• शनिबार, ८ बैशाख, २०८१
  • ०४:००:१४

देवकोटा सङ्ग्रहालय परिसरमा वाङ्मय मूर्ति स्थापना गरिने

  • Netizen Nepal
  • शुक्रबार, ४ कार्तिक, २०७९- १७:५०:००/ Friday 10-21-22

नेटिजन संवाददाता
काठमाडौँ, ४ कात्तिक । नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय परिसरमा देवकोटा वाङ्मय मूर्ति स्थापना गर्ने भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा आयोजित व्यक्तित्व चर्चा तथा रचनावाचन कार्यक्रममा निमित्त कुलपति डा जगमान गुरुङले देवकोटाका अध्यात्म एवं भारत र चीनबीचको मैत्री सम्बन्ध झल्कने वाङ्मय मूर्ति स्थापना गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । मुनामदनलाई चिनियाँ एवं तिब्बती भाषामा उल्था गर्ने र भारतका साहित्यकार सङ्ग्रहालय परिसरमा ल्याएर अन्तररक्रिया गरिने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले सङ्ग्रहालयमा देवकोटाका बारेमा विभिन्न विश्वविद्यालयबाट भएका शोध प्रबन्ध ल्याएर राख्नुपर्ने बताउनुभयो । सङ्ग्रहालयलाई समृद्धशाली बनाउन सबैको सहयोग आवश्यक पर्ने उहाँको भनाइ थियो । पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले धोबीधारास्थित देवकोटा जन्मिएको घरलाई पनि सङ्ग्रहालय बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । पुरातत्व विभागको समन्वयमा देवकोटा सङ्ग्रहालय पहिलेकै घरको स्वरुपमा बनाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिष्ठानका पूर्वसदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले देवकोटालाई सूर्यविक्रम ज्ञवालीले पहिलोपटक महाकवि उपाधि दिनुभएको सुनाउनुभयो । प्राज्ञ प्राडा उषा ठाकुरले देवकोटाको भारतीय साहित्यकारसँगको सम्बन्धका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा निमित्त सदस्य सचिव प्राडा हेमनाथ पौडेल, प्राज्ञ प्राडा देवी नेपाल, महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, देवकोटाकी छोरी अम्बिकादेवी रिमाल, साहित्यकार रामेश्वर राउत मातृदास र गोविन्द गिरि प्रेरणालगायतले देवकोटाको व्यक्तित्व र कृतित्वका बारेमा जानकारी गराउनुभएको थियो । 

सो अवसरमा कवयित्री मञ्जिला, कवयित्री देवु लुइँटेल, कवि बलराम दाहाललगायतले देवकोटाका कविता वाचनसमेत गर्नुभएको थियो । विसं १९६६ कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन जन्मिएका देवकोटाको जन्मजयन्ती साताव्यापीरुपमा मनाउने क्रममा आज कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।