• शनिबार, १५ बैशाख, २०८१
  • ०९:३७:२८

सुदूरपश्चिममा भूकम्पको दुई सय पराकम्प 

  • Netizen Nepal
  • बुधबार, २३ कार्तिक, २०७९- १३:५९:००/ Wednesday 11-09-22

नेटिजन संवाददाता

काठमाडौँ, २३ कात्तिक। गएराति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प गइसकेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले आज दिउँसो १ बजेसम्म दुई सय पराकम्प गइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार गएराति त्यसअघि राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा  ४ दशमलव १  र  आज बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।  उहाँले भन्नुभयोे, “लगातार तीनपटक एकै स्थानमा केन्द्रविन्दु बनाएर तीन ठूला भूकम्प गएका छन् । तीबाहेक चार रेक्टर स्केलभन्दा मुनिका दुई सय पराकम्प गइसकेका छन् ।”

भूकम्पछि पराकम्पनहरु आइरहेकाले  सतर्क रहन भूकम्प मापन केन्द्रले सबैमा आग्रह गरेको छ । भूकम्पका कारण डोटीको पूर्वीचौकीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ ।  उक्त भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको थियो । भूकम्पका कारण बैतडीमा पनि केही घरहरुमा क्षति पुगेको छ । भूकम्पका कारण पाटन नगरपालिकाको कृषि शाखा भवन चर्किएको नगरपालिका कृषि शाखाप्रमुख महेश अवस्थीले जानकारी दिनुभयो ।

यस्तै भूकम्पका कारण दशरथचन्द नगरपालिका–१ का विभिन्न स्थानमा घरहरुमा चिरा परेका स्थानीय महेश भट्टले बताउनुभयो । साथै पाटन नगरपालिकामा रहेको ज्ञानेश्वर माविको भवन पनि चर्किएको विद्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले भने भूकम्पका कारण क्षति भएको विवरण नआएको जनाएको छ । जिल्लाका सबै प्रहरी युनिटहरुलाई बुझ्दा हालसम्म क्षतिबारे कुनै जानकारी नआएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । उहाँले  भन्नुभयो, “प्रहरी युनिटहरुलाई बुझ्दा क्षतिबारे कुनै जानकारी आएको छैन । स्थानीय जनप्रतिनिधिहरुलाई बुझ्दैछौँ ।”