• मंगलबार, ११ बैशाख, २०८१
  • ०१:१३:२१

ओहो! कस्तो दुब्लाको ?

भदौको महिना, बिहानबेलुकी हल्का चिसो सिरेटोले हान्न थालेको भए पनि दिउँसोको उत्ताउलो घामले सताउन छाडेको थिएन । दिउँसो त्यस्तै १२-१ बजेको हुँदो हो । म पसिना पुछ्दै उकालो लाग्दै थिएँ । शरीरबाट बगेको पसिनाबाट उम्लिएको पानीमा जस्तै बाफ आउन मात्र बाँकी थियो । के बिधि चर्किन सक्या ? घाम पनि के भन्नु यो बेला त आगो बल्छ आगो । हुन त उखानै छ नि 'सिजनको काम, भदौरे घाम'। प्रकृतिले दिएका हरेक कुरालाई स्वीकार गर्नुपर्छ । मान्छे प्रकृतिभन्दा ठुलो त कदापी हुन सक्दैन । प्रकृतिको अघि मपनि विवश भएँ, सेकिन, रापिन ।

दिउँसोमण्डलको पारिलो घाममा सेकिँदै असिनपसिन हुँदै म उकालो लाग्दै थिए । कमसेकम यस्तो बेलामा एउटा छाता त सँगै बोकेर हिड्नुपर्छ नि, मपनि उस्तै बुद्धु । हुन त मैले छाता बोकेको दिन न घाम चर्किन्छ, न पानी पर्छ । अनि छाता नबोकेको दिनमै चाँही कहिले सेकिनुपर्छ, कहिले रुझ्नुपर्छ । उकाली लाग्दै गर्दा बीच बाटोमा पिपलको बोट थियो । सारा गर्मी भुलेर म पिपलको छहारीमा चिसो हावा खान थालें । ५ मिनेटसम्म त चिसो हावा पनि चिसो लागिरहेको थिएन ।  त्यसपछि चाहिं अलिअलि सास आयो । दायाँबायाँ आँखा डुलाएर हेरें ।   मेरो छेवैमा एकजना छिमेकी आन्टी हुनुहुँदो रहेछ । उहाँ पनि चौतारीमा बसेर चिसो हावा खाँदै हुनुहुन्थ्यो । 
'ओहो नानी, कता पुगेर ?' आन्टीले सोधिहाल्नुभयो ।  
'बजारसम्म, तपाइँ नि ?', मैले सोधें ।  
'म पनि बजार गएर आको', उहाँले जवाफ दिनुभयो ।  
'अनि ब्यानै भन्नुपर्थ्यो नि, संगै जानुहुन्थ्यो', आन्टीले फेरी कुरा सुरु गर्नुभयो ।  
आन्टीको अलि धेरै बोल्ने बानी थियो ।  जसका कारण मलाई उहाँको वरिपरि जान मनै लाग्दैनथ्यो । आज संयोगले भेट भएर मात्र नत्र म सकेसम्म बाटो काटेर हिड्थे ।  आन्टीलाई भेटेपछि एउटा न एउटा खोट लगाउनुहुन्थ्यो ।  कहिले रुपको, कहिले कपडाको, कहिले पढाइको । त्यति त ठिकै थियो, मेरै अगाडी मेरो घर परिवारको कुरा काट्न समेत भ्याउनुहुन्थ्यो । आफ्ना मान्छेहरुको बिरुद्धमा उठाएर परिवार परिवार बिचमा नै कलह ल्याइदिने बानि समेत थियो उहाँको।  उहाँलाई हामी बोलिचालीको भाषामा भाइरस आन्टी भन्ने गर्थ्यौं ।  यो हाम्रो कोडिङ सिस्टमको भाषा थियो, आफ्नो परिवारलाई मात्र थाहा भएको ।   

आन्टीको बोली सुरु भइसकेको थियो ।  'पक्कै पनि इनले अब मेरो कुरा काट्न थाल्छिन्', मनमनै सोचें । 
अनि कान र मनलाई तयार पारें, काटिएको कुरा सुन्न ।  
'ओहो नानी तिमी त कस्ती काली भएछौ', उहाँ पड्किन सुरु गर्नुभयो । मुरली मकै पड्किएजस्तै ।  
मेरो सेलाउनै लागेको पारो तातेर आयो । अरे बाबा ! मध्यान्हको घाममा हस्याङ्गफस्यांग गर्दै उकालो चढेको मान्छे थोडी हिउँजस्तो भएर निस्कन्छ । घामको रापले कालो निलो नै त हुन्छन ।
 'आन्टी ऐना हेर्नुस त एकपटक' भन्न मन थियो तर 'छोटी मान्छे बढी बात किन गर्नु' भनेर चुप्पै बसे । 
ल म काली नै छु ।  हाँडीभन्दा पनि काली छु त के भयो ? दुनियाँलाई म काली भएर के हुन्छ ? छक्क पर्नु छ । 

