• शुक्रबार, ७ बैशाख, २०८१
  • ११:५०:१३

भारतमा एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७८१

  • Netizen Nepal
  • सोमबार, ६ असार, २०७९- १६:२८:००/ Monday 06-20-22

नेटिजन नेपाल 

काठमाडाैं, ६ असार । भारतमा कोरोना भाइरसबाट थप १२ हजार ७८१ सङ्क्रमित भएका छन् । आइतबार मध्यराती अर्थात गत २४ घण्टाको समयावधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो ।

भारतमा गत बुधबारबाट सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । यसैवर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए । भारतमा आइतबार १२ हजार ७८१ कोरोना सङ्क्रमित थपिएपछि भारतमा सन् २०२० को मार्चबाट शुरु भएको कोरोना सङ्क्रमितको कुल सङ्ख्या चार करोड ३३ लाख भन्दा बढी पुगेका छ ।

यसमध्ये ७६ हजार ७०० सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१६ प्रतिशत हो । पछिल्लो एक दिनमा आठ हजार ५१८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ९९ हजार ३६३ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६२ प्रतिशत रहेको छ ।

कोरोना महामारीबाट आइतबार भारतमा १८ को मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८५० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड १९ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । ८५ करोड ८० लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ । एजेन्सी ।