• बुधबार, ५ बैशाख, २०८१
  • ०१:४७:१७

विदेशमा अलपत्र हजार नेपाली कामदारको उद्धार 

  • Netizen Nepal
  • आइतबार, १२ असार, २०७९- १७:२६:००/ Sunday 06-26-22

नेटिजन संवाददाता 
काठमाडौँ, १२ असार। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दाे बनाउन सरकारले विशेष ध्यान दिने बताउनुभएको छ । उहाँले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा अलपत्र एक हजार १२ जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या वृद्धिसँगै यस क्षेत्रमा देखिएका विकृतिको अन्त्यका लागि अनलाइन प्रणालीबाट श्रम स्वीकृति दिन थालिएको र गुनासा तत्काल सम्बोधनको व्यवस्था गरिएको स्पष्ट गर्नुभयो ।

तोकेभन्दा बढी रकम लिने म्यानपावर कम्पनीलाई कारबाहीको दायरामा ल्याई पीडित श्रमिकलाई राहत दिइएको, वैदेशिक रोजगार हेर्नेगरी अलग्गै प्रहरी युनिट खडा गर्ने तयारी भएको, पीडितलाई क्षतिपूर्ति दिनेक्रम जारी रहेको अवगत गराउनुभयो ।

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एक लाख २१ हजारको रोजगारी सिर्जना गरिएको, सामाजिक सुरक्षा कार्यक्रममा वृद्धि हुँदै गएको, युवाको सीप सिकेर रोजगारमा जानेको सङ्ख्या वृद्धि हुने र मन्त्रालयको सेवा प्रवाहमा सुशासन तथा सुधारको क्रम वृद्धि हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभयो ।

सभाको आगामी बैठकमा बाँकी रहेका मन्त्रालयगत विभिन्न शीर्षकमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने तय भएको छ । सभाको अर्काे बैठक यही असार १३ गते सोमबार बिहान ११ बजे बस्नेछ ।