• शनिबार, १२ श्रावण, २०८१
  • ०२:३०:४०

राष्ट्रिय दलले के के सुविधा पाउँछन् ?

  • Netizen Nepal
  • मंगलबार, १३ मङ्सिर, २०७९- १०:३८:००/ Tuesday 11-29-22

नेटिजन संवाददाता 
काठमाडौँ, १३ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस ५३, एमाले ४३, माओवादी १७ रएकिकृत समाजवादी १० र स्वतन्त्र पाटी, जसपा र राप्रपा ७/७, स्वतन्त्र ५, लोसपा ४ र नागरिक उन्मुक्ति पार्टी ३ क्षेत्रमा बिजयी भएका छन् । निर्वाचन आयोगका अनुसार १५६ स्थानको मतगणना सार्वजनिक भइसकेको छ। बाँकी रहेका केहि स्थानमा मतगणना कार्य जारि छ, स्थगित भएका केहि स्थानमा मतदान हुँदैछ । र केहि क्षेत्रको भने अनुसन्धान भइरहेको आयोगको भनाइ छ । 

यस्तै समानुपातिकतर्फ नेकपा एमाले २५ लाख ८४ हजार १९२ मत ल्याएर पहिलो स्थान कायम गरेको छ । त्यसपश्चात नेपाली कांग्रेसले २४ लाख ५२ हजार ८३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ११ लाख ६४७, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ५१ हजार १०७, जनता समाजवादी पार्टीले ३ लाख ५७ हजार ४६४ मत पाएका छन् । यसैगरी जनमत पार्टीले २ लाख ९९ हजार ७८३, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले २ लाख ६४ हजार ४७२, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार २९१, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १ लाख ३७ हजार ७१६ मत ल्याएका छन्। 

राजनीतिक दल सम्बन्धी ऐन अनुसार प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिक तर्फ दलहरूले प्राप्त गरेको कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्छ । “प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्नेछ,” ऐनमा भनिएको छ ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा जम्मा पाँच वटा दलले मात्रै समानुपातिक तर्फ तीन प्रतिशत भन्दा बढी मत ल्याएका थिए । तर ती पाँच वटा दलका विभाजन र एकताका कारण पछि चुनावसम्म आइपुग्दा छ वटा भए । यसपालीको चुनावमा जनमत पार्टी राष्ट्रिय पार्टी बन्नका लागि थ्रेसहोल्ड पार गर्ने चरणमा पुगेको छ भने एकिकृत समाजवादीलाई हम्मेहम्मे पर्ने आँकलन गर्न थालिएको छ । 

राष्ट्रिय दलले के के सुविधा पाउँछन् ?

राष्ट्रिय दलको मान्यता पाएका पार्टीले संसद्मा एउटा संसदीय दलको कार्यालय सहित सांसदको सङ्ख्या अनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन् । राष्ट्रिय दलको मान्यता हुँदा उपलब्ध हुने सुविधा भन्दा पनि यसको राजनीतिक महत्त्व बढी छ । संसद् सचिवालयले यस्तो मान्यता पाएका दलहरूलाई संसदीय दलको सुविधा उपलब्ध गराउँछ । 

हरेक राष्ट्रिय दलको संसदीय दलका प्रमुख सचेतकले पनि संसद् सचिवालयबाट गाडी सहित सचिवालय र कर्मचारी सुविधा पाउँछन् । त्यस्तै राष्ट्रिय दलले हरेक निर्वाचनमा आफ्नो चुनाव चिन्ह कायम राख्ने सुविधा पाउँछन् । तर राष्ट्रिय दलको मान्यता असफल भएका पार्टीहरूले हरेक निर्वाचनमा त्यही चुनाव चिन्ह पाउँछन् भन्ने निश्चित हुँदैन । यद्यपि निर्वाचन आयोगले उनीहरूले रोजेको चुनाव चिन्ह प्रदान गर्दै आएको छ । त्यसबाहेक राष्ट्रिय मान्यता प्राप्त दलले पाएको मत अनुसार मतपत्रमा चुनाव चिन्ह पनि सबैभन्दा अगाडिबाट क्रमशः राखिन्छ । 

निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मध्ये ६१ प्रतिशत मतदानमा सहभागी हुँदा देशभरबाट एक करोड ९ लाख ७० हजार बढी मतदान भएको देखिन्छ ।