बानी व्यवहार त प्रयास गर्यो भने परिवर्तन गर्न सकिएला ।  तर रुप, रंग कसैले पनि भनेअनुसारको बनाउन सक्दैनन् । मेरो दुई, तीन पत्री छाला काट्यो भने पनि शरीर कालो नै देखिन्छ । म काली नै छु ।  मेरो रुपमा मलाई कुनै चिन्ता छैन भने उहाँलाई किन चिन्ता भयो  ? या उनले मलाई चिन्ता बढाइदिन यस्तो भन्नुभएको ? 

मैले फिस्स हाँसेर टारिदिएँ ।  उहाँलाई आफ्नो कुराको बेवास्ता गरेको महसुस भएछ क्यार ।  फेरि अर्को तीर हान्न तयार हुनुभयो ।  
'ओ हो तिमी त कस्तो दुब्लाएकी, किन ?', उहाँले प्रश्न गर्नुभयो ।  
'म किन दुब्लाएँ ? म कहिले मोटी थिएँ ? तपाइँले मलाई कहिले मोटी देख्नुभएको थियो ?', म झनक्क हुँदै सोधें ।  
'यस्तो दुब्ली त थिएनौ भो ।  अहिले त धेरै नै दुब्लाएकी हौ ।  बरु भन के तनाब भयो ? के चिन्ता लिन्छौ ?', उहाँ अझै दृढ भएर सोध्नुभयो ।  
भन्न त मन थियो, तपाइँजस्तै प्रश्न गर्ने मानिसका कारणले ।  आफुलाई केहि भएको छैन भने पनि कुराले नै बिरामी परिदेलान् जस्तो ।
'खै', मैले सेकेण्डभरको जवाफ दिएँ ।  
'होइन होइन, यो उमेरको मान्छे हट्टाकट्टा नै हुनुपर्छ ।  पक्कै पनि केहि कारण हुनुपर्छ ।  कसैसंग चक्कर सक्कर त छैन नि  ?',यति लामो फुँदा गाँसेर उहाँले जान्न खोजेको कुरा यहि थियो । सोधेरै छाड्नुभयो।  
ए बाबा, उमेरको मान्छे हो ।  कोहि मन परेको रहेछ भने पनि के फरक पर्यो र ? माया लाउने बैंशमा त हो नि ।  उहाँको जस्तो ५० वर्षे उमेरमा त मायाको महत्व युवा उमेरमा जस्तो हुँदैन होला नि ।  
उहाँ अझै रोकिनुभएन, ' हेर यो लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा कति दुब्ली ।  अब तिम्लाई कसले हेर्छ ? कसले लैजान्छ ?' 
अब चाहिँ साँच्ची नै आन्टीलाई त्यहि बरको रूख उखालेर हान्दिउ झैँ लाग्यो । उहाँको बिचारमा अट अरु कसैका लागि पो राम्री हुनुपर्ने रहेछ  . मोटी खाइलाग्दी हुनुपर्ने रहेछ । 
'तपाईंकी छोरी पनि त दुब्ली छे । उ के कारणले दुब्लाई ? कसको मायामा परेर दुब्लाई ? बिहे गर्ने उमेरकी तपाईंकी छोरीलाई कसैले नहेर्ला नि', मेरो कुराले आन्टीको मुख कालो भयो ।  
आफ्नो दुनियाँ नै बिर्सेर अरुको चासो राख्नेहरुलाई उनीहरुका बारेमा थोरै मात्र जागरण दियो भने  पनि अनुहार हेर्न लायकको हुन्छ ।
'ल ल भो मेरो बारेमा केहि भन्नु पर्दैन । मलाई थाहा छ मेरो छोरा छोरी कस्ता छन् भनेर', आन्टी जाउँ पनि नभनी त्यहाँबाट जुरुक्क उठेर हिड्नुभयो ।  
बास्तबमा मैले उहाँलाई केहि भन्नु त नहुने हो ।  उमेरका हिसाबले पनि म कच्चा नै हुँ उहाँभन्दा । तर सकिन । मैले उहाँलाई होइन ।  उहाँको कुरा काट्ने बानिलाई जवाफ फर्काएकी हुँ ।  

मेरो शारीरिक बनोटलाई लिएर कुरा काट्ने आन्टी मात्र पहिलो व्यक्ति भने होइन । बाटोघाटो, चोक, गल्लि जहाँ पनि चिनेजानेको मानिस भेटियो भने उनीहरुले हालखबर सोध्नुको सट्टा यहि भन्छन, 'ओहो कति दुब्लाएकी ?'  घरि घरि त यस्तो लाग्छ, 'म दुब्लाउँदा दुनियाँ नै चिन्तामा छ । मेरो कति धेरै माया लागेको ।  कति धेरै ख्याल राखेका ? म सबैकी प्यारी रहेछु कि क्या हो ?'

