटोको छेउमा बसेर माग्दै थिए । यस्तो अवस्थाका मानिसहरुलाई कसले सडकको छेउमा लगेर माग्न राखिदिन्छ ? हुन त सबै मानिस दुखी छन् । पिडा सबैलाई छ । तर यस्तो किसिमको पिडा कसैलाई पनि नहोस् । उनिहरुको बिजोग देखेपछि मलाई एलन मस्क भन्दा पनि धनि हुन मन लाग्छ । जसले गर्दा ति दिन दुःखीको म सहयोग गर्न सकुँ ।  

‘मर्ने कसैलाई रहर हुँदैन’ साउण्ड सिस्टममा गीत घन्काएर कोहि पुलमुनि र केहि पुलमाथि बसेर माग्दै थिए । अलि पर बाटोमा मोबाइलको सिसा फेर्ने ९० मा, मोबाइलको सिसा फेर्ने ९० मा । त्यसकै छेउपट्टी घोडाको नालको औंठी र पहाडी मस्ताना तेल लगाउँ, ढाड कम्मर, कुन्नि के के दुखेको सबै निको हुन्छ भन्दै थिए । जे बेच्न राखेको छ, त्यहिँ मान्छेहरु झुम्मिएका थिए । मैले कतै सुनेकी थिएँ, काठमाडौंमा जे पनि बिक्छ । त्यो भिडमभिड देख्दा त जो कोहिले पनि सजिलै भन्न सक्छ, हो काठमाडौंमा सबै चिज बिक्छ । बोल्न सक्नुपर्यो, बिकाउन सक्नुपर्यो । बिकाउन भन्दा पनि भिडाउन सक्नुपर्यो ।

अलि पर अर्को आवाज सुनियो ‘५ सयमा २ टा टिसर्ट, ५ सयमा २ टा ।’ ओहो ! यस्तो महंगीको जमानामा पनि यी मानिसहरुले कति सस्तोमा कपडा बेचेका ? पाँच वर्षअघि पनि ५ सयमा दुईटा नै आउँथ्यो, अहिले पनि ५ सयमा दुईटा नै आउँछ । सायद यी साहुजीहरुलाई पेट्रोलको भाउ बढेको हेक्का नै भएन कि । मान्छेका भाउ बढेर चाँही कतै सामानको भाउ सस्तिएको त होइन ? मनमा यस्ता खाले उट्पट्याङ सोच पनि नआएको होइन । 

रात पर्नै लागेकाले मैले आफ्नो रफ्तारलाई सिधै सुन्धारातिर सोझ्याएँ । केहिबेर कुरेपछि गाडी आइपुग्यो । ‘कालिमाटी, कलंकी, सितापाईला, स्वयम्भु, स्वयम्भु’ सहचालक चिच्याउँदै थिए । कस्तो लय मिलाएर भन्न जानेको । मलाई त सिकायो भने पनि भन्न आउँदैन । ‘कालिमाटी, कलंकी, सितापाईला, स्वयम्भु स्वयम्भु आउनुस्, आउनुस्’ सहचालकले फेरि भट्याए । म खुरुक्क गएर बस चढें । सहचालकले आउनुस् भनेर म बसमा गएकी चाँही होइन । मलाई जानु नै थियो ।

दायाँबायाँ हेरे गाडीका लगभग आधा आधि सिट भरिनै लागेको थियो । ढोका सामुन्ने दायाँ साइडमा महिला सिट लेखिएको थियो । महिला सिट देख्नेबित्तिकै मनमा एउटा प्रश्न उब्जियो, ‘महिला पुरुष बराबरी भन्ने तर सिटचाहिँ महिलालाई मात्रै छुट्याउने ?’ फेरि त्यो सिट खाली नै भएपनि पुरुषहरु बस्दैनन । महिला चढे भने उठाइहाल्छन् भनेर । बलिया महिलाहरुले पनि महिला भएकै भरमा सिटमा गएर ढसमस्स बस्ने र स्वास्थ्यका हिसाबले कमजोर पुरुषहरु त्यहि सिटको छेउपट्टी चुपचाप चुपचाप उभिने । यो कस्तो बेमेल ? 