तर होइन, घुमाइ फिराइ सबैले आन्टीले जस्तै कुरा गर्छन्  र दुब्लो हुनुचाहिं समाजको रितभन्दा बाहिरको कुरा हो जसरी व्यंग्य गर्छन । मेरो शरीर बच्चैदेखि नै अलि पातलो खालको थियो।  म दुब्ली होइन, यो मेरो विशेषता हो । फेरि ऐना हेर्दा, फोटो खिच्दा मलाई आफु दुब्ली छु जस्तो पनि लाग्दैन ।  आफ्नो स्लिम शरीर देखेर मलाई कुनै दिन चिन्ता लागेको छैन । दुनियाँले मलाई किन चिन्तामा धकेल्न खोज्छ ? मैले बुझ्ने सकेको छैन।     

कुरा गर्ने कुरा नै नपाए नबोल्नु । नबोली त हिड्न हुँदैन जस्तो लागे फिस्स हाँस्दिनु ।  नाना थरिका तोरी कुरा गरेर दिमाग किन तताइदिनु ? 
हुन त भगवानले दिएका सबै कुराको उपयोग त गर्नु पर्यो नि। आँखाले संसार नदेखे, कानले  नसुने, खुट्टाले पाइला नबढाए अस्तित्वको के काम ? बेकार भएन र ? मुखको काम ग्वामकाग्वाम खाने मात्र होइन बोल्ने पनि पनि हो। 'बोली' शब्द झट्ट हेर्दा र सुन्दा सहज लागे पनि यो निकै भारी छ । बोलि बोलीमा मात्र सिमित भईदिए त त्यो बोलि के बोलि । कुनै कुनै बेलाका बोलि बन्दुकका गोलिभन्दा पनि बढी चोटिला हुन्छन। तिरभन्दा पनि बढी पेचिला हुन्छन । मुटु नै चसक्क हुने । तर मुख अरुको कुरा काट्नका लागि मात्र बनेको होइन । त्यो गहिरो ओडारबाट राम्रो र असल वाणी पनि फुत्त फुत्त निकाल्न सकिन्छ नि ।  

मान्छे अचेल बोल्दैनन प्रहार गर्छन बोलिका झटाराहरुले । एकले अर्कोलाई उडाउने, उल्ल्याउने यस्तै यस्तै । मान्छेलाई बोलेरै जित्नुपर्छ। नबोली जित्ने त केवल मुर्तिहरुले हुन् । मुर्तीले न आशिर्वाद दिएको थाहा छ, न गालि गरेको थाहा छ । न यो खान्छु भनेको छ, न  मेरो पुजा गर भनेको छ । तैपनि म दुनियाँकै बाठो हुँ भनेर अरुमा खोट देखाउँदै हिड्नेहरु त्यहि मुर्तिको अगाडी गएर नानाथरि बिलौना गरिरहेका हुन्छन् । मानिसलाई त जवाफ फर्काइहाल्नुपर्छ, झटारोले ठोकिहाल्नुपर्छ । अचम्मको छ दुनियाँ।      

दुनियाँ रुपमा भुलेको छ । 'रुप होइन मन राम्रो हुनुपर्छ' भन्ने मान्छे पनि कयौं भेटिन्छन तर देखावटी संसारमा बनावटी भाषण चुट्न कसलाई आपत्ती ? हुन्छ अनि स्वरुप पनि ? बरु मानिसले सबैलाई राम्रो देख्दैन । त्यो उसको कमजोरी हो, उसको आँखाको कमजोरी हो । आँखाले नदेखी मानिसलाई पहिचान गर्ने हो भने दुनियाँ अझै सुन्दर देखिन्छ । शरीर त केहिछिनको  भ्रम हो । जुन सानोमा क्युट, जवानीमा अभारिलो, हट्टाकट्टा र बुढो भएपछी चाउरी पर्दै जान्छ । त्यसो हो भने रुपको के कुरा ? शरीर  र आवरणको के कुरा ? 

मलाई त यसै आनन्द छ । न ज्यान घटाउन कुनै कसरतगर्नुपर्छ, न त  डाइट नै । न त जिमखाना धाउनुपर्छ । जे मन लाग्यो खाउ, जता मन लाग्छ जाउ, दौड, उफ्र शरीर त्यसै त्यसै हावामा उड्न थाल्छ । दुब्लो हुन त भाग्य श्री लेखेर ल्याउनु पर्छ । नबुझ्नेलाई के थाहा । भैगो !