महिला सिटमा बस्न मन लागेन । अब बाँकी जेष्ठ नागरिकको सिट थियो । कोहि बृद्धबृद्धा आए भने सिट छोडिदिउँला । त्यहि सोचले म त्यहि खाली सिटमा गएर बसें । गाडिको झ्यालको छेउमा बसेर हावा खाँदै दौडादौड गरिरहेका गाडी, बाइक र मान्छेहरु हेर्नुको मज्जा नै बेग्लै । 
कालिमाटी, कलंकी, सितापाईला, स्वयम्भु स्वयम्भु सहचालकले भट्याउन छाडेका थिएनन् । गाडीको पुरै सिट भरिएर उभिने ठाउँबाट अलिअलि मात्र हावा छिर्ने ठाउँ बाँकी हुने बेलासम्म नि उ यत्तिकै भट्याइरहन्छन् । त्यहिबेला एकजना ढोकाबाट भित्र छिर्यो । हेर्दा फिट, हट्टाकट्टा, ह्यान्डसम । ओहो ! ठ्याक्कै मेरो सपनाको राजकुमारजस्तै । यस्ता राजकुमारहरु बेलाबेला आँखाका सामु आइराख्छन् । जसलाई जति हेरे पनि मन अघाउदैन । तर केहि समय भेटिएका राजकुमारहरु त केवल आकर्षण हुन् । तर आकर्षण पनि प्रेमकै पर्याय हो । आकर्षण कुनै क्षणीक हुन्छन भने कुनै लामो समयसम्म । हो त आखिर प्रेम नै । क्षणीक प्रेम कस्तो हुन्छ भने जसले हाम्रो आँखालाई शान्ति दिन्छ, जसलाई हेर्दा हाम्रो मुहारमा मुस्कान छुटछ । कहिलेकहिँ बाटोमा हिड्दै गर्दा कसैसँग एक्कासी नजर जुध्छ र नजर झुक्छ । त्यो पनि प्रेम हो क्षणिक। तर त्यहि क्षणिक प्रेम पनि कति मिठासपूर्ण हुन्छ । सम्झना रहेसम्म उसको हेराई र लजाईले मक्ख बनाईराख्छ । 

म फेरी झ्यालबाट बाहिर हेर्न थाले । ‘एक्सक्युज मि म यहाँ बस्न सक्छु ?’ ओहो ! उ त मेरै सिटमा पो आएर बस्न लागेछ । गाडी चढेका त्यत्तिका मानिसमध्ये मैले उसैलाई नोटिस गरेकी थिएँ, उ नै मेरो छेउमा आइपुग्यो । कस्तो संयोग । कहिलेकाहिं त संयोग पनि कस्तो अचम्मको भइदिने । संयोगलाई पनि थाहा हुने मनको कुरा । मुसुक्क हाँसे र टाउको हल्लाएँ । उ मसंगैको खाली सिटमा बस्यो । जेष्ठ नागरिक सिटमा । म बृद्धा अनि उ बृद्ध । मनमा झ्वाट्ट शिशिर योगीको गितको झल्को आयो । ‘तिमी भयौ बुढी पिपल, म त बुढो बर, जिन्दगीको चौतारीमा एक अर्काको भर ।’ कल्पनामा हराउन, कल्पनामै पागल हुन कति रमाइलो । बास्तविक जिवन कहाँ कल्पना गरेको जस्तो हुन्छ र ? 

पागल मन के के सोच्न थाल्यो के के । सोचेको कुरा सबै देखिने भए मानिसले मुखमा मात्र होइन, पुरै अनुहारभरी ढाक्नेगरि मास्क लगाउने थिए होला । यस्तै कुरा सम्झिएर म मनमनै मुस्कुराउँथें । म मुस्कुराएको देखेर उ पनि बेलाबेला मुस्कुराइदिन्थ्यो । सुन्धारादेखि कलंकीसम्म त्यहि २०÷२५ मिनेटको बाटो होला । तर साँझको समय भएकाले हल्का फुल्का जाम थियो । कुनै बेला पट्यारिलो लाग्ने जाम त्यस दिन किनकिन सारै रोचक भईरहेको थियो । राम्रो मान्छे छेउमा बसेर पो हो कि । 
‘तपाईं कहाँ जाने हो ?’, उसले प्रश्न गर्यो । 
उ बोल्ला भनेर सोचेकी थिइन । तर बोल्यो । 
‘कलंकी’, मैले जवाफ दिएँ । उसको गन्तब्यचाहिं स्वयम्भु रहेछ । 
‘स्वयम्भु मलाई मन पर्ने ठाउँ हो । म प्राय: त्यहाँ गइरहन्छु’, कुरा अगाडी बढाउने तरिका थियो यो ।
उ मसँग सहज तरिकाले कुरा गर्दै थियो । उसको सहजता र हार्दिकता देख्दा लाग्दैनथ्यो कि हामी आज मात्र चिनजान भएका हौँ। यो चिनजान त वर्षौदेखिको हो । ल कलंकी झर्नुस त ढोकाबाट सहचालक कराए । म हतार हतार झर्न लागे । 

‘फोन नम्बर देउ न’, उसले भन्यो ।
मैले पनि बिना संकोच उसलाई आफ्नो फोन नम्बर दिएँ । उसले मसँग मेरो फोन नम्बर किन माग्यो । दिउँ कि नदिउँ भयो । चानचुने भाउ खाने स्वभावको केटी त होइन म । उसंग किन यति मजाले बोलिरहेकी हुँ आफैंलाई अचम्म लागिरहेको थियो । सायद उसले जित्यो । उसको बोलिले जित्यो । संसार जित्न पनि अरु केहि चाहिंदैन । बस् बोलि र व्यवहारमा मिठास र हार्दिकता चाहिन्छ । मैले आफ्नो नम्बर दिएँ र गाडीबाट झरें ।   

उसको अनुहार, बोली र त्यो मुस्कान आँखाभरी नाचिरह्यो धेरै दिनसम्म । सायद उसले मलाई फोन गर्नेछ । मनको घण्टी बजेर होला मोवाइलको घण्टी अवश्य पनि बज्छ भन्नेमा म विश्वस्त जस्तै थिएँ । दिन बित्यो हप्ता बित्यो । अनि महिना पनि बित्नै लागेको थियो । फोन आएको थिएन । फोन त आएको थियो तर उसको आएको थिएन । हुन त हरेक दिन बस चढिन्छ । तालतालका सयौं मानिसलाई भेटिन्छ । क–कसलाई सम्झनु । कसलाई सम्झिएर साध्य लाग्छ र ? 
सधैंजस्तै बिहान उठेर भान्साको काम गर्दै थिएँ । फोनको घण्टी बज्यो । 
‘हल्लो’, आवाज उतैबाट आयो । 
बोली पनि कति मिठो । कतै सुने सुनेजस्तो । 
‘म प्रेम’, उसले सिधै आफ्नो परिचय दियो । गाडीमा उसले आफ्नो नाम बताएको थियो ।
उसलाई एकचोटी नचिनेझैं गरेर ‘को प्रेम ?’ भन्न मन लागेको थियो तर भनिन । नाम सुन्नासथ उसलाई चिनिहालें । खुसिले धन्न पागल भइन । 

सामान्य हालखबर र कुराकानी पछि उसले फोन राख्यो । पहिलो फोन पछि उसले हप्ता दिनमा फोन गर्यो । त्यसपछि २÷४ दिन बिराएर र पछि दिन दिनै र घण्टा घण्टामा हाम्रो फोनमा कुराकानी हुन थाल्यो । कुराकानी नभाको दिन अति खल्लो लाग्ने, बानी परेछ उसको सायद ।

उसलाई पनि मलाई जस्तै हुँदो होला कि नहोला । आफैँसँग प्रश्न गर्थें । उसको फोन र म्यासेजकै भर भयो । झन्डै १ वर्षसम्म आधि घण्टाको गाडीको यात्रा र १ वर्ष नदेखी नभेटी कुराकानी कस्तो अचम्म । त्यो बिचमा हामीले भेट्ने कुरा पनि गरेनौ । समय आएपछि भेटौला भनेर कुरा मात्रै गरेर बसियो । एकदिन उसले एक्कासी आत्तिएको आवाजमा फोन गर्यो  । म शुन्य भएँ । कानमा एउटा नमिठो आवाज आयो, ‘म मर्दैछु । मलाई बिर्सिदेउ अब । मेरो फोनको प्रतिक्षा नगर । अनि मलाई सम्झिंदा पनि नसम्झ ।’ उसको रुन्चे स्वर सुनेर मैले प्रश्न गरें, ‘के भयो ?’
उसले जवाफ दिएन । डाँको छोडेर रुन थाल्यो । मैले पनि मन थाम्न सकिन । हामी धेरै बेरसम्म यत्तिकै रोईरह्यो । त्यसपछि उसले च्वाट्ट फोन राख्यो । उसलाई के भएको थियो बुझ्नै सकिन । अरुको मनमा के चलिरहेको छ कसरी बुझ्नु ? 

पछि धेरैपटक उसको नम्बर डायल गरें तर फोन पटक्कै लागेन । मन आत्तियो, के गर्ने के गर्ने भयो । यति धेरै कुराकानीमा हामीले ठेगाना भन्न भुलेको रहेछौ । जो जहाँ बस्छ त्यो नै उसको बासस्थान हुन्छ भन्ने मलाई लाग्थ्यो । उ मेरो मनमा बसेको थियो । त्यसैले उ कहाँ बस्छ के गर्छ मैले सोधिन । यत्ति थाहा थियो उ मेरो मनमा बस्छ । उ राजा हो मेरो मनको । ठाउँ पनि नसोधेर ठुलो गल्ति गरे भन्ने लाग्यो । उसलाई खोज्ने ठाउँ फोन भन्दा बाहेक अन्त कतै थिएन। आफ्नै मनभित्र खोजिरहे अन्तरकुन्तरमा तर भेटिएन । उ जहाँ भए पनि उसको भलो होस् । मेरो भलो चिताउने सबैको भलो हुनुपर्छ । प्रेम जिउँदै त छ होला नी ? होइन प्रेम अमर छ । अजर छ । उ कहिल्यै मर्दैन । उ कहिल्यै सकिंदैन